• २०८१ बैशाख १४ शुक्रबार

कास्की र चितवनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चहल पहल सुरु 

kharibot

काठमाडौँ । स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ । 

जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनोट गरेर जिल्ला समितिमा पठाउन क्षेत्रीय समितिलाई निर्देशन दिइसकेका छन् । 

उम्मेदवार बन्न इच्छुक दलका नेता पनि टिकट पाउनका लागि दौडधूप शुरु गरेको देखिन्छ । चियापसल, गाउँ नगरका चोक, चौतारा र भेटघाटमा निर्वाचनकै परिचर्चा शुरु हुन थालेको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कुन दलको उम्मेदवारलाई जिताउन त्यस क्षेत्रको विकास हुन्छ भनेर मतदाताले पनि एक–आपसमा छलफल शुरु गर्न थालेका छन् । 
चार निर्वाचन क्षेत्र रहेको कास्की जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाको ३ र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र कायम गरेका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले पनि मतदाता शिक्षाको तैयारीमा जुटेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा कायम गरिएका मतदान स्थल र केन्द्रको पुनरावलोकनका लागि स्थानीय प्रशासनसँग छलफलसमेत भएको बताइएको छ । कास्कीमा आगामी मसिर २१ गते दुबै तहको निर्वाचन हुँदैछ ।

आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको चहलपहल चितवन जिल्लामा पनि शुरु भएको छ । 

स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्लासम्मका नेता कार्यकर्ता आ–आफ्नो पक्षमा परिणाम पार्ने पक्षमा जुटेका छन् । 
त्यसो त आफ्नो नाम उम्मेदवारमा सिफारिसका लागि दौडधूप पनि शुरु भएको छ । 

नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशील कोइराला निर्वाचित भएको तत्कालीन–४ नम्बर र हालको–३ नम्बर क्षेत्रमा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा उठ्ने जनाएपछि यहाँ चुनावी चर्चा अरु थपिएको छ । 

निर्वाचनमा कुन-कुन दल कसरी मिलेर अगाडि बढ्छन्, अन्यौल रहे पनि आ–आफ्नो पार्टीभित्र आन्तरिक प्रचार भने शुरु गरेका छन् । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार असोज १० गतेभित्र गाउँ र नगरले उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिएको छ । 

असोज १३ गते क्षेत्रले जिल्लालाई सिफारिस गर्दैछ भने असोज १७ गते जिल्लाले केन्द्रलाई सिफारिस गर्दैछ । 

यससँगै आ–आफ्नो नाम सिफारिसमा पार्न जिल्लास्थित नेता दौडधूपमा रहेका छन् । गाउँ तहदेखि नै विभिन्न ढंगले चुनावी प्रचारलाई तीव्रता दिन थालिएको उनले बताए । 
स्थानीय तहमा नराम्रोगरी पराजय हासिल गरेको नेपाली काँग्रेस चितवनले संघ र प्रदेशको निर्वाचनमा गुमेको छवि फिर्ता ल्याउने गरी गृहकार्य गरिरहेको जनाएको छ । 

स्थानीय तहमा निकै राम्रो नतिजा ल्याउन सफल नेकपा एमाले संघ र प्रदेशको निर्वाचनमा अरु बढी उत्साहित बनेको छ । नेकपा (एमाले) चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलकाअनुसार उम्मेदवार सिफारिसका विषयमा केन्द्रको निर्देशन कुरिरहेको छ । यद्यपि वडा तहदेखि नगर हुँदै क्षेत्र र प्रदेशमा कार्यालय स्थापना गरेर प्रचार अभियान शुरु गरेको उनले बताए । 

निर्वाचन परिचालन कमिटी गठन गरी वडादेखि जिल्लासम्म पार्टीपंक्ति निर्वाचनमा केन्द्रीत भएको उनले बताए । निर्वाचनलाई ध्यानमा राख्दै पार्टी कार्यकर्तालाई प्रशिक्षण पनि शुरु गरिएको छ । 

माओवादी केन्द्र चितवनका पूर्व अध्यक्ष एवं पोलिटब्युरो सदस्य यमबहादुर परियार अभियानकै रुपमा निर्वाचन प्रचार शुरु नगरे पनि तयारी भने थालिएको बताउछन् । 
स्थानीय तहको निर्वाचनमा भरतपुर महानगर र माडी नगरपालिकामा प्रमुख पद जित्न सफल माओवादी केन्द्र काँग्रेस वा एमालेसँगै मिलेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा निर्वाचित गर्न चाहेको छ । 

त्यसो त प्रचण्ड आफैँले चितवनबाट निर्वाचनमा उठ्ने घोषणा यस अघि नै गरिसकेका छन् । पार्टीका एक नेताका अनुसार दशैँपछि मुख्यालय नै चितवनमा स्थापना गरेर प्रचण्ड आफै निर्वाचनमा जुट्ने तयारीमा छन् । 

राप्रपा (प्रजातान्त्रिक) ले पनि चुनावी प्रचारलाई भित्रीरुपमा शुरु गरेको छ । देशभरमा कम मात्रै निर्वाचित सांसद भएको राप्रपाको पहिलेको चितवन क्षेत्र नं–५ मा पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विजय हासिल गरेका थिए । 

सोही क्षेत्रलाई भरतपुर महानगरपालिकामा जोडेर अहिले क्षेत्र नं ३ बनाइएको छ । यो क्षेत्रबाट दाहालले निर्वाचन लड्ने जनाएपछि राप्रपा अन्यौलमा छ । 
यद्यपि क्षेत्र नं ३ बाट नै आफू निर्वाचन लड्ने वन तथा भू–संरक्षण मन्त्रीसमेत रहेका विक्रम पाण्डेले बताए । 

जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले असोज २५ गतेभित्र जिल्लाबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने बताए । अहिले गाउँ, नगर र क्षेत्रबाट सिफारिस हुने क्रम भइरहेको उनले बताए । 

केही दिनअघि पार्टीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री ध्रुवबहादुर प्रधानको उपस्थितिमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । 

चितवनलाई संघमा तीन र प्रदेशमा ६ क्षेत्रमा विभाजन गरिएको छ । यसअघि चितवन– ५ क्षेत्रमा विभाजित थियो । जिल्लाको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका क्षेत्र नं– १ मा पर्दछ । जसको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका वडा नं. ३,६, ७, ८, ९, १० र ११ क प्रदेशमा प्रदेशमा पर्दछ भने खैरहनीका बाँकी वडा र रत्ननगर नगरपालिका ‘ख’ प्रदेशमा प्रर्दछ । 

कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– वडा नं १ देखि ७ सम्म १०, ११, १२ र २९ वडा क्षेत्र नं. २ मा पर्दछन् । यस क्षेत्रको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको वडा नं १, ३ र २९ क प्रदेशमा पर्दछ भने भरतपुर महानगरपालिकाको २, ४, ५, ७, १०, ११, १२ ‘ख’ प्रदेशमा पर्दछ । 

क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगरपालिका प्रर्दछ । भरतपुर महानगरपालिका–६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ ‘क’ प्रदेशमा र भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगर पालिका ‘ख’ प्रदेशमा पर्दछन् । 

दोस्रोचरणको निर्वाचनमा परेको चितवनमा कात्तिक १६ गते मनोनयन दर्ता गरिँदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै