• २०८१ बैशाख ११ मंगलबार

अनलाइन प्रेम (कथा) 

kharibot

चिरञ्जीवी आचार्य 

कार्यालयको समय छ । मानिसहरु आ–आफ्नो काममा व्यस्त छन् । केही पनि काम नभएकाहरुलाई पनि रोजगारी खोज्ने एउटा काम छ । उनीहरु त्यसकै लागि आफ्नो समय खर्च गरिरहेका छन् । यसै समयमा यस्तैमा ऊ पनि नियमितरुपमा आफ्नो कार्यालयमा छ तर उसको मन आज काममा खासै देखिँदैन । धेरै ऊ समाजिक सञ्जालमा भुलिरहेको छ । 
सामाजिक सञ्जालमा पनि फेसबुक । ट्वीटरमा उसले चिनेका खासै धेरै मानिसहरु छैनन् त्यसैले कम्युनिकेसनको लागि उसले धेरै फेसबुक नै चलाउँछ । दिउँसो उसले बोल्ने गरेका धेरै साथीहरु काममा हुन्छन् र राति ऊ आफैं अनलाइन आउँदैन । त्यसैले उसको फेसबुकमा बोल्ने मानिसहरु निकै सीमित छन् । फेसबुकमा अरुका फोटो र पोस्टहरुमा लाइक र कमेन्ट गर्दैमा उसको दिनहरु बित्छन् । कहिलेकाहीँ दुःख लाग्दा मनमा गुम्सिएका कुराहरु म्यासेन्जरमा आफैंलाई पठाउने गर्छ । 

कहिलेकाहीँ आफ्ना साथीहरुसँग सामाजिक सञ्जालमा आफ्नो खासै बोल्ने मान्छे कोही नभएको र दिनभर आफूलाई सञ्जाल चलाउन पट्यार लाग्ने गरेको दुःखेसो गर्छ । यत्तिकैमा एउटाले भन्छ, “ह्या मुला ! यो उमेरमा पनि बुंगाहरुसँग गफ गरेर बस्ने हो त, केटीहरुसँग गफ गर्ने हो । केटाहरुलाई त यसो हाई, हेलो के छ भन्ने मात्र हो ।” 

त्यस्तैमा अर्कोले थप्छ, “यो उमेरमा पनि एउटा गर्लफ्रेन्ड पनि नबनाउने तिमीजस्तो ब्रह्मचारीले फेसबुक चलाउने हैन नि, डमरु र कमण्डलु बोकेर तपस्या गर्न जाऊ ।” 

सबै साथीहरुको प्रेमिका भएको अवस्थामा आफूलाई एक्लै पाउँदा उसलाई नरमाइलो लाग्छ तर उसलाई राम्रोसँग थाहा छ कि प्रेममा निकै कममात्र सफल हुन्छन् र सम्बन्धविच्छेद भएकाहरुमा पनि अधिकांश प्रेम विवाह गरेकाहरु छन् । यस्तोमा ऊ आफूलाई पनि यो असफल हुनेको सूचीमा राख्न चाहँदैन । 

एक÷दुई दिनसम्म यत्तिकै बस्छ तर तेस्रो दिन उसको मनमा अर्कै विचार आउँछ, “ह्या.... आफू सही भएपछि अरुले के गरे भन्नेमा किन ध्यान दिनुपर्यो ?” 

त्यसपछि एक अपरिचितलाई राम्रोसँग प्रोफाइल नियालेपछि मेरा लागि सही छ भन्ने ढुक्क भएर ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउँछ । बेलुका उक्त ‘रिक्वेस्ट एसेप्ट’ हुन्छ । सामाजिक सञ्जालमा अपरिचितले पठाएको ‘रिक्वेस्ट एसेप्ट’ नगर्नु नै राम्रो मानिन्छ, त्यसमा पनि महिला मित्रहरु यसमा विशेष सजग हुन्छन् । यस्तोमा पनि आफ्नो ‘रिक्वेस्ट एसेप्ट’ भएको पाउँदा ऊ हर्षित हुन्छ र हत्त न पत्त म्यासेज पठाउँछ – “हेलो” । 

कुनै अपरिचितको म्यासेजको ‘रिप्लाई’ पनि स्वाभाविक हिसाबले आउँछ – “हजुर” । ऊ खासै अपरिचितसँग कुरा गर्दैन, गर्नुपरे पनि आफ्नो विषयवस्तुमा रहेर सटिक कुरा गर्ने गर्छ तर उसलाई आज फरक ढङ्गले कुरा गर्नु छ । त्यसै अलमलमा पर्छ तर आफ्नै ढङ्गले कुरा सुरु गर्छ । 

“के छ खबर ?” उसले कुरा अगाडि बढाउन थाल्छ । उताबाट पनि जस्तो प्रश्न उस्तै उत्तर मात्र आउँछ । पहिलो पटक अपरिचितसँग यतिको ‘रिप्लाई’ आउनु स्वाभाविक नै हो तर उसलाई भने आफ्नो बारेमा पनि केही सोधिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्छ ।

 जति प्रश्न छ त्यसको त्यतिमात्र उत्तर ऊ प्रश्नको वर्षा गर्न बाध्य हुन्छ । उनीहरुको बीचमा कुराकानी त हुन्छ तर एउटा अन्तर्वाताजस्तो, नितान्त अन्तर्वार्ता । तर यो अन्तर्वार्ता अलिक फरक किसिमको छ । जसमा अन्तर्वार्ता लिने पनि ऊ हुन्छ र त्यसमा पास पनि उसलाई नै हुनुपर्ने हुन्छ । 

कुरा के भइरहेको छ भन्दा पनि गरेको प्रश्नको उत्तर आइरहेको छ, त्यसमै खुसी छ ऊ । अब उत्तर के आउँछ भनेर चिन्ता लाग्दैन उसलाई बस् ‘रिप्लाई’ आए पुग्यो । तर यो कुरा उसलाई थाहा छैन, एकोहोरे म्यासेजमा व्यस्त हुँदै जान्छ ।

धेरै कुरा भइसकेपछि उसलाई केटीको स्वर सुन्न मन लाग्छ । त्यसका लागि उसले आफ्नो सिर्जनाको सहारा लिने निर्णय गर्छ । उसले आफूले लेखेका केही सिर्जनाहरु पठाउँछ र त्यसको वाचनको लागि अनुरोध गर्छ । केटीले खै के भनेर टार्छे तर २÷३ वटा  सिर्जनाहरु पठाइसकेपछि भने एउटा वाचन गरेर सुनाउँछे । मानिसले जति अपेक्षा गर्छ, त्योभन्दा केही बढी पायो भने उसको खुसी पनि दोब्बर हुन पुग्छ । त्यस्तै हुन्छ उसलाई पनि जस्तो स्वरको ऊ कल्पना गरिरहेको हुन्छ, त्योभन्दा पनि मिठो स्वर सुनेर ऊ मुग्ध हुन्छ । 
“कस्तो लाग्यो त मैले लेखेको ?”, उसले सोध्छ । 

“खै कस्तो भन्ने, मलाई कस्तो हुनुपर्छ भनेर पनि थाहा छैन अनि कसरी भन्नु ?” उसले जवाफ दिन्छे । 
त्यै पनि ऊ कर गर्दै जान्छ अनि केटीले बाध्य भएर भन्छे, “राम्रो ।” 
“अनि राम्रो के ? म कि मैले लेखेको ?”, ऊ जिस्काउन खोज्छ । 
“हजुर ता नराम्रो !” उताबाट रिप्लाई आउँछ तर उसलाई साउथ इन्डियन फिल्मको हिरो भएको जस्तो आभाष हुन्छ । 

कुरा त सामान्य हिसाबमा भइरहेको हुन्छ तर कसरी कुरा अगाडि बढाउने हो र कस्तो कुरा गर्नुपर्छ भन्नेमा अझै पनि उसले भेउ पाइसकेको छैन । यस्तैमा निकटका एक सहकर्मीसँग कसरी कुरा अगाडि बढाउने होला भनेर सोध्ने मनसायका साथमा भन्छ, “मित्र मलाई एउटी केटी साँच्चै मन प¥यो के.....” 

उसको प्रश्नमा सहकर्मीले खासै विश्वास गर्दैनन् र व्यंग्य गर्दै उत्तर दिन्छन्, “अँ है मलाई पनि ऐश्वर्य राय मनपथ्र्यो तपाइँलाई चाहिँ को मन पर्यो नि ?” यो उत्तरले ऊ साँच्चै अघाउँछ र आफ्नो बचाउ गर्दै भन्छ, “तपाइँको मेरो छनोट सधैं एउटै हुने के, यो उमेरमा आएर बल्ल ऐश्वर्या राय मन पर्न थालेको थियो ......” 

“तपार्इँका नाटक मलाई पहिल्यै थाहा थियो” सहकर्मी फिस्स हाँछन् र ऊ पनि हल्का मुस्कान छाड्दै काममा व्यस्त हुन्छ । त्यसपछि उसले कसैलाई पनि नभनी कुरा गरिरहने निर्णय गर्छ । 

उसले जति चाहिने हो त्योभन्दा पनि बढी सोच्दै जान्छ । एक दिन उसको यस्तै केही हर्कत केटीलाई मन पर्दैन र भन्छे, “म अब बोल्दिन हजुरसँग ... ” अनि ऊ अफलाइन जान्छे । 
अब बल्ल उसलाई आभाष हुन्छ कि अनलाइनको प्रेममा कति डुबिसकेको छ भन्ने । उसलाई थाहा हुन्छ कि मानिसहरु किन यति धेरै छटपटीको कुरा गर्छन् भन्ने । यस्तैमा उसलाई साँच्चै विरक्त चल्छ र फेसबुक डिएक्टिभ गर्ने निर्णय गर्छ र एक विरक्तलाग्दो पोस्ट गर्छ तर उसले फेसबुक डिएक्टिभ भने गर्दैन । तर उसले गरेको यो पोस्टमा केही हाहा रियाक्ट आउँछ र यो हाहा रियाक्ट गर्नेमा उसको नाम पनि समावेश हुन्छ र उसले कमेन्ट पनि गरेकी हुन्छ । सायद केटीले उसलाई म रिसाएको छैन भन्न खोजेकी हो तर उसले बुझ्न सक्दैन र उसको छटपटी बढ्दै जान्छ । १÷२ दिनपछि उनीहरुको बीचमा पुनः कुराहरु हुँदै जान्छ तर ऊ पूर्ववत् अवस्थामा फर्कन भने सक्दैन । 

यस्तोमा उसले आशा गरेअनुसारको जवाफ उसले दिएकी हुन्न । त्यसपछि उसले आफ्नो मनलाई रोक्ने निर्णय गर्छ र अब केटीले म्यासेज नगरेसम्म नबोल्ने निर्णय गर्छ तर उसका लागि यो निकै कठिन काम थियो । पहिलो दिन ऊ केटीको प्रफाइल नै हेरेर बिताउँछ । दोस्रो दिन पनि उसलाई म्यासेज पठाउँ पठाउँ लाग्छ । तर फेसबुक उनलाई अनलाइनमा देख्दै उसको मनमा कुरा खेल्न थान्छन्, “मेरो पो कुरा गर्ने कोही छैनन् र उसलाई म्यासेज गरेर बस्छु तर उसलाई त मैले जस्तो म्यासेज गर्ने कति हुँदा हुन्, मलाई के हेर्थी ?” 

अब यसअघि उसले नराम्रो भन्दा साउथ इन्डियनको हिरो बनेको अभाष हुने गरेकोमा अब जिरो हुँदै गएको आभाष हुन थाल्छ र रुन मन लाग्छ तर अरु कसैले देखेका छन् कि भनेर पुनः सतर्क हुन्छ । 

केही दिन यसरी नै बित्छन्, त्यसपछि एक दिन केटीले म्यासेज गर्छे, “हाई, के छ खबर हजुरको ? आजकाल त बोलचाल छैन नि ?” सायद उसले अघिल्लो दिन बेलुका नै म्यासेज गरेकी हुँदी हो तर उसले भोलिपल्टको बिहान मात्र त्यो म्यासेज हेर्छ र एकछिन घोरिएर हेर्छ । 

मनमा अपार खुसी बोकेर मुसुक्क हाँस्दै त्यसको रिप्लाइ दिन थाल्छ .................।।।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै