• २०८१ बैशाख ७ शुक्रबार

रोहिङ्गा शरणार्थीको डुंगा दुर्घटना : १० बालबालिकासहित १२ को शव भेटियो

kharibot

फाइल तस्बिर

ढाका ।  म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । 

यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् । 

उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ । सो क्रममा सोमबार मात्र पनि कम्तीमा १२ जना रोहिङ्गाको ज्यान गएको छ । सोही नदी तरेर पार गर्ने क्रममा नै उनीहरु मारिएका हुनसक्ने अनुमान गरिएको छ । 

आइतबार राति उक्त नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ । 

बंगलादेशको प्रहरीले यहाँको कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित एक महिला र अर्का एक पुरुष गरी १२ जनाको शव भेटिएको जनाएको छ । 

सो नदी किनारमा गएको महिनादिन भन्दा लामो समयदेखि करिब पाँच लाख म्यान्माली शरणार्थीको शिवीर रहेको छ । उनीहरु अत्यन्तै अव्यवस्थित रुपमा यहाँ बस्ने गरेका छन् । 

सोही शिवीरका शरणार्थी डुंगा चढेर अन्यत्र जाने क्रममा दुर्घटनामा परेका हुन् वा त्यहाँ आइरहेका बेला उनीहरु परेका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ । 

गएको अगष्ट २५ देखि रोहिङ्गाको बाहुल्यता रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन् । त्यस समयदेखि आजसम्ममा ती समुदायका १०० जनाभन्दा बढीको ज्यान गएको अधिकारीले जनाएका छन् । 

यसरी भागेर नदी तर्ने क्रममा कतिपय सो नदीले बगाएकोले शव भेटिएको छैन । उनीहरुले आआफ्नो घर बस्तीमा आगो लगाएर सेनाले लखेटेको बताएका छन् । तर म्यान्माली सरकार यो स्वीकार गर्दैन । 

उनीहरु आन्तरिक रुपमा विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधोपचारसमेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था देशभित्र तथा बंगलादेशमा समेत दयनीय रहेको समाचार आइरहेका छन् । 

उनीहरुलाई बंगलादेशमा खान र बस्नका लागि आधारभूत आवश्यकताको अत्यन्तै कमी भएको भन्दै दाता समूह एवम् विश्व समुदायलाई बंगलादेशले आग्रह गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै