• २०८१ बैशाख ७ शुक्रबार

एशिया कप क्वालिफायर प्रशिक्षण क्याम्पका लागि १९ खेलाडी छनौट, को को परे ?

kharibot

काठमाडौँ।  भदौ १३ देखि हुने एशिया कप क्वालिफायरको लागि प्रशिक्षण क्याम्पका लागि १९ सदस्यीय खेलाडीको छनौट गरिएको छ।

क्याम्पका लागि छानिएका खेलाडीमा शरद भेस्वाकर पहिलो एकदिवसीय खेल्ने क्रममा घाइते भएका कारण परेका छैनन्। उनको दाहिने हातको कान्छी औला भाँचिएका कारण ४ हप्ता आराम गर्नुपर्ने भएकाले उनी टिममा परेका छैनन्। १९ सदस्यीय टिममा नेदरल्यान्ड्ससँग खेलेका अन्य खेलाडीका अलावा प्रदीप ऐरी, सुनिल धमला, सुशान भारी, विनोद भण्डारी, किशोर महतो र सगर पुन टिममा परेका छन्।  

एशिया कप क्वालिफायरको क्याम्पमा जाने खेलाडीलाई राष्ट्रिय प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छानेका हुन्। क्याम्प आगामी साउन २९ गते (अगस्ट १४) देखि सुरु हुने जानकारी नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले दिएका छन्। क्याम्पपछि एशिया कप क्वालिफायरका लागि अन्तिम १५ खेलाडीको छनौट हुने छ।  

क्याम्पका लागि छानिएको १९ सदस्यीय नेपाली टिम: 

पारस खड्का ( कप्तान), अनिलकुमार शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल (उपकप्तान), करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहमद अरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुबाश खकुरेल, बिनोद भण्डारी, प्रदीप ऐरी, सुनिल धमला, सुशान भारी, किशोर महतो र सागर पुन ।

साथै एशिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोदभाइ देसाइ साउन २९ गते नेपाल आउने भएका छन् ।

४३ वर्षीय देसाईलाई नेपालको शिफारिस अनुसार एसीसीले एशिया कप तयारीका लागि नेपाल पठाउने भएको हो । भारतका लेभल सी प्रशिक्षक देसाइ अर्को सातासम्ममा नेपाल आइपुग्ने बताइएको छ ।पछिल्लो समय देसाईले भारतीय 'ए' टिम र फर्स्ट क्लास क्रिकेटरलाई प्रशिक्षण दिदै आएका छन्। उनी हाल अमेरिकाको क्रिकेट टिमका कार्यकारी सल्लाहकार हुन् भने गुजरात क्रिकेट एसोसियसनका छनौटकर्ता पनि हुन्। 

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता आगामी भदौ १३ देखि २१ सम्म क्वालालाम्पुरमा हुने भएको छ । जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् । 

क्वालिफायर प्रतियोगिताको तालिका यस प्रकार रहेको छ :

अगष्ट २९ (भदौ १३ गते) : मलेसिया भर्सेज हङकङ, नेपाल भर्सेज ओमान, युएई भर्सेज सिंगापुर 
अगष्ट ३० (भदौ १४ गते) : युएई भर्सेज नेपाल, हङकङ भर्सेज सिंगापुर, मलेसिया भर्सेज ओमान
सेप्टेम्बर १ ( भदौ १६ गते) : ओमान भर्सेज सिंगापुर, मलेसिया भर्सेज नेपाल, युएई भर्सेज हङकङ
सेप्टेम्बर २ (भदौ १७ गते) : हङकङ भर्सेज ओमान, मलेसिया भर्सेज युएई, नेपाल भर्सेज सिंगापुर 
सेप्टेम्बर ४ (भदौ १९ गते) : मलेसिया भर्सेज सिंगापुर, युएई भर्सेज ओमान, नेपाल भर्सेज हङकङ
सेप्टेम्बर ६ (भदौ २१ गते) : फाइनल          

एशिया कपमा भदौ ३० गते देखि असोज १२ गतेसम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् । छनौट हुने देशले भदौ ३१ मा  पाकिस्तानसँग र असोज २ मा भारतसँग खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै