• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

kharibot

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन् । 

जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस पार्टी मधेशी जनताको भावनाको कदर र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छ भने । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै काँगे्रसले जित्यो भने मात्रै मधेशको मुद्दाको सम्बोधन हुने दाबी गरे । 

मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उनले उल्लेख गरे र नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न काँगे्रसलाई अग्रस्थान दिलाउन आग्रह गरे । 

प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेशमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिए । 

जनकपुरको विकासका सन्दर्भमा भारतीय पक्ष जटही नाका खोल्न राजी भएको पनि उनले बताए  । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताए । महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मधेश र नेपाली काँगे्रस पर्याय भएकाले मधेशमा कांग्रेसलाई पहिलो दल बनाउन आवश्यक छ भन्नुभयो । 

पूर्व महामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्व राजासँग साँठगाँठ गरी सङ्घीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताए । 

नेपाली काँगे्रस धनुषाका सभापति रामसरोज यादवको अध्यक्षतामा भएको सो सभामा केन्द्रीय सदस्य बालकृष्ण खाँण, आनन्दप्रसाद ढुंगाना, प्रदीप गिरि, महेन्द्र यादव, रामकृष्ण यादव, सांसदहरू लीला कोइराला, चन्द्रमोहन यादव र प्रेमकिशोर साहले पनि सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै