सिंगाापुर । संसदकी पूर्व अध्यक्ष हलीमा याकूब सिंगापुरको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।
बुधबार निर्वाचन अधिकारीले एकमात्र योग्य उम्मेदवार भएकाले राष्ट्रपति पदमा याकूब निर्वाचित भएको बताएका छन् ।
निर्वाचन कार्यालयका अनुसार राष्ट्रपति पदका लागि अन्य चार जनाको उम्मेदवारी परे पनि दुई जना मलाया समुदायका थिएनन्, दुई जनाले योग्यताको प्रमाणपत्र नै बुझाएका थिएनन् ।
बहुसांस्कृतिक देशमा विशिष्टतालाई बलियो बनाउन सिंगापुरको संविधानमा व्यवस्था गरिए अनुसार यस पल्ट राष्ट्रपति मलाया समुदायको हुनुपर्ने व्यवस्था रहेको थियो । अल्पसंख्यक मलाया समुदायका लगि राष्ट्रपति पद आरक्षित रहेको थियो ।
हलीमाले निर्वाचन कार्यालयमा भनिन्, ‘यो एउटा आरक्षित पद हो । तर म आरक्षित राष्ट्रपति होइन । म देशका सबै नागरिकको राष्ट्रपति हुँ ।’
भारतीय मूलकी हलीमा याकुबको जन्म सन् १९५४ मा भएको थियो । उनि सिंगापुरको सत्तारुढ दल पिपल्स एक्सन पार्टीकी सदस्य हुन् । उनी १४ जनवरी २०१३ मा सिंगापुर संसदको अध्यक्षमा चुनिएकी थिइन् ।
-एजेन्सीहरुको सहयोगमा