• २०८१ बैशाख १३ बिहीबार

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माद्वारा अदालतमा आत्मसमर्पण

kharibot

महोत्तरी।  प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । सोमबार बिहान ११ बजेको समयमा राज्यमन्त्री शर्मा आफना सुरक्षाकर्मीसहित अदालत पुगी आत्मसमर्पण गरेका हुन् । 

मधेश आन्दोलनको क्रममा वि.स. २०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको आन्दोलनकारीहरुले हत्या गरेका थिए । विकको हत्यामा संलग्न रहेको अभियोगमा राज्यमन्त्री शर्मासहित २८ जनामाथि उच्च अदालत जनकपुरमा मुद्दा दायर छ ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएको भन्दै उच्च अदालत जनकपुरले दिएको आदेशअनुसार जिल्ला अदालतमा राज्यमन्त्री शर्माले आत्मसमर्पण गरेका हुन । 

फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ चैत २८ गते परमादेशका लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन् । 

राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही) लाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो । मेयर मिश्र अझै पक्राउ परेका छैनन् । राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन् ।

तेस्रो मधेश आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको २०७२ भदौ २५ गते हत्या गरिएको थियाे। आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदिप साह पूर्पक्षका लागि कारागार चलान भइसकेका छन्। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै