• २०८१ बैशाख ४ मंगलबार

'...तर ती बालबालिकाले कहिलेदेखि पढ्न पाउने हुन्, कुनै टुङ्गो नै थिएन !'

kharibot

काठमाडौं । मेरो नाम आस्था घिमिरे हो । म १४ वर्षकी भएँ । म अहिले जोसेफ स्कुलमा कक्षा ८ मा पढ्छु ।

केहिसमय अघि तराईका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण कैयौले ज्यान मात्र गुमाएनन् हजारौ मानिहरु घरबार विहिन भए भने कैयौ बालबालिकाहारुलाई त्यसले असर गर्यो ।

तिनै बाढी पिडितलाई थोरै भएपनि राहत दिन म तराईका विभिन्न जिल्लामा गएकी थिए ।  आज हजुरहरुसँग सोहि समयका मेरा केहि अनुभूतिहरु साट्दै छु ।  हुन् त म लेखक होइन तर यस लेख मार्फत तराईका बाढी पिडित बालबालिकाहरुका लागि सहयोगी हातहरु आझै बढुन् र तिनीहरुले पढ्ने वातावारण बनोस् भन्ने मेरो उद्देश्य हो  । सानै भएपनि मलाई दुःखीहरुको सेवा गर्न, पढ्न, डान्स गर्न तथा साना बच्चाहरुलाई पढाउन लगायतका काम गर्न एकदमै मन लाग्छ ।

मैले दुःखीहरुको सहयोग पनि गरेकी छु । अरुको दुःखमा सहयात्री बनेर सहयोग गर्न पाउँदा मलाई आनन्द लाग्छ । धेरै मान्छेले भन्ने गरेको सुन्छु साना मान्छे ज्ञानी हुने, पढ्ने, बस्ने तर मलाई साना मान्छेले पढ्ने र ज्ञानी हुने मात्रै भन्दा पनि अरु धेरै कुरामा बच्चाहरुलाई अग्रसर गराउनुपर्छ भन्ने लाग्छ ।

म २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेका पीडितलाई सहयोग गर्न भनौँ या राहत वितरण गर्न काभ्रे र सिन्धुपाल्चोकका विभिन्न ठाउँहरुमा गएको थिएँ । हृदय दुःख्ने त्यो क्षण मेरो मनबाट अझै हराउनसकेको छैन । सानादेखि ठूलासम्म र गाउँदेखि सहरसम्म जताततै घर भत्केको, आफन्त गुमाएकाहरुको त्यो चित्कार सम्झिँदा मनमा अझै पनि कहाली छुट्छ ।

  • राहत बाड्दै आस्था ।

राम्रो लाउन र मिठो खान त परै जाओस्, सामान्य खान र शरीर मात्र ढाक्नेसम्मको लुगा नपाएका, बस्ने टहरो समेत नभएका पीडितको अवस्था देख्दा मन धेरै आत्तिएको थियो मेरो । फेरि त्यो क्षण बिर्सिन नपाउँदै यसपालि नेपालको तराई क्षेत्रका विभिन्न ठाउँमा बाढीले बगायो । कति ठाउँ डुबानमा परे भने पहाडमा पहिरोले त्यस्तै नराम्रो गरयो ।

जब म प्रभावित क्षेत्रमा पुगेँ र त्यहाँका बासिन्दाहरुको स्थिति देखेपछि मेरो मनमा धेरै पीडा भयो । उनीहरुको जिउमा राम्रो लुगा र सफा लुगा थिएन । खुट्टामा चप्पल थिएन ।

सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण भएका समाचार तथा फोटोले मेरो मन धेरै रोयो । उनीहरुलाई सहयोग गर्ने चाहना थियो । त्यस्तैमा परिवर्तन राहत कोषको संयोजनमा रुओन नेपाल, सोरोप्टी मिष्ट काठमाडौँ नेपाल, प्रवासी नेपाली मञ्च अमेरिकालगायतको सहयोगमा २०७४ भदौ १० गते राहत लिएर टोली तराई जाने भयो । म पनि रुओन नेपालमार्फत उक्त टोलीमा राहत वितरणको लागि सहभागी भए ।

राहत वितरणको लागि तराई जाने टुङ्गो लागेपछिको त्यो रातभर न खान मन लाग्यो, न निद्रा नै लाग्यो । कति बेला उज्यालो होला र यात्रा सुरु गर्ने भन्ने उत्सुकताले मन त्यसै त्यसै उडेको थियो । बिहान करिब १० बजे यात्रा सुरु गरियो ।

सबै घरहरु बगाएर पहिला घर थियो कि थिएन भन्नेजस्तो त्यो वातावरण हेर्दै मनमा धेरै पीडा भयो । दुःखमा सहयोग गर्न गएका हामी चिन्तित बनेर बसेर मात्र पनि भएन । भदौ ११ गतेबाट राहत वितरण कार्यमा जुट्यौँ । चितवनको चेपाङ, मुसहर र दलित बस्तीका अति प्रभावित ९६ घरपरिवारलाई राहत बाँडियो ।

जब म प्रभावित क्षेत्रमा पुगेँ र त्यहाँका बासिन्दाहरुको स्थिति देखेपछि मेरो मनमा धेरै पीडा भयो । उनीहरुको जिउमा राम्रो लुगा र सफा लुगा थिएन । खुट्टामा चप्पल थिएन । हामीले बाँडेको राहत पाउने र पकाएर खाने आशामा थिए साना बालबालिकाहरु । म साह्रै खुसी भएँ, जब हामीले दिएको राहतले धेरै बालबालिकाहरुको ओठमा हाँसो देखियो ।

घरमा ममी, बाबाले पकाएर दिएको खाना नमीठो भएको भन्दै खान नमान्ने मजस्ता बच्चाहरु अरुले राहत दिन्छन् र खाउँला भन्ने आशामा बसेको देख्दा मलाई कस्तो कस्तो नराम्रो फिल भयो ।  साह्रै दुःखी भएँ । सोचेँ — घरमा पकाएको खाना कम्प्लेन गरेर मात्र खाने बानी मैले अब छोड्नुपर्छ । अन्ततः त्यो बानी मैले छोड्ने निर्णय समेत गरेँ । साना साना भाइबहिनीहरु आफ्ना बाबु, आमाबाट बिछोडिएका थिए । त्यो अवस्था देख्दा मैले पनि ममीलाई धेरै सम्झिएँ । लाउन, खान, बस्न र पढ्नको लागि व्यवस्था कहिले हुन्छ भन्ने टुंगो नै देखिनँ ।

  • साना साना भाइबहिनीहरु आफ्ना बाबु, आमाबाट बिछोडिएका थिए । त्यो अवस्था देख्दा मैले पनि ममीलाई धेरै सम्झिएँ । लाउन, खान, बस्न र पढ्नको लागि व्यवस्था कहिले हुन्छ भन्ने टुंगो नै देखिनँ ।

हामीले बारामा ६० घरपरिवारलाई, सर्लाहीमा २४१ घरपरिवारलाई र रौतहटमा ३७० बाढी पीडित घरपरिवारलाई राहत वितरण गर्यौँ । हाम्रो राहत वितरणमा चामल, दाल, नुन, तेल, साबुन, सरफ, झुल, त्रिपाल, म्याट, सर्वोत्तम पीठो तथा कपडाहरु जस्ता सामग्री रहेका थिए ।

ती ठाउँहरुमा हामी मात्र नभएर अरु पनि थुप्रै संघ÷संस्थाहरुले राहत वितरण गरिसकेका रहेछन् । तर कसैले पनि स्कुल जाने विद्यार्थीहरुको लागि स्टेसनरी सामानहरु वितरण गरेका रहेनछन् । सबैले खाद्य सामग्रीलाई मात्र प्राथमिकता दिएका रहेछन् । फेरि हामीले पनि खाद्य सामग्री नै लगेका थियौँ ।

अनि मलाई लाग्यो — सबै ठाउँमा भएको प्राकृतिक विपत्तिमा विद्यार्थीको लागि कसैले पनि केही नदिने रहेछन् । त्यहाँ उनीहरुको लागि आवश्यक राहत नै लगेको देखिनँ मैले । मैले पाँच दिन तराई बस्दा धेरै बालबालिकाहरु पढ्न नपाएकोमा गुनासो गरिरहेका देखेँ । हुन त म पनि राहत वितरणको लागि आफ्नो पढाइ छोडेर नै गएको थिएँ तर फर्केपछि जान सक्थेँ नि ! तर ती बालबालिकाले कहिलेदेखि पढ्न जान पाउने हुन्, कुनै टुङ्गो नै थिएन ।

त्यसैले मैले राहत वितरणबाट बुझेअनुसार अबका दिनहरुमा हामीले बालबालिकाको पढाइलाई केन्द्रित गर्दै उनीहरुलाई विद्यालय जाने वातावरण सिर्जना गर्न जरुरी छ । दशैँपछि लगत्तै हामी पुनः त्यही ठाउँका बालबालिकाहरुको लागि स्टेसनरी सामान लिएर जाने तयारीमा छौँ । त्यसपछि भने मनमा केही आनन्द हुन्छ कि !

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै