वाशिंगटन । रसियाले आफ्नो देशमा फेसबुकलाई प्रतिबन्ध लगाउन सक्ने बताएको छ । फेसबुकले स्थानीय डाटा स्टोरेज कानुनलाई नमानेमा सन् २०१८ देखि रसियामा फेसबुकमा प्रतिबन्ध लाग्न सक्ने भएको छ ।
रसियाका संचार नियमक निकायका प्रमुख एलेक्जेन्डर झरोभलाई उदृत गर्दै रसियन सरकारी समाचार एजेन्सीका अनुसार झरोभले नियम सबैले अनिवार्य पालन गर्नु पर्ने बताएको उल्लेख गरिएको छ ।
झरोभले यदि नियम पालन नगर्ने हो भने कसैलाई पनि रसियामा प्रतिबन्ध लागाइने बताएका छन् ।
रसियाले सन २०१५ को सेप्टेम्बरदेखि पर्सनल डाटा स्टोरेज कानुन लागु गरेको छ, जस अनुसार रसियाका हरेको व्यक्तिको व्यक्तिगत सूचना रसियाकै भूमिमा स्टोरेज हुनुपर्ने व्यवस्था रहेको छ ।
झरोभले आफुहरुले अहिलेसम्म फेसबुकलाई समपर्क नगरेको भएपनि फेसबुकले यो नियम अनिवार्य रुपमा मान्नुपर्ने बताएका छन् । उनले सन् २०१८ मा आफुहरुले यस विषयमा निर्णय लिने बताएका छन् ।
अर्को चर्चित सामाजिक सञ्जाल ट्वीटरले भने पत्र पठाउदै सन् २०१८ मा सो नियम अनुसार डाटा सेन्टर बनाउने उल्लेख गरेको बताइएको छ ।
सो कानुन अनुसार रसियामा लिंक्डइन् भने प्रतिबन्ध गरिएको छ ।
रसिया र फेसबुक पछिल्लो अमेरिकी निर्वाचनदेखि विवादमा रहेका छन् । अमेरिकी निर्वाचनमा रसियाको भूमिकालाई लिएर चर्चित सामाजिक सञ्जाल फेसबुकलाई जोडेर हेरिएको छ यो प्रकरण अमेरिकामा अहिले पनि विवादमै रहेको छ ।