• २०८१ बैशाख ११ मंगलबार

प्रचण्ड र बाबुरामको मिलन कति सम्भव : एजेन्डा त मिल्यो, पार्टी मिल्ला त ?

kharibot

फाइल तस्विर

काठमाडौँ, तीन चरणमध्ये दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचन माओवादी केन्द्रका लागि भने भाइ फुटे गवार लुटे साबित भयो । पहिलो चरणको निर्वाचनमा गोरखा जिल्लालाई हेर्ने हो भने त माओवादी केन्द्र र नयाँ शक्तिबीचको लडाइँमा कांग्रेसले पूरा जिल्ला नै कब्जा गर्यो । कुनै समय माओवादीको गढ भनेर चिनिने गोरखा जिल्लामा आपसी लडाइले पत्तासाफ भएपछि माओवादी केन्द्र र नयाँ शक्ति दुवैलाई अवश्य चिसो पसेको हुनुपर्दछ ।

अहिले परिस्थिति फरक रहेको छ । हालै सम्पन्न माओवादी केन्द्रको विस्तारित केन्द्रीय सचिवालय बैठकले आफ्नो पुरानै एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा फर्किने निर्णय मात्र गरेन, आहिले सोही एजेन्डा लिएर हिँडेका डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्किन आह्वान पनि गरेको छ । स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा पाँच सयभन्दा कम मतअन्तरले ८८ स्थानमा पराजित भएपछि माओवादी केन्द्रले एकताका लागि पुनः अपिल गरेको हो । फुट्दा कमजोर भएको महसुस प्रचण्डले मात्र होइन, बाबुराम भट्टराईले पनि गरेका छन् ।

देशमा वैकल्पिक राजनीतिक शक्ति हुन नयाँ पार्टी खोलेका डा. बाबुराम भट्टराईको नयाँ शक्तिले वैकल्पिक पार्टीको विकल्प दिन असफल भएपछि पार्टीलाई अन्य पार्टीसँग एकीकरण गरेर अगाडि बढ्ने रणनीति बनाएका हुन् । त्यसैले उनले अहिले उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग पार्टी एकीकरणको प्रयास गरिरहेको हल्ला चलेको छ तर सफल भने हुनसकेको छैन ।

त्यस्तै, अहिले जारी नयाँ शक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो विचार मिल्नेसँग एकीकरण गर्नुपर्दछ भन्दै डा. भट्टराईलाई माओवादी केन्द्रसँग मिल्नुपर्ने सुझाव आएको छ । माओवादी केन्द्रको आह्वान र बाबुरामको पार्टीमा सकारात्मक चर्चा हुनु संयोग मात्र हो कि यसमा केही सत्यता र तथ्य पनि छ, त्यो त आगामी दिनले बताउला तर अहिलेको परिस्थितिमा नयाँ शक्ति उपेन्द्र यादवसँग भन्दा प्रचण्डसँग मिल्नु बढी प्राकृतिक हुने देखिन्छ ।

किन हुनुपर्छ प्रचण्ड र डा.भट्टराई एक ठाउँ ?

देशको लागि ठीक थियो या थिएन, त्यो अर्कै बहसको विषय हो तर सँगै जनयुद्ध लडेर देशमा राजा फालेर संघीय गणतन्त्र घोषणा गर्न प्रचण्ड र डा.भट्टराईको युगलबन्दीको ठूलो योगदान रहेको छ । जसले जसरी व्याख्या गरे पनि यी दुवै एक ठाउँमा हुँदा देखिने जनमत धेरै नराम्रो हुँदा पनि अहिलेको माओवादी केन्द्रभन्दा अवश्य राम्रो र सम्मानजनक हुन्छ नै ।

अहिले माओवादी केन्द्र आफ्नो पुरानो एजेन्डा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’मा फर्किएर डा. भट्टराईलाई फेरि पुरानो पार्टीमा आउने माहोल भने बनाइदिएको छ । हाल नयाँ शक्तिले पनि ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’ नै हुनुपर्छ भन्ने मुद्दालाई प्रमुख रुपमा उठाउँदै आएको छ । अब दुवै पार्टीको मूल एजेन्डामा एक तहमा मेल खाएको छ । अन्य संयोगहरुलाई विश्लेषण गर्ने हो भने उपेन्द्र यादवसँगको एकता प्रक्रिया हाललाई स्थगित हुनु, माओवादी केन्द्रले एकताको आह्वान गर्नु र नयाँ शक्तिको केन्द्रीय समितिमा विचार मिल्ने पार्टीसँग मात्र एकता गर्नुपर्छ भन्ने माग उठ्नु डा. भट्टराई र प्रचण्ड फेरि एक ठाउँ हुनसक्ने पछिल्ला आधारहरु हुन् ।

अर्को कुरा निर्वाचनमा पाएको पराजय र यही स्थिति कायम रहेमा प्रदेश र केन्द्रको निर्वाचनमा पनि हारको मुख हेर्नुपर्ने निश्चित भएको अनुमान दुवै नेताहरुलाई आवश्य छ । त्यसैले पनि निर्वाचन अघि एकठाउँमा हुनसके स्थानीय तह निर्वाचनमा गुमेको साखलाई फर्काउन केही हदसम्म मद्दत मिल्ने विश्लेषण गर्न सकिन्छ ।

अर्को कारण भनेको जनयुद्धका घाउहरु अहिले पनि ओभाएका छैनन् । अहिले पनि सयौ कार्यकर्ता घरबारविहीनको अवस्थामा छन् भने कैयौँ रोजगार नभएर विदेशिएका छन् । डा. भट्टराईलाई माओवादी छोड्नासाथ उठेको सबैभन्दा ठूलो प्रश्न हो जनयुद्धले उठाएका प्रश्नहरुबाट तपाईं भागेको हो ? सायद, उनी यो प्रश्नको जवाफ दिँदा थाकिसकेका छन् । उनले आफू नभाग्ने भने पनि आम जनताले भागेको बुझेका छन् । सो प्रश्नको अन्त्यका लागि पनि डा. भट्टराईले माओवादी केन्द्रसँग एकता गर्नु सही बाटो हुन जान्छ ।

अर्को कारण माओवादी केन्द्रभन्दा नयाँ शक्तिलाई आफ्ना कार्यकर्ता बचाउने चुनौती अहिले देखिएको छ । कथंकदाचित् डा.भट्टराई र उपेन्द्र यादवबीच एकता भएमा माओवादी जेनरका कार्यकर्ता माओवादी केन्द्रमा फर्किने सम्भावना बढी छ, जसले नयाँ पार्टीमा डा.भट्टराईलाई झन् कमजोर बनाउनेछ । अर्कोतिर उपेन्द्र यादवको दल र उनको अतीत पनि राष्ट्रिय पार्टी बन्ने हैसियतको देखिँदैन । विगतमा गरेको सत्ता लिप्सा र स्वार्थको राजनीतिले उपेन्द्र यादवलाई पनि कमजोर बनाएको छ, जुन पहिलो र दोस्रो चरणको निर्वाचनले पनि देखाएको छ ।

समग्रमा भन्नुपर्दा अहिले प्रचण्ड र डा. भट्टराई एक अर्काका आवश्यकता बनेका छन् । उनीहरु एक भएमा माओवादीहरुको अस्तित्व बच्ने देखिन्छ अन्यथा कि एमालेको राष्ट्रवादी धारले उनीहरुलाई खाइदिनेछ, कि त कांग्रेसको परम्परावादी राजनीति नै उनीहरुको पतनको बाटो बन्ने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै