• २०८१ बैशाख ११ मंगलबार

धुर्मुस सुन्तलीले रौतहटमा एकीकृत नमुना बस्ती निर्माण गर्ने

kharibot

रौतहट । रौतहटका बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण गर्ने भएको छ । राहत वितरणसँगैं बाढी पीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका धुर्मुस सुन्तलीले अन्तत तराईको रौतहटमा एकीकृत बस्ती निर्माण गर्ने पक्का भएको हो ।

बाढी पीडितहरुका लागि राहत वितरणमा सक्रिय भइरहँदा तराईको समस्यालाई नजिकबाट नियालेका धुर्मुस सुन्तलीले तराईमा रहेका बाढी पीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा केही समय अघि मात्रै गरेका थिए । स्थलगत अध्ययन र अवलोकन पश्चात फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गर्ने घोषणा गरेको छ । 

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्यामा मानिसहरु बसोवास गरिरहेका छन् । बस्तीमा माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ । वर्षौंदेखि गरिबीको चेपेटामा परेका उनीहरुको अवस्था बाढीका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बनेको छ । 

यस क्षेत्रका दलित समुदायको सामाजिक अवस्था पिछडिएको र आर्थिक अवस्था एकदमै दयनीय रहेको फाउण्डेशनले उल्लेख गरेको छ । बस्तीका अधिंकाश बालबालिकाहरुलाई स्कूल नपठाउने उनीहरु लगभग सबै जसो अशिक्षित र बेरोजगार छन् । त्यतिमात्रै होइन् बस्तीमा न कसैको बस्न योग्य घर छ न खाने टुङ्गो नैं । 

गरिबीको चपेटा, त्यसमाथि झनै बाढीले भएको घर पनि भत्किएपछि अहिले उनीहरु झनै ठूलो पीडाको स्थितीमा पुगेका छन् । फाउण्डेशनले त्यस क्षेत्रको अध्ययन र त्यहाँ बसोवास गर्ने मानिसहरुको अवस्थालाई देखेपछि बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

फाउण्डेशनले निर्माण गर्ने एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भूकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरी १ शौचालय, धारा र बगैंचा समेत निर्माण गर्नेछ । बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ । बस्ती भित्र ४५ वटा आवासीय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुनेछ । फाउण्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेले बताएअनुसार बस्ती अनुमानित ५ करोड ७५ लाखमा निर्माण हुनेछ ।

फाउण्डेशनले बाढी पीडितहरुका लागि निर्माण गर्ने यस बस्तीका लागि सहयोग गर्न सम्पूर्णमा आग्रह समेत गरेको छ । कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीले पनि बस्ती निर्माणका लागि अघिल्ला परियोजनाहरुमा जस्तै यसपटक पनि नेपालीहरुले साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । फाउण्डेशनले दिएको जानकारी अनुसार छिट्टै बस्ती शिल्यान्यास गरी निर्माण कार्य सुरु गरिनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै