प्रधानमन्त्री देउवाको इतिहासकै जम्बो मन्त्रीमण्डल, अहिलेसम्मका सात ठूला मन्त्रिपरिषद् यस्ता छन्  

खरीबोट

प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमन्डल इतिहासकै जम्बो मन्त्रीमण्डल बनेको छ । 

सोमबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएसँगै देउवाको मन्त्रीमण्डल अहिलेसम्मकै ठुलो बनेको हो ।

राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहोरा–विज्ञान तथा प्रविधि, सुनील थापा–उद्योग र विक्रम पाण्डे वन मन्त्री बनेका छन् भने रेशम लामा उद्योग राज्यमन्त्री बनेका छन् ।

विवादमा राप्रपा प्रजातान्त्रिक 

निर्वाचन आयोगमा अलग्गै पार्टीको रुपमा दर्ता भएपछि राप्रपा प्रजातान्त्रिकका सांसद पद के हुने भन्ने कानुनी अल्झनका बीच प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सामेल गराउन लागेका हुन् । 
आयल निगमको भ्रष्ट्राचार प्रकरणमा मुछिएका तत्कालिन मन्त्री दिपक बोहोरालाई मन्त्री बनाउने कुरालाई पनि विरोध भैरहेको छ  । 
त्यस्तै राप्रपा प्रजातान्त्रिकलाई राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चमा दायर गरेको मुद्धामा पनि सर्वोच्चले छलफलका लागि बोलाएको भएपनि प्रधानमन्त्रीले सरकारमा सामेल गराउनु फेरी विवादस्पद हुने संकेत देखिएको छ ।

यता सरकारमा सामेल हुने वित्तिकै राप्रपा प्रजातान्त्रिक भित्र भने असन्तुष्टि बढेको छ । असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतले अध्यक्ष पशुपति शमशेर राणालाई आफ्नो असन्तुष्टि जाहेर गर्दै विद्रोह गर्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारमा सामेल हुदा कुनै सल्लाह नगरिएको र समावेशी नबनाइएको आरोप लगाएका छन् । राप्रपाबाट छुट्टिएर गएका १८ सांसदमा १० महिला सांसद भएपनि एक महिलालाई पनि सरकारमा नलगिएकोमा उनीहरुले असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।

जम्बो मन्त्रिपरिषद : 

गत जेठ २४ गते प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन महिनाको अवधिमा आफ्नै मन्त्रिपरिषद् छैटौं पटक विस्तार गरेका हुन् । पछिल्लो पटक उनले भदौ ४ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

अब प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र २४ जना राज्यमन्त्री गरी ५४ सदस्यीय मन्त्रिपरिषद रहेको छ ।

नेपालको इतिहासका सात ठुला मन्त्रिपरिषद :

१.    हालका प्रधानमन्त्री शेरबहादुर देउवाले ५४ सदस्यीय मन्त्रिपरिषद बनाएर नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो मन्त्रिपरिषद गठन गरेको रेकर्ड बनाएका छन् । आज तीन मन्त्री र एक मन्त्रीले शपथ लिएसँगै देउवा मन्त्रिपरिषदको संख्या ५४ भएको छ । प्रधानमन्त्री, ३ उपप्रधानमन्त्री, २६ मन्त्री र २४ राज्यमन्त्री सहित कुल ५४ सदस्यीय मन्त्रिपरिषद बनेको छ ।

२.     २०५२ सालमा शेरबहादुर देउवा कै नेतृत्वमा ५२ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो । यो सँगै ठुलो मन्त्रिपरिषदको दोस्रो स्थानमा पनि प्रधानमन्त्री देउवा नै रहेका छन् ।  त्यति बेलाको उनको मन्त्रिपरिषदमा प्रधानमन्त्री, २७ मन्त्री, १६ राज्य र ८ सहायक मन्त्री रहेका थिए ।

३.    त्यस्तै तेस्रो स्थानमा यस अघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । २० साउन २०७३ मा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो मन्त्रिपरिषद् ५० सदस्यीयसम्म बनाएका थिए । उनको मन्त्रिपरिषदमा प्रधानमन्त्री, ३१ मन्त्री, १८ राज्यमन्त्री रहेका थिए ।

४.    ठुलो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्रीको सुचिमा चौथो स्थानमा डा. बाबुराम भट्टराई रहेका छन् । १२ भदौ २०६८ मा प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले आफ्नो मन्त्रिपरिषद् ४९ सदस्यीयसम्म पुर्याएका थिए । उनको मन्त्रिपरिषदमा प्रधानमन्त्री, २६ मन्त्री, २२ राज्यमन्त्री रहेका थिए ।

५.    ठुलो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्रीको सुचिमा पाचौ स्थानमा सुर्यबहादुर थापा रहेका छन् । २१ असोज २०५४ मा प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको मन्त्रीपरिषद् ४७ सदस्यीय रहेको थियो । उनको मन्त्रिपरिषदमा २६ मन्त्री, १५ राज्य र ८ सहायकमन्त्री रहेका थिए ।

६.    ठुलो मन्त्रिपरिषदको छैठौ नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा नै रहेका छन् । ११ साउन २०५८ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको ४१ सदस्यीय मन्त्रिपरिषद् रहेको थियो । उनको मन्त्रिपरिषदमा १७ मन्त्री, १६ राज्य र ७ सहायक मन्त्री रहेका थिए ।

७.    ठुलो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्रीमा सातौ नम्बरमा केपी शर्मा ओली रहेका छन् । २५ असोज २०७२ मा प्रधानमन्त्री बनेका केपी ओलीले मन्त्रिपरिषद् संख्या ४० सदस्यीयसम्म पुर्याएका थिए । उनको मन्त्रिपरिषदमा मन्त्री २७, १० राज्य र २ सहायक मन्त्री रहेका थिए ।  

सम्बन्धित समाचार

बुधबार मन्त्रिमण्डल विस्तारको तयारी

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन

सरकारमा जान नपाएका कमल थापाले देउवालाई धन्यवाद दिदै भने 'कोर्स करेक्सन' गर्ने मौका

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समाजिक संजालमा राप्रपाको वर्तमान अवस्था बारे लेख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दा राप्रपाले कोर्स करेक्सन गर्ने मौका पाएको बताएका छन् । सरकारमा जाने मन

प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडक अनुगमन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन गर्दै छन् । यो सडकखण्डमा दुर्घटना बढेको तथा दिनहुँजसो पहिरो खसेर अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको भन्दै प्रधानमन्त्री देउवाले अनुगमन गर्न लागेको

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

चितवन, प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् ।  नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न