• २०८१ बैशाख १३ बिहीबार

राससलाई प्रादेशिक ढाँचामा लैजान प्रदेश ५ का मुख्यमन्त्रीको सुझाब

kharibot

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समिति (रासस)लाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गरेका छन् ।

बुटवलमा मुख्यमन्त्री पोखरेलसँग सोमबार राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को नेतृत्वमा गएको टोलीसँगको छलफलमा उनले प्रादेशिक बुलेटिन प्रकाशनको अवधारणा प्रशंसनीय भएको बताए ।

उनले भने, “प्रदेशको आफ्नो मिडिया छैन, त्यसैले प्रादेशिक मिडिया इन्ष्टिच्युट खडा गर्न पनि सकिन्छ ।” उनले राससले समाचारको पनि स्रोत हुने क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै बाध्यताले होइन स्वभाविक तवरले राससको अपनत्व महसुस हुन सक्नुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले राससले सङ्घीय र प्रदेशसभा तथा स्थानीय तहका सबै सूचना सम्प्रेषणको जिम्मेवारी लिन सक्ने बताउँदै प्रादेशिक मनोविज्ञानलाई आत्मसात् गर्न सक्नुपर्ने विचार व्यक्त गरे ।

राससका अध्यक्ष श्यामलले राससको कानूनी र संरचनागत रुपान्तरण गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका विषयलाई जनताको अपेक्षाअनुसार गुणस्तरीय र विश्वसनीय समाचार सम्प्रेषण गर्ने कार्यलाई तीव्रता दिइएको बताए ।

उनले राससको प्रादेशिक संरचनाको विकासको लागि प्रदेश सरकारबाट विशेष ध्यान जाने अपेक्षा गरे । राससले प्रदेशका सबै सञ्चारमाध्यमका लागि मूल समाचार स्रोतको काम गर्ने तथा मिडिया परिचालनको नेतृत्व गर्न सक्ने भएकाले यस संस्थाप्रति प्रदेशले अपनत्वको भाव दर्शाउनुपर्ने अध्यक्ष श्यामलले बताए । सो अवसरमा मुख्यमन्त्री पोखरेललाई अध्यक्ष श्यामलले राससको प्रदेश सेवा र समाचारको प्रभावकारिता सहितको प्रस्ताव हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै