• २०८१ बैशाख ७ शुक्रबार

बाजुरा काँग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस, को को परे ?

kharibot

बाजुरा । नेपाली काँग्रेस बाजुराले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । 

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी सभापति कविराज पण्डितले बताएका छन् । 

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कविराज पण्डित, देवराज जोशी, बद्रीप्रसाद पाण्डे र रामसिंह रावलको नाम छ । यीमध्ये बद्रीप्रसाद पाण्डे अहिले पनि व्यवस्थापिका–संसद् सदस्य र कविराज पण्डित जिल्ला पार्टी सभापति हुनुहुन्छ । त्यस्तै, देवराज जोशी पूर्व सांसद हुनुहुन्छ भने रामसिंह रावल त्रिवेणी नगरपालिकाका नगर प्रमुख छन् । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ जुनाकुमारी दानी, निर्मलाकुमारी रावल, विद्यादेवी तिमिल्सेना, महा सनाई (नेपाली) र होमनाथ जोशीको नाम सिफारिस भएको छ । तीमध्ये दानी महिलासंघ केन्द्रीय सदस्य, महा सनाई नेपाली, पूर्व समानुपातिक सांसद र होमनाथ जोशी जिल्ला हुलाक कार्यालय बाजुराका पूर्वप्रमुख हुन् । 

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट जनकराज गिरीको मात्र नाम सिफारिस गरिएको छ । प्रदेशसभाको निर्वाचन क्षेत्रमा भने गिरी एक्लो उम्मेदवार बनेका हुन् । निर्वाचन क्षेत्र नम्वर १ मा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको छ । 

तीमध्ये अरुणकुमार शाही, ऐनबहादुर मल्ल, नरवीर कामी, निर्मलाकुमारी रावल, विद्या तिमिल्सेना, मनमती बूढा, रीता सिंह, साइमल लुहार, सुभद्रा भण्डारी (पाण्डे) र शिव बोहरा रहेको पार्टी प्रवक्ता नरबहादुर शाहीले जानकारी दिएका छन् । 

यसैगरी, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा ६ जनाको नाम रहेको छ जसमध्ये चक्रबहादुर शाह, जुनाकुमारी दानी, पदमबहादुर शाही, मनबहादुर रावल, मीनबहादुर धामी र रङबहादुर खातीको नाम सिफारिस गरिएको प्रवक्ता शाहीले बताउनुभयो । यसैगरी, प्रदेशतर्फ समानुपातिकमा १६ जनाको नाम केन्द्रमा पठाइएको छ । 

अमृताकुमारी सिंह, आनन्द मिजार, उमा रोकाया, ओमकार बोगटी भोटे, कौशल विक, खडक साउद, दिपादेवी बोहरा, धनराज पण्डित, पदमबहादुर नेपाली, पुने सार्की, वीरभाने विक, रनसिंहबहादुर अयडी, राधिकाकुमारी शाही (सिंह), सिर्जना ऐडी र शेरबहादुर खातीको नाम केन्द्रमा सिफारिस भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिफारिस भएका उम्मेदवारमध्ये जुनाकुमारी दानी, विद्यादेवी तिमिल्सेना र निर्मला रावलले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको पाइएको छ । दुवै ठाउँमा उम्मेदवारी दिन नपाइने भएपनि जबर्जस्ती उम्मेदवारी दिएको नेपाली काँग्रेसले जनाएको छ । 

यसैगरी, प्रतिनिधिसभामा पनि नगरपालिका प्रमुख बनेका रामसिंह रावलले पनि प्रत्यक्षको लागि उम्मेदवारी दिएको बताइएको छ । 

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा रहेका छन् । एमाले माओवादीबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरु आआफ्नै उम्मेदवारको नाम पठाउने तयारीमा रहेका छन् । 

दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल बाजुरामा फेरि बढ्दै गएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै