• २०८१ बैशाख ८ शनिबार

शैक्षिक सुधारका लागि सहकार्य

kharibot

पर्वत । पर्वतको कुस्मा र फलेवास नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि काठमाडौँ विश्व विद्यालयसँग सहकार्य गर्दै छन् ।

कुस्मा र फलेवास नगरपालिकाले नगरभित्र शैक्षिक कार्ययोजना निर्माण तथा गुणस्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने बताएका छन् ।

कुस्मा नगरपालिका र फलेवास नगर कार्यपालिकाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा गरिएका छुट्टाछुट्टै कार्यक्रममा दुवै नगरपालिकाभित्रको शैक्षिक क्षेत्रको अवस्था, आवश्यकता तथा विद्यालयको गुणस्तर वृद्धिका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्यको आवश्यकता औँल्याएका छन् । दुवै नगरपालिकाले छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

फलेवास नगरपालिकाका प्रमुख पद्मपाणी शर्माले नगरपालिकाले बजेटको ठूलो हिस्सा शिक्षाका क्षेत्रमा विनियोजन गर्दै आएको र गुणस्तर अभिवृिद्धका लागि हरेक क्षेत्रमा सहकार्य गर्ने गरी काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्ने तयारी भएको बताए ।

कुस्मा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा वडा नं ११ का अध्यक्ष शिवप्रसाद पौडेलले पनि नगरको शैक्षिक अवस्था सुधारका लागि केयुसँग सहकार्य गर्ने तयारी भएको बताए ।

शैक्षिक सुधारको लागि शिक्षक, अभिभावक, समुदाय र शैक्षिक सङ्घ संस्थाबीच आपसी, सहकार्य समन्वय, र साझेदारीको आवश्यकता रहेको काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका सहायक डिन प्रा डा बालनन्द लुइँटेलले बताए ।

काठमाडौँ विश्वविद्यालयका प्राडा लक्ष्मण ज्ञवालीले एउटा विद्यालय सुधारका लागि सबैभन्दा बढी भूमिका प्रधानाध्यापकको हुने भएकाले प्रअको भूमिका प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए । उनले शैक्षिक नीति निर्माण तथा कार्यान्वयनमा पनि विद्यार्थी तथा समुदायको सहभागिताबाट मात्रै लक्ष्य प्राप्त गर्न सहज हुने बताए ।

यस्तै अर्का सहायक प्रा डा धनपति सुवेदीले शैक्षिक सुधारको लागि समुदायलाई शैक्षिक क्षेत्रमा जोड्नु पर्ने विचार व्यक्त गरे ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै