काठमाडौँ । राष्ट्रिय बाल दिवस २०७४ का अवसरमा राष्ट्रपति कार्यालयले आज ‘राष्ट्रपतिसँग बालबालिका’ कार्यक्रम आयोजना गर्यो ।
उक्त कार्यक्रममा परोपकार माध्यमिक विद्यालय, शारदा मावि र समता स्कूललगायतका विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति कार्यालयको प्राङ्गणमा बालबालिकालाई खेल्ने व्यवस्थासमेत गरिएको थियो ।
सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक बालबालिकामा भोलिको देश देखिने हुँदा ती बालबालिकालाई आज असल शिक्षा दिन आवश्यक भएको बताउनु भयो ।
राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढाउँदै लैजानुपर्ने र प्रतिफल पनि त्यहीअनुसार आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनेकतामा एकता कायम गर्दै बालबालिकालाई अगाडि बढाउने एउटा कडीका रूपमा बाल दिवस मनाउँदै आएको पनि बताउनुभयो ।
बिहीबार ‘बालमैत्री शासन ः बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइँदै छ ।