• २०८१ बैशाख १२ बुधबार

बालविवाहपछि चरम यातना भोगेकी एक किशोरीको उद्धार

kharibot

गौशाला। महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक नाबालिकाको जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ । 

ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट करिब १५ वर्षीया नाबालिकासँग भारतमा गएर दोश्रो विवाह गरेको थियो । विवाहपछि ठाकुरले ती नाबालिका पत्नीलाई कुटपिट, अश्लील गालीगलौजलगायत यातना दिँदै आएको थियो । मंगलबार पुनः चरम यातना दिएपछि नाबालिका उनको घर छोडी भागेको थियो । 

पतिको चरम यातना सहन नसकेर घर छोडी भागेकी नाबालिकालाई प्रहरीले उनकै छिमेकबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । ती नाबालिकासँग सोधपुछ र आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

घटनापश्चात् नाबालिकाका पति रञ्जीत ठाकुर घरबाट भारततर्फ फरार भएका छन् । प्रहरीले ठाकुरको व्यापक खोजतलास गरिरहेको र उनीमाथि बालविवाहको मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

यसअघि पनि रञ्जीतले भारतमा विवाह गरेको एक युवती (पहिलो पत्नी) लाई चरम यातना दिएपछि उनी घर छाडेर हिँडेको र उनको हालसम्म कुनै अत्तोपत्तो नरहेको स्थानीवासीको भनाइ छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै