• २०८१ बैशाख ६ बिहीबार

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा

kharibot

फाइल तस्विर । 

चितवन  / गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन  । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए । 

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने । एक प्रश्नमा मन्त्री थापाले भने , “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए । 

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको उनले बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने , “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।” 

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको छ भने । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै