• २०८१ बैशाख १२ बुधबार

‘मितिनी’ र ‘सोल्टी’ चीनतिर लागे

kharibot

काठमाडौँ। नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैँडाका एक जोडी शुक्रबार कार्गाे विमानबाट चीन पठाएको छ । 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गरे । 

मन्त्री बस्नेतले उहाँलाई गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गर्नुभएको थियो । यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ । 

गैँडा हस्तान्तरणपछि विमानस्थलमा रासससँग कुरा गर्दै मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरे । साथै नेपालमा एक सिङ्गे गैँडा पाइन्छ भन्नेबारेमा मुलुकको पहिचान विश्वमा प्रख्यात हुने र नेपालको पर्यटन व्यवसायमा समेत प्रवद्र्धन हुने उनको भनाइ थियो । 

चीनको युनी–टप एयरलाइन्सको कार्गाे विमानबाट आज साँझ लगिएका गैँडा पाँच घण्टा ४५ मिनेटको उडानपछि साङ्घाइ पुग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । उक्त जोडी गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट गत साउन २९ गते काठमाडौँ ल्याइएको महानिर्देशक खड्काले बताए । 

गैँडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य तीन जना वन्यजन्तु प्राविधिक बिहीबार नै चीन गइसकेका छन् । 

दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ । 

यसअघि पठाइएका गैँडा गोञ्जाउ चिमेलङ सफारी पार्कमा राखिएको छ । सरकारले यसअघि विभिन्न १० मुलुकलाई २६ एकसिङ्गे गैँडा उपहार दिइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै