• २०८१ बैशाख ६ बिहीबार

प्रधानमन्त्री देउवाको इतिहासकै जम्बो मन्त्रीमण्डल, अहिलेसम्मका सात ठूला मन्त्रिपरिषद् यस्ता छन्  

kharibot

प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमन्डल इतिहासकै जम्बो मन्त्रीमण्डल बनेको छ । 

सोमबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएसँगै देउवाको मन्त्रीमण्डल अहिलेसम्मकै ठुलो बनेको हो ।

राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहोरा–विज्ञान तथा प्रविधि, सुनील थापा–उद्योग र विक्रम पाण्डे वन मन्त्री बनेका छन् भने रेशम लामा उद्योग राज्यमन्त्री बनेका छन् ।

विवादमा राप्रपा प्रजातान्त्रिक 

निर्वाचन आयोगमा अलग्गै पार्टीको रुपमा दर्ता भएपछि राप्रपा प्रजातान्त्रिकका सांसद पद के हुने भन्ने कानुनी अल्झनका बीच प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सामेल गराउन लागेका हुन् । 
आयल निगमको भ्रष्ट्राचार प्रकरणमा मुछिएका तत्कालिन मन्त्री दिपक बोहोरालाई मन्त्री बनाउने कुरालाई पनि विरोध भैरहेको छ  । 
त्यस्तै राप्रपा प्रजातान्त्रिकलाई राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चमा दायर गरेको मुद्धामा पनि सर्वोच्चले छलफलका लागि बोलाएको भएपनि प्रधानमन्त्रीले सरकारमा सामेल गराउनु फेरी विवादस्पद हुने संकेत देखिएको छ ।

यता सरकारमा सामेल हुने वित्तिकै राप्रपा प्रजातान्त्रिक भित्र भने असन्तुष्टि बढेको छ । असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतले अध्यक्ष पशुपति शमशेर राणालाई आफ्नो असन्तुष्टि जाहेर गर्दै विद्रोह गर्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारमा सामेल हुदा कुनै सल्लाह नगरिएको र समावेशी नबनाइएको आरोप लगाएका छन् । राप्रपाबाट छुट्टिएर गएका १८ सांसदमा १० महिला सांसद भएपनि एक महिलालाई पनि सरकारमा नलगिएकोमा उनीहरुले असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।

जम्बो मन्त्रिपरिषद : 

गत जेठ २४ गते प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन महिनाको अवधिमा आफ्नै मन्त्रिपरिषद् छैटौं पटक विस्तार गरेका हुन् । पछिल्लो पटक उनले भदौ ४ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

अब प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र २४ जना राज्यमन्त्री गरी ५४ सदस्यीय मन्त्रिपरिषद रहेको छ ।

नेपालको इतिहासका सात ठुला मन्त्रिपरिषद :

१.    हालका प्रधानमन्त्री शेरबहादुर देउवाले ५४ सदस्यीय मन्त्रिपरिषद बनाएर नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो मन्त्रिपरिषद गठन गरेको रेकर्ड बनाएका छन् । आज तीन मन्त्री र एक मन्त्रीले शपथ लिएसँगै देउवा मन्त्रिपरिषदको संख्या ५४ भएको छ । प्रधानमन्त्री, ३ उपप्रधानमन्त्री, २६ मन्त्री र २४ राज्यमन्त्री सहित कुल ५४ सदस्यीय मन्त्रिपरिषद बनेको छ ।

२.     २०५२ सालमा शेरबहादुर देउवा कै नेतृत्वमा ५२ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो । यो सँगै ठुलो मन्त्रिपरिषदको दोस्रो स्थानमा पनि प्रधानमन्त्री देउवा नै रहेका छन् ।  त्यति बेलाको उनको मन्त्रिपरिषदमा प्रधानमन्त्री, २७ मन्त्री, १६ राज्य र ८ सहायक मन्त्री रहेका थिए ।

३.    त्यस्तै तेस्रो स्थानमा यस अघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । २० साउन २०७३ मा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो मन्त्रिपरिषद् ५० सदस्यीयसम्म बनाएका थिए । उनको मन्त्रिपरिषदमा प्रधानमन्त्री, ३१ मन्त्री, १८ राज्यमन्त्री रहेका थिए ।

४.    ठुलो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्रीको सुचिमा चौथो स्थानमा डा. बाबुराम भट्टराई रहेका छन् । १२ भदौ २०६८ मा प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले आफ्नो मन्त्रिपरिषद् ४९ सदस्यीयसम्म पुर्याएका थिए । उनको मन्त्रिपरिषदमा प्रधानमन्त्री, २६ मन्त्री, २२ राज्यमन्त्री रहेका थिए ।

५.    ठुलो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्रीको सुचिमा पाचौ स्थानमा सुर्यबहादुर थापा रहेका छन् । २१ असोज २०५४ मा प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको मन्त्रीपरिषद् ४७ सदस्यीय रहेको थियो । उनको मन्त्रिपरिषदमा २६ मन्त्री, १५ राज्य र ८ सहायकमन्त्री रहेका थिए ।

६.    ठुलो मन्त्रिपरिषदको छैठौ नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा नै रहेका छन् । ११ साउन २०५८ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको ४१ सदस्यीय मन्त्रिपरिषद् रहेको थियो । उनको मन्त्रिपरिषदमा १७ मन्त्री, १६ राज्य र ७ सहायक मन्त्री रहेका थिए ।

७.    ठुलो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्रीमा सातौ नम्बरमा केपी शर्मा ओली रहेका छन् । २५ असोज २०७२ मा प्रधानमन्त्री बनेका केपी ओलीले मन्त्रिपरिषद् संख्या ४० सदस्यीयसम्म पुर्याएका थिए । उनको मन्त्रिपरिषदमा मन्त्री २७, १० राज्य र २ सहायक मन्त्री रहेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै