• २०८१ बैशाख ५ बुधबार

डेरा खोज्ने वहानामा चोरी गर्ने समुह सार्वजनिक

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा एक वर्ष देखि भइरहेका श्रृङखलाबद्ध चोरीका घटनामा संलग्न ७ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनीक गरेको छ । 

पक्राउ पर्नेमा जीतपुरसिमरा ७ का २६ वर्षिय ममताज खान, सिम्रौनगढ घर भई जीतपुरसिमरा ७ मा डेरा गरि बस्ने ३० वर्षिय नेजामुद्दिन अंसारी, जीतपुरसिमरा ७ कै १७ वर्षिय ओमप्रकाश शर्मा, सर्लाही बरहथवाका २४ वर्षिय रामजी महतो, चितवन खैरेनीका १७ वर्षिय रोशन श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका ३ का २७ वर्षिय दिलिप साह र २४ वर्षिय कन्हैया साह सोनार रहेका छन् । 

असोज ८ गते जीतपुरसिमरा उपमहानगरपालिका २ बस्ने सरिता सुव्वाको घरबाट चोरी भएको एकथान ल्यापटप र केहि गहना मध्य ल्यापटप जीतपुर स्थित ओमप्रकाश शर्माको जीतपुर स्थित कम्प्युटर पसलबाट बरामद भएको प्रहरीले जनाएको छ । चोरीको ल्यापटप बरामद भए पछि प्रहरीले ल्यापटप विक्री गर्ने निजामुद्दिन अंसारीलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो । 

अंसारी कै बयानका आधारमा प्रहरीले ममताज खान, रामजी महतो, रोशन श्रेष्ठलाई पक्राउ गरि ममताज खानको घर खानतलासी गर्दा चोरीका गहनाहरु समेत बरामद भएको प्रहरीले जनाएको छ । 

गत वर्षको असोज २५ गते जीतपुरसिमरा १ का राजन केसीको घरबाट चोरी भएको धनमाल मध्य सुनको रिङ समेत उनीहरुको घरबाट बरामद भएको प्रहरीले जानकारी दिएको छ । 
ईलाका प्रहरी कार्यालय सिमरा र मातहतका प्रहरी निकायको शुक्ष्म अनुसन्धानबाट चोरी गर्ने समूहको पहिचान गरि उनिहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक गोविन्द कार्कीले जानकारी दिए । 

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको र सिमरामा भएका अन्य चोरीका घटनाको पनि अनुसन्धान भइरहेको प्रहरी नीरिक्षक कार्कीले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमूख प्रहरी उपरिक्षक राजकुमार बैदवारको विशेष उपस्थितीमा सम्पन्न पत्रकार सम्मेलनमा प्रहरी एक वर्षको अवधिमा सिमरामा ५ वटा ठुला चोरीका घटना भएको र सबै घटना एकै किसीमका रहेको उल्लेख गरेको छ । 

कोठा खोज्ने बहानामा चोरीको योजना

पक्राउ परेका चोरहरुको समूहले कोठा खोज्ने वहानामा घरघर डुल्दै हिंड्ने र चोरीको योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका रमजी महतो र उनकी श्रीमती गुलावो महतो दुईजना कोठा खोज्ने वहानामा घरघर डुल्ने र ताल्चा लगाएको देखेमा चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनीहरुले चोरी गरेका सुनचाँदीका गरगहना परवानीपुर स्थित आर.के. सुनचाँदी पसलमा विक्री गर्ने गरेको समेत प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै