• २०८१ बैशाख ६ बिहीबार

 नारायणगढ–मुग्लिन सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे

kharibot

चितवन ।  नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् । 

उक्त स्थानमा पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तर्गत पहिलो किस्ताको मुआब्जा वितरणको प्रक्रिया थालिएको हो । 

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणको मुआब्जा वितरणको काम अन्तिमचरणमा पुगेको छ । उनीहरुलाई दुई किस्तामा गरी मुआब्जा वितरण गरिँदै छ । पहिलो किस्ता मूल्यांकनको ३३ प्रतिशत र दोस्रो किस्तामा ६६ प्रतिशत रकम वितरण गर्ने योजना रहेको छ । 

अहिलेसम्म ४५ घरमध्ये ३७ घरपरिवारले मुआब्जाबापतको रकम लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म रु ३७ लाख ७३ हजार २५ वितरण गरिसकिएको छ । पहिलो चरणको मुआब्जा वितरणका लागि बाँकी रहेका – ८ घरको रु १० लाख ३२ हजार ८४२ पनि तिहार अघि नै वितरण गरिने उहाँले जानकारी दिए । 

मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिका संयोजक समेत रहनुभएका शर्माले पहिलो चरणको ३३ प्रतिशत रकम बुझिसकेपछि बाँकी रकम भुक्तानी लिन आउँदा सडक छेउमा रहेको घर टहरा उठाइसकेको प्रमाण लिएर आउनुपर्ने बताउनुभयो । उहाँका अनुसार ती घरपरिवारलाई समितिले रु एक करोड ४४ लाख १४ हजार ६०६ मुआब्जा निर्धारण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसल लगायतको मुआब्जा १ करोड ४४ लाख १४ हजार ६ सय ६ रुपैयाँ निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भईरहेकाले अहिले भएको संरचना भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआव्जा निर्धारण उपसमितिका संयोजक शर्माले बताए । 

यसका अतिरिक्त विस्थापन भत्ता प्रतिघर रु २० हजार, अर्को घर नवन्दा सम्मका लागि भाडा रकम रु १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि रु १० हजार र दलित जनजाति भएमा थप रु १० हजार समेत दिईने व्यवस्था छ । त्यसका लागि मात्र रु २० लाख ८० हजार रुपैयाँ बितरण गरिर्दै छ । 

सडक बिस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा सडक चौडा बनाउँदा उनीहरुलाई स्थानान्तरण गर्नु परेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै