• २०८१ बैशाख ७ शुक्रबार

देउवा सरकार कर्मचारीको कठपुतली : बिजुक्छें

kharibot

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएता पनि सिंहदरबारको अधिकार गाँउ गाउँसम्म भन्ने नारामात्र सीमित हुनु र कर्मचारीले सरकार चलाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि मेयर उपमेयरको तलबसम्म तोक्न नसक्नुका साथै सरकारले जिल्लातहमा पूर्ण अधिकार दिन नसकेको बताए । जनप्रतिनिधि भन्दा गाउँपालिका र कार्यपालिकामा कर्मचारीकै हावी हुनेले समेत थप प्रष्ट्याएको उनले बताए ।  

भारतकै इसारामा बनेको वामगठबन्धनका बारे भारतलाई जानकारी नभएको भन्ने विषय हास्यास्पद भएको भन्दै बिजुक्छेंले भने, ‘प्रचण्ड र बाबुरामलाई थाहा भएको विषय भारतलाई थाहा छैन भन्नु हास्यास्पद कुरा हो ।’ उनले भारतमै हुर्किएका बाबुराम र प्रचण्डलाई थाहा भएको विषय भारतलाई स्वतः थाहा हुने समेत दाबी गरे ।
आफूले विगतदेखि उठाउँदै आएको विषय भारतले नेपालको समृद्धि हेर्न नचाहेको र विस्तारै नेपालमा देखिएको राजनीतिक समीकरण र ध्रुवीकरणले प्रष्ट्याउँदै लगेको समेत टिप्पणी गरे ।

नेपालको कूटनीतिक पक्ष कमजोर हुनुमा नेपालकै सत्तासीन दलहरुले भागबण्डामा राजदूत नियुक्ति गर्नुका साथै बोल्नै नजान्ने र बिहानैदेखि मदिरामा मात्तिनुका साथै कूटनीतिक मर्यादाको समेत जानकारी नभएका राजदूत नियुक्ति गरिनुले नेपालको कूटनीतिक पक्ष कमजोर रहेको भन्दै राजदूतलाई दोष दिनुुभन्दा पनि तिनलाई नियुक्ति गर्ने दलहरु दोषी रहेको बताए ।

जुनसुकै दलबीच तालमेल र एकता भएपनि नेपाल मजदुर किसान पार्टी कुनै दलसँग पनि तालमेल र एकता नगर्ने बताउँदै उहाँले आगामी दुबै तहका निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा गर्नुभएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै