• २०८१ बैशाख ८ शनिबार

लोडसेडिङ बढेपछि उपभोक्ताद्वारा प्राधिकरण घेराउ, प्रहरीसँग झडप

kharibot

रुपन्देही, विद्युत्भार कटौती अन्त्यको माग गर्दै आन्दोलनरत उपभोक्ता र प्रहरीबीच आज तिलोत्तमाको शंकरपुरमा झडप भएको छ । नेपाल विद्युत् प्राधिकरण नयाँमिल प्रशाखा कार्यालयमा घेराउ गर्न पुगेका उपभोक्ता र प्रहरीबीच झडप भएको हो ।

विद्युत प्रशाखामा तालाबन्दी गरेर सडक अवरुद्ध पार्ने क्रममा प्रहरीसँग आन्दोलनरत पक्षको झडप भएको थियो । झडपमा परी १३ जना प्रहरी र केही उपभोक्ता घाइते भएका छन् । घाइतेमध्ये एकजना प्रहरीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीले भिडलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ । आन्दोलनका क्रममा तीनवटा सवारी साधन तोडफोड भएका छन् । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

पटक–पटक बिजुली काटिएको विरोधमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । केही समययता तिलोत्तमा नगरपालिकामा भरौलिया सव–स्टेशनबाट वितरित विद्युत् नियमित छैन ।

सोमबार उपभोक्ताले भरौलिया सब स्टेशनबाट वितरण हुने लाइन बन्द गराएका थिए । विद्युत्भार कटौतीको नाममा नागरिकलाई सास्ती दिएको र पटक–पटक लाइन काटिएको भन्दै स्थानीय बासिन्दाले भरौलिया सब स्टेशन घेराउ समेत गरेका थिए ।

तिलोत्तमा नगरपालीकाका कान्छिबजार, सेमराबजार, कानपारालगायत स्थानका उपभोक्ताहरू आन्दोलनमा उत्रिएका हुन् । कहिले विद्युत्भार कटौती, कहिले सिष्टम बिग्रिएको नाममा अघोषित रुपमा पटक–पटक लाइन काटिएपछि नागरिक आक्रोसित बनेका हुन् । विद्युत्भार कटौतीको समय बाहेक अरु बेला दिइएको विद्युत् समेत लो भोल्टेज हुने गरेको उपभोक्ताहरू बताउँछन् ।

विद्युत् प्राधिकरण वितरण केन्द्र भैरहवाका प्रमुख मुनिन्द्र ठाकुरले समस्या समाधानका लागि आफूहरूको तर्फबाट सक्दो प्रयास भैरहेको बताउँदै हाल भैरहवा, भरौलिया, लुम्बिनी र अमुवा सव– स्टेशनबाट वितरित विद्युत्मा दैनिक ६ घण्टा विद्युत्भार कटौती भैरहेको जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै