• २०८१ बैशाख ७ शुक्रबार

चाडपर्वको समयमा फरक रणनीतिका साथ निकुञ्ज सुरक्षा

kharibot

चितवन ।  चाडपर्वको समयमा मानिसको ध्यान रमाइलो गर्ने तर्फ भइरहेको बेला चोरी तस्करको ध्यान निकुञ्जमा हुनसक्ने भन्दै फरक रणनीतिका साथ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षामा कडाइ गरिएको छ । 

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका बटुक दल गण र निकुञ्ज कार्यालयका कर्मचारीले निकुञ्जको कडाइका साथ सुरक्षा गरिरहेका छन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार पूरै निकुञ्जको अवस्था थाहा हुने गरी स्वीप अप्रेसन सम्पन्न गरिएको छ । दशैँ अगाडि निकुञ्जमा रहेको नेपाली सेनाको ४५ वटा पोष्ट र निकुञ्ज कार्यालयको १३६ वटा पोष्टका सेना र कर्मचारीले निकुञ्जमा स्वीप अप्रेसन गरेका हुन् । 

चुरे अप्रेसन नाम दिएर अप्रेसन गरिएको कँडेलले बताउनुभयो । निकुञ्जको कसरा, जर्नेली, कछुवानी, सौराहा, खगेन्द्रमल्ली, अम्रिते, सुनाचुरी, वनकट्टा, बोटे सिमरा, बगई र इच्छानगरलगायतका पोष्टबाट निकुञ्जलाई घेरा हाली चुरे अप्रेसन गरिएको हो । 

सो क्रममा खाना पकाउने चुल्हो, मानिस हिँड्ने बाटो, खानेकुरा फाले नफालेको, सडेगलेका खानेकुरा, जडीबुटी उखेले नउखेलेको, जनावर मरेकाजस्ता कुराको सूक्ष्म अध्ययन गरिएको छ । अप्रेसनको क्रममा पूरै निकुञ्ज क्षेत्रमा अवैधरुपमा मानिसको प्रवेश नभएको पाइएको छ । चार दिन लगाएर पूरै निकुञ्ज अप्रेसन गरिएको थियो । 

सोपश्चात् पनि नियमित गस्तीबाहेक सौराहा क्षेत्रबाट छुट्टै एक समूहले निकुञ्ज गस्ती गरिरहेको छ । मंसिर दोस्रो साताबाट निकुञ्ज सुरक्षाका लागि प्रत्येक वर्ष हिउँदको समयमा गरिँदै आएको अप्रेसन महाहन्ट पनि गरिँदैछ । निकुञ्जमा दैनिक १५१ वटा साइकल, नौवटा गाडी, १६ मोटरसाइकल, चारवटा कुकुर, १७ वटा पोष्टबाट हात्तीले नियमित गस्ती गर्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै