• २०८१ बैशाख ४ मंगलबार

विद्यार्थीले पढाइ र राजनीति सँगसँगै लैजानुपर्छ – यशु लामा, विद्यार्थी नेता

kharibot

विद्यार्थी नेता यशु लामा

यशु लामा पशुपति क्याम्पसबाट समाजशास्त्रमा डिग्री पास र कानुन तेस्रो वर्ष सकेर राजनीतिमा पनि उत्तिकै सक्रिय छिन् । लामा अनेरास्ववियू सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख समेत रहेकी छिन्  । विद्यार्थी राजनीतिमा सक्रिय रहेकी लामासँग खरीबोट डटकमका लागि कविता घिमिरेले गरेको कुराकानीको सम्पादित अंश  :

२०४४ सालमा काभ्रेको चौरी देउरालीमा आमा धावा डोल्मा र बाबु कृष्णध्वज लामाकी कान्छी छोरीको रुपमा जन्मिएकी हुन् यशु लामा । बाल्यावस्थामा दुई घण्टा टाढाको बाटो हिँडेर स्कुल जीवन बिताएकी उनले गाउँमा हुर्किने सामान्य बच्चाजस्तै आफ्नो बाल्यावस्था बिताइन् । सानोमा घाँस, दाउरा गर्दै, खेल्दै, उफ्रिँदैमा गाउँका केटाकेटीजस्तै उनको बाल्यावस्था बित्यो ।

उनी सानो छँदा  एकदमै चञ्चले स्वभावकी रहेको बताउँछिन् । त्यतिबेला उनलाई नाच्न खूबै आउँथ्यो रे ! उनी भन्छिन्, ‘सानो बेलाको त्यो नाच्ने बानी मलाई अझ सम्झना छ ।’ प्रायः सबै जनजीवनको प्रारम्भमा हुने बालसुलभहरु हुन् यशुले भोगेका पनि । जीवनयात्रा अगाडि बढ्ने क्रममा उनी कसरी राजनीतिमा लाग्नपुगिन्, त्यो भने निकै रोचक छ ।

राजनीतिक यात्रा

यशु सानै उमेरबाट राजनीतिक यात्रामा हिँडेको बताउँछिन् । उनका अनुसार ११ वर्षकै उमेरबाट राजनीति सुरु गरेकी थिइन् उनले । त्यतिबेला उनले बुझेको राजनीति र अहिले उनले भोगेको राजनीतिमा आकाशपाताल फरक रहेको स्वयं उनी स्वीकार्छिन् । खासमा उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिमय भएकाले यशुमा त्यसको प्रभाव परेको थियो । उनी भन्छिन्, ‘थाहा नै नभई एमालेको झण्डा उठाएँ, घरमा राजनीति  नगर् भन्ने अवस्था नै थिएन ।’ यशु एमालेसम्बद्ध राजनीति गर्छिन् । सानै उमेरमा चासो र रोचक लागे पनि आजकल भने यशुलाई राजनीति निकै गाह्रो र चुनौतीपूर्ण लाग्नथालेको छ । तर यसैबाट विश्व बुझ्न सकिने भएकाले उनी राजनीतिलाई समाजसेवाको एउटा महत्वपूर्ण पाटोका रुपमा लिन्छिन् ।

यशुले बुझेको राजनीति

सानो उमेरमा राजनीतिमा सम्बद्ध यशुले जीवनमा धेरै संघर्ष गरेकी छिन् । काठमाडौं बसाइका क्रममा उनले जीवन र राजनीति बुझेकी रहिछन् । पढाइ र राजनीति यशुका लागि त्यतिबेला आवश्यकता र रुचिको पाटो थियो भने त्यसलाई व्यवस्थित गर्न भने उनलाई निकै गाह्रो भएको थियो । आधुनिक युगमा पनि कतिपय मान्छेको चेतनाको स्तर कम भएको उनको बुझाइ छ । समाजमा सचेत भनेकै विद्यार्थी भएकोले उनलाई विद्यार्थी जीवनबाटै राजनीति गर्नुपर्छ भन्ने सोच पलायो । सचेत मान्छेले गर्ने राजनीतिले समाजलाई सही मार्गमा डोर्‍याउने उनको भनाइ छ ।

सोही कारण उनी राजनीतिलाई समाजसेवा गर्ने उत्कृष्ट माध्यमका रुपमा लिन्छिन् । समाजमा छिटो परिवर्तन गर्नसक्ने माध्यम भएकाले पनि राजनीति गर्नुपर्नेमा उनको जोड छ । राम्रो शासनसत्ता चलाउन शिक्षित वर्ग नै पुग्नुपर्ने उनलाई लाग्छ । सोही कारण उनी विद्यार्थीलाई पढाइ र राजनीति सँगै लैजान उत्प्रेरित गर्छिन् । लामाले पशुपति क्याम्पसबाट समाजशास्त्रमा डिग्री पास गरेकी छिन् भने कानुनमा तेस्रो वर्ष सकेकी उनी राजनीतिमा पनि उक्तिकै सक्रिय छिन् । उनी अनेरास्ववियु सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख समेत रहेकी छिन् ।

महिला किन पछाडि परे ?

लामा समाज पितृसत्तात्मक सोचले अगाडि बढिरहेको कारण नै महिला पछाडि पर्नुपरेको जिकीर गर्छिन् । उनी महिलाको सुरक्षाको निम्ति पुरुषलाई अगाडि सार्ने गरेको उदाहरण दिँदै भन्छिन्, ‘हरेक क्षेत्रमा महिलाहरुलाई विभेद गरिएको छ । जसले गर्दा महिलाहरु पछाडि परेका छन् ।’ त्यस्तै उनी पुरुषले गरेका ठूला कामसँग महिलाको कामको तुलना गर्ने हाम्रो समाजको मनोविज्ञानलाई पनि दोष दिन्छिन् । यसबाहेक पढेलेखेकै मान्छेको पनि महिलालाई गर्ने व्यवहार ठीक नभएको उनलाई लाग्छ । ‘श्रीमतीलाई सहयोग गर्दा पढेलेखेकै मान्छेले जोइटिङ्ग्रे भन्ने हाम्रो समाज हामीले चाहेजस्तो बन्न समय लाग्छ नि !’, उनी भन्छिन् ।  त्यस्तै पुरुषको स्वामित्वमा सम्पत्ति रहनु पनि महिला पछाडि पर्नुको एउटा कारण रहेको उनको ठम्याइ छ ।

‘पर्सनल लाइफ’का उतारचढाव

काठमाडौं बसाइका प्रारम्भका दिनहरु सम्झिँदा त्यो समय उनका लागि दुःखदायी रहेको उनी बताउँछिन् । योभन्दा नि ठूलो दुःख त गत वर्ष काभ्रेमा भएको बस दुर्घटनामा परेर बाँच्न सफल हुँदा यशुले आफूसँगै यात्रामा रहेकी दिदीको मृत्यु सहन बाध्य हुनुपर्यो । त्यसो त यशुसँग खुसीका पलहरु पनि छन् । पहिलो पटक हलमा गएर पहिलो फिल्म ‘पराई घर’ हेर्दा उनलाई औधी खुसी लागेको थियो । ‘घामपानी’ हेरेपछि भने उनलाई फिल्मप्रति रुचि जाग्न छोड्यो । आजकल उनी हल जानुको सट्टा युट्युबबाटै कलाकारको अन्तर्वार्ता सुन्छिन् । गीतसंगीत सुन्न र गाउन यशुलाई मन पर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै