बढ्दै मौसमी रुघाखोकीका बिरामी

खरीबोट

काठमाडौँ, राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ । दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ ।

इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सुरुमा यसको भाइरस सुँगुरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा मिसमास भएकाले प्राविधिक रुपमा स्वाइन फ्लु भन्नु गलत हुने चिकित्सकको भनाइ छ ।

गत साताबाट स्याङ्जाको वालिङमा मौसमी इन्फ्लुएन्जाले प्रभावितको संख्या बढेपछि काठमाडौँमा पनि सर्तकताका लागि अपिल गरिएको महाशाखाको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन आग्रह गरे ।

उनले भने, ‘‘सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सर्तक हुनुपर्छ, खासगरी केही जटिलता भएमा भने मृत्यु हुने खतरा बढी हुन्छ ।’’

उनले विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ । मौसमी इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुबै फोक्सोमा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले जानकारी दिए । केही वर्षयता एच१एन१ का बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको छ ।

‘‘ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अङ्कमाल नगर्नेजस्ता सर्तकता अपनाउन आवश्यक छ,’’ उनले भने ।

निर्देशक आचार्यले राजधानीका मुख्य अस्पताललाई संक्रमित बिरामीको संख्याबारे जानकारी गराउन पत्राचार गरिएको बताए । सबै अस्पतालबाट बिरामीको तथ्यांक आएपछि एकिन संक्रमितको संख्या बाहिर आउने बताइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकी लागेका बिरामी आउने गरेका छन् । डा पुनले एच१एन१ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लु’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिए । जसका कारण बिरामीमा निमोनिया देखिने गरेको छ ।

खासगरी मौसम परिवर्तन हुने समय, गर्मी सकिएर वर्षा लाग्ने समय, वर्षा सकिएर शरद् ऋतु लाग्ने समय, जाडो सकिएर बसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लोे समयमा मौसमी इन्फ्लुएन्जा भाइरसका संक्रमण देखिने गरेको छ ।

क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गाैला फेल भएका, डायलासिस गरिएका, ६५ वर्षमाथि व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए ।

मौसमी रुघाखोकीबाट बच्न खोप भए पनि नेपालमा भने सरकारीस्तरमा उपलब्ध छैन । निजीस्तरमा केही अस्पतालले खोप उपलब्ध गराउँदै आए पनि महँगो पर्ने भएकाले सरकारीस्तरबाट उपलब्ध गराउन नसकेको मन्त्रालयको भनाइ छ ।

निर्देशक आचार्यका अनुसार संक्रमणको उच्च जोखिममा रहेका समूहलाई केही वर्षमा खोप दिनेबारे छलफल भइरहको छ ।

सबैभन्दा पहिले इन्फ्लुएन्जा भाइरस देखिएको र दुई जनाको मृत्यु भइसकेकाले प्रकोपबारे अध्ययन गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनको स्याङ्जा पुगेको छ ।

सम्बन्धित समाचार

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

रत्ननगर (चितवन) । नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट

इलाममा भाइरलका बिरामी बढे

इलाम । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ ।  बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा

बढ्दै मौसमी रुघाखोकीका बिरामी

काठमाडौँ, राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ । दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ । इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित

स्याङजामा कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

स्याङजा, स्याङजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग