• २०८१ बैशाख ६ बिहीबार

बन्ने भयो स्मार्ट सिटी, अवधारणा तयार गर्न दुई परामर्शदाता छनोट

kharibot

फाइल तस्बिर

काठमाडौँ । पछिल्लो समयमा निकै लोकप्रिय वाक्य बनेको स्मार्ट सिटी निर्माणका लागि यसको अवधारणा र आवश्यक पूर्वाधार के के हुने हुन् भन्ने विषयमा स्पष्ट खाका निर्धारण गर्नका लागि सरकारले दुईवटा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरेको छ ।

सहरी विकास मन्त्रालयले पहिलो चरणमा निर्माण गर्ने भनेका विभिन्न तीन स्थानमध्ये दुईवटा सहरको निर्माणका लागि स्मार्ट सिटी अवधारणा तय गर्न परामर्शदाता छनोट गरेको छ ।

मन्त्रालयका अनुसार हाल बाराको निजगढ र मकवानपुरको पालुङटारमा निर्माण हुने स्मार्ट सिटी विकासका लागि ‘स्मार्ट सिटी कन्सेप्ट’ तयार गर्नका लागि गत साउनमा परामर्शदाता छनोट गरेको हो । सरकारले पाइलट प्रोजेक्टका रुपमा निजगढ, पालुङटार, लुम्बीनिलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्य राखेको थियो ।

तर, स्मार्ट सिटीका अवधारणा र यस सिटी निर्माण गर्दा केके पूर्वाधारहरु निर्माण हुनुपर्ने हो ?लगायतका अन्य अत्यावश्यक विषयमा भने हालसम्म कुनै स्पष्ट खाका नेपालसँग छैन । सोही स्पष्ट खाका निर्माणका लागि स्मार्ट सिटी अवधारणा निर्माण गरी स्मार्ट सहर विकास गर्ने तयारी मन्त्रालयले गरेको हो ।

ती परामर्शदाताले १० महिनामा प्रपोजल पेश गर्ने नयाँ सहर आयोजवना समन्वय कार्यालयले जानकारी दिएको छ । आयोजनाका आयोजना प्रमुख पराग कायस्थले भदौ महिनामै प्रपोजल निर्माणका लागि परामर्शदातासँग सम्झौता हुने बताए । संघियता घोषणा भइसकेपछि सरकारले सातवटै प्रदेशमा स्मार्ट सिटी निर्माण गर्ने घोषणा गरिसकेको छ र पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनमा स्मार्ट सिटीले निकै महत्व पाएको थियो ।

तर, स्मार्ट सिटीका मान्यताहरु, अवधारणाहरु के हुने भन्ने विषयमा नै स्पष्ट निर्देशिका नहुँदै जनप्रतिनिधिहरुले घोषणा गरेका यी पूर्वाधार निर्माणका काममा अब भने केही सहजता हुने विश्वास गरिएको छ । स्मार्ट सिटीको स्पष्ट मापदण्ड नहुँदै घोषणा गरेपछि आम जनताहरुले भने यसलाई सहजै स्वीकार गरेको अवस्था भने छैन ।

यही अपूरो कामलाई पूर्णता दिएर स्मार्ट सिटीका स्पष्ट मापदण्ड बनेपछि यसको निर्माणको पूर्णता पाउने अपेक्षा गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै