• २०८१ बैशाख ४ मंगलबार

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

kharibot

पर्वत / जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । 

विगत दुई दशकअघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरूपमा बन्द भएका हुन् । तीन वर्ष अघिसम्म तीन वटा मात्र आयोजना सञ्चालनमा रहेकामा अहिले केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै ती पनि बन्द भएका छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइन विस्तार भएको थियो । 

दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे ७ किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङ गाविसमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बन्द छन् । त्यस्तै बाच्छा गाविसको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघु जलविद्युत् आयोजनाले पनि उत्पादन गर्न छाडेका छन् । 

यस्तै मोदी गाउँपालिका–१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ भने महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मत अभाव र थोरै क्षमताका भएकाले स्थानीयवासीले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयवासीले मर्मतमा बेवास्ता गरेका हुन् । 

उनीले गाउँमा उत्पादित बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए । पछिल्लो समय स्थानीय तहले पनि उक्त लघु विद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए । 

जिल्लाका ११ लघु जलविद्युत् आयोजनाबाट १५६.५ किलोवाट विद्युत् उत्पादन भएको र त्यसबाट एक हजार ४०३ घरधुरीका नौँ हजार बासिन्दा लाभान्वित भएका थिए । “पच्चिसवाट क्षमताको बल्ब महिनाभर चलाएको रु २५ तिरे पुग्थ्यो,” तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भने , “केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।” विसं २०५५ देखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । ती एघार आयोजनाका लागि  दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै