• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ३०० बढी पत्रपत्रिकाको एकसाथ ‘सम्पादकीय—आक्रमण’

kharibot

काठमाडौं । आफूहरुमाथि राष्ट्रपति डोनाल्ड ट्रम्प हावी भएपछि अमेरिकी मिडियाहरुले एकसाथ उभिएर उनीविरुद्ध ‘सम्पादकीय–आक्रमण’ गरेका छन् । बीबीसीका अनुसार करिब ३ सयभन्दा धेरै अमेरिकी मिडिया आउटलेटहरुले ‘आफूहरु जनताविरोधी नभएको’ भन्दै सम्पादकीय लेखेर राष्ट्रपतिविरुद्ध क्याम्पेन चलाएका हुन् । 

द बोस्टोन ग्लोब भन्ने एक अमेरिकी मिडियाले त गत हप्ता नै राष्ट्रव्यापी रुपमा ट्रम्पले मिडियाविरुद्ध फोहोरी युद्ध छेडेको आरोप लगाउँदै ‘एनेमी अफ नन’ ह्यासट्याग प्रयोग गरेको थियो । तर यता राष्ट्रपति ट्रम्प भने आफूविरुद्धको मिडिया क्याम्पेन भएको भन्दै बिहीबार एक ट्विटमार्फत ‘झूटो मिडिया प्रतिपक्षी दलजस्तै’ भएको आरोप लगाएका छन् । उनले ट्विटमा भनेका छन्, ‘झूटा समाचार दिने मिडिया प्रतिपक्षी पार्टी हो । जुन यो हाम्रो ठूलो देशका लागि निकै दुःखद कुरा हो .... तर हामी नै जितिरहेका छौँ ।’

यता बीबीसीले उक्त क्याम्पेनबारे समाचार लेख्दै राष्ट्रसंघीय विज्ञहरुले ट्रम्पको प्रतिक्रियाले पत्रकारविरुद्ध हिंसा भड्किनसक्ने चेतावनी दिएको बताएको छ । यसरी ऐक्यबद्ध भएर समाचार लेख्नेमा अधिकांश अमेरिकी ‘लिबरल मिडियाहरु’ सीएनएन, द न्युयोर्क टाइम्सदेखि लिएर बोस्टन ग्लोब, टोपेका क्यापिटल जर्नललगायत रहेका छन् । तर यता ‘कन्जरभेटिभ’ मिडियाले भने उक्त क्याम्पेनमा साथ दिएका छैनन् । टाउनहल डटकम, वालस्ट्रिट जर्नललगायतका मिडियाहरु यो क्याम्पेनमा मौन बसेका छन् । यता यो क्याम्पेनलाई बेलायतको चर्चित पत्रिका÷अनलाइन द गार्जियनले पनि साथ दिएको छ । 

के ट्रम्प साँच्चै ‘स्वतन्त्र प्रेस’का विरुद्धमा रहेकै हुन् त ? 
सयौँ मिडियाले एकसाथ सम्पादकीय लेख्नुमा अमेरिकी सत्तामा २०१६ को नाटकीय नतिजासँगै राष्ट्रपति चुनिएका ट्रम्प नै कारण हुन् । उनी निर्वाचित भए पनि अमेरिकी ‘लिबरल’ मिडियाहरुले उनीविरुद्ध एकोहोरो समाचार लेख्दै आएका छन् । लिबरल भनिने मिडियाहरुले ट्रम्पको राष्ट्रपतिमा निर्वाचित गराउने विजयलाई समेत बाध्य भएर स्वीकारेका थिए भने उनीहरुको सहानुभूति डेमोक्र्याट्सतिर रहँदै र रिपब्लिकनहरुविरुद्ध आक्रामक रहँदै आएका थिए । आफूविरुद्ध एकपछि अर्को समाचार÷विचारहरु प्रकाशित र प्रसारित भएपछि ट्रम्प र उनका समर्थकले न्युयोर्क टाइम्स र सीएनएनलाई त ‘फेक न्युज’ अर्थात् झूटो समाचार÷विचार दिने ट्याग नै भिराइदिएका छन् ।

आफ्ना राम्रा कामलाई समेत आलोचना गरिएपछि ट्रम्पले उक्त लिबरल मिडियालाई झूटा र जनताका शत्रु भन्ने शब्द ट्विटरमार्फत प्रयोग गर्नथालेपछि उक्त मिडियाहरु तर्सिएका हुन् । सोही प्रतिवादस्वरुप उनीहरुले हामी जनताका शत्रु होइनौँ भनेर यस्तो क्याम्पेन चलाएका हुन् । यद्यपि मिडियाले क्याम्पेन चलाए पनि ट्रम्पलाई स्वतन्त्र प्रेसका विरोधी भनी लगाइएको आरोप भने निराधार र लाञ्छना मात्रै हो । उनले स्वतन्त्र प्रेस जनताको शत्रु भनेका छैनन् । यस्तै उनले आफ्ना समर्थकलाई उक्त मिडियाविरुद्ध हिंसामा उत्रिन वा जाइलाग्न पनि भनेका छैनन् । हिलारी क्लिन्टन राष्ट्रपति हुने आशामा रहेका उक्त लिबरल मिडियाहरु ट्रम्पको विजयसँगै झस्किएका थिए भने उनलाई चुनावमा रुसले सघाएको भनी समाचार धाराप्रवाह रुपमा लेख्दै आएका थिए ।

सोही कारण अमेरिकामा रोबर्ट म्युलरको संयोजकत्वमा यससम्बन्धी जाँचपड्ताल गर्न आयोग नै गठन गरिएको थियो । चुनाव सकिएलगत्तै गठन गरिए पनि ट्रम्प र रुसबीचको साँठगाँठबारे कुनै प्रमाण फेला पर्न आजसम्म सकेको छैन भने आफूले कुनै साँठगाँठ नगरेको ट्रम्पले दैनिक रुपमा ट्विटमार्फत भन्दै आए पनि आयोगले उनका चुनावी क्याम्पेनका पदाधिकारीलाई अन्तर्वार्ता र अनुसन्धान गर्दै आएको छ । यसबाट आजित भएका ट्रम्पले आफू निर्दोष भए पनि मिडियाले नभएको भूतको खोजी गरेको भनी लिबरल मिडियाको कडा आलोचना गर्दै आइरहेका छन् । 

सबै मिडिया यो क्याम्पेनमा छैनन् 
सबै मिडिया उक्त क्याम्पेनमा नहुनुले पनि विभाजित मिडिया विचारधारालाई इंगित गर्छ । जस्तो फक्सन्युज, टाउनहल डटकम, वालस्ट्रिट जर्नलजस्ता मिडियाहरु यस क्याम्पेनमा छैनन् । पछिल्लो समय अमेरिकी राजनीतिमा हावी ट्रम्पलाई मिडियाबाट साथ नभए पनि उनका समर्थकहरुले छोडेका छैनन् । त्यसो त वर्तमान ह्वाइटहाउसमा मिडिया त्यति प्रभावकारी देखिएको छैन ।

ट्रम्प प्रशासनले गर्ने निर्णयहरु पनि राष्ट्रपतिको व्यक्तिगत ट्विटबाट सार्वजनिक हुन्छन् भने विरलै पत्रकारहरुलाई ब्रिफिंग गराइन्छ । पहिले पहिले यस्तो हुँदैनथ्यो । आफ्ना करोडौँ समर्थकलाई ट्रम्पले एक ट्विटको भरमा मिडियालाई किनारा लाउन र समर्थकलाई उक्साउन थालेपछि त्यसको विरोधस्वरुप उक्त सयौँ मिडियाहरुले क्याम्पेन नै गरी एकसाथ सम्पादकीय लेखेका हुन् । सम्पादकीयको सार पत्रकारहरु जनताविरोधी होइनन् भन्ने रहेको एजेन्सीहरुले जनाएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै