• २०८१ बैशाख १३ बिहीबार

कालीगण्डकी नदीमा पानीको सतह विगत तीनवर्ष यताकै उच्च विन्दुमा

kharibot

फाइल तस्बीर

पर्वत। विगत केहि दिनदेखि परेको निरन्तर वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह अत्यधिक बढेको छ । 

हिमालपारीको जिल्ला मुस्ताङ हुँदै म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा बुधवार पानीको सतह विगत तीनवर्ष यता उच्च विन्दुमा पुगेको हो । 

आज बिहान पानीको सतह बढेर एक हजार नौ सय मिटर क्युसेक पुगेको छ । मङ्गलबार बिहानसम्म एक हजार एक सय मिटर क्युसेक रहेको सतह गएरातिको भारी वर्षासँगै ह्वात्तै बढेको हो । एकै दिनमा आठ सय क्युसेक पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । 

कालीगण्डकीमा सबैभन्दा धेरै पानीको सतह बढ्दा दुई हजार पाँच सयदेखि तीन हजारसम्म पुग्ने गरेको कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाले जनाएको छ । यसअघि २०७२ सालमा पनि एक हजार नौ सय मिटर क्युसेककै हाराहारीमा पानीको सतह पुगेको थियो । 

पर्वत स्याङजा र गुल्मीको सिमाना सेतीवेणीमा भने पाँच हजार क्युसेकसम्म सतह पुग्ने गरेको आयोजनाले जनाएको प्रजिअ ढकालले जानकारी दिए । 

निरन्तरको वर्षासँगै सतह ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धीत सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीलगायतको टोलीले पर्वतको सदरमुकाम कुश्माबजारदेखि म्याग्दीको सदरमुकामसम्म आज बिहान स्थलगत अनुगमन गरी जोखिमपुूर्ण बस्तीका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । वर्षा नरोकिएकाले जुनसुकै बेला पनि नदीको सतह खतराको बिन्दुसम्म आइपुग्ने बताउँदै उच्च सतर्कता अपनाउन नदी किनारका बस्तीहरुमा पुगेर आग्रह गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । 

पर्वतका जलजलास्थित वारीवेनी, बगरफाँट, लस्ती, खनियाघाट, मालढुङ्गा, अर्मादी, मोदीवेणी, तथा बागलुङको जैमिनिघाट, र पर्वतकै इमिचौर र सेतीवेणी बजार कालीगण्डकीको बहावका कारण खतरामा रहेको जनाएको छ । ती क्षेत्रका बासिन्दालाई रातिको समयमा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको समेत प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै