रिपोर्टिङ र मानसिक आघातका खतरा 

खरीबोट

काठमाडौँ। कतिपय घटना यस्ता हुन्छन् जसलाई कभर गर्ने क्रममा रिपोर्टरलाई मानसिक आघात पर्न सक्छ । युद्ध, दुर्घटना, प्राकृतिक प्रकोप, कानूनी मुद्दा आदिको रिपोर्टिङ गर्दा यस्तो समस्या आउन सक्छ । 

पत्रकारहरू देशकै आँखा र कान हुन् । उनीहरूले जे देख्छन् र सुन्छन् अनि जे व्यक्त गर्छन्, त्यसैलाई देशले विश्वास गर्छ । प्रायः पत्रकारहरूलाई यस्तो घटनाको बयान दिन बोलाइन्छ, जसको प्रत्यक्ष अनुभवको अवसर अन्य मानिसलाई त्यति मिल्दैन । त्यस्ता घटनाले मानिसलाई मानसिक आघातमा पु¥याउन पनि सक्छ । पत्रकार पनि मानिस नै हुन् । पत्रकारले जुन घटनाको कभर गर्छन्, त्यस घटनाले तिनीहरूलाई पनि पक्कै प्रभाव पार्छ । प्रभावित हुनु मानवीय गुण भएकाले यो पत्रकारको कुनै गल्ती होइन । 

बीबीसीका विदेश संवाददाता मार्क ब्रेनले पत्रकारितामा तीस वर्ष व्यतीत गरेका छन् । उनी एक मनोचिकित्सक र यूरोपियन सेन्टर फर जर्नालिजम एण्ड ट्रमाका संस्थापक हुन् । उनको सल्लाह यसप्रकार छ : 

पत्रकार हुनुको अर्थ तपाईं कुनै बालकहरूका प्रिय कार्टून पात्र सुपरम्यानजसरी कवच पहिरिएर घटनास्थलमा जानुहुन्छ र घटनाको कभर गर्नुहुन्छ भन्ने होइन । सबैभन्दा पहिले तपाईं कुनै पनि कामको लागि जहाँ जानुहुन्छ, त्यहाँ आफूप्रति इमानदार भई यी कुरामा विचार गर्नुहोस् :

१. घटनास्थलमा हुन सक्ने खतरा 
२. तत्काल देखा पर्न सक्ने चुनौती 
३. तपाईंको आफ्नो मानवीय सीमा 

तपाईं रिपोर्टिङको लागि कतै जाँदै हुनुहुन्छ भने आफ्नो कार्यबारे सम्बन्धित मानिसहरू जस्तै आफ्नो घरपरिवार, सहकर्मी, नजिकको साथी आदिलाई थाहा दिनुहोस् । त्यसपछि रिपोर्टको विषयवस्तु र रिपोर्टिङको लागि जाने स्थानको अवस्थाबारे पत्ता लगाउनुहोस् जसको कभर गर्न तपाईं जाँदै हुनुहुन्छ । यदि तपाईं पूर्वतयारीका साथ जानुहुन्छ भने तपाईंको चिन्ता कम हुन सक्छ । 

रिपोर्टिङको क्रममा तपाईंले मृत्युलाई नजिकबाट नियाल्न पनि सक्नुहुन्छ । त्यहाँको अवस्था तपाईंले सोचेजस्तो नहुन सक्छ, त्यहाँको अवस्थामा नाटकीय परिवर्तन हुन सक्छ र यसले तपाईंलाई मानसिक आघात पु¥याउन सक्छ । तपाईं एक मानिस भएकाले तपाईंले विभिन्न चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । 

कसरी सामना गर्ने ? 

तपाईंले जुन काम गर्दै हुनुहुन्छ, त्यो महत्त्वपूर्ण छ भन्ने ध्यानमा राखेर सर्वप्रथम तपाईं आफू सुरक्षाकर्मी नभई पत्रकार हुँ भन्ने विचार गर्नुहोस् । कहिलेकाहिँ यो निकै गाह्रो कुरा हुन सक्छ, तपाईंले कठिन निर्णय लिनुपर्ने हुन सक्छ । तपाईंले कसैलाई बचाउने कि रिपोर्टिङ गर्ने भनेर । तपाईंले आफूलाई कठोर बनाएर, आफूलाई त्यस स्थितिको लागि पूर्णरूपमा तयार गरेर त्यस स्थानमा जानुपर्छ । यस अवस्थामा आफ्नो मनमस्तिष्कलाई दृढ राखेर तत्काल सही निर्णय लिनुपर्ने चुनौती तपाईंको सामु आउन सक्छ । तपाईंले आफू त्यसबाट प्रभावित हुनबाट बचेर ट्रमा (मानसिक आघात)मा नपरी कार्य सम्पन्न गर्न हरेक उपाय अपनाउनुपर्छ । जस्तै, सहकर्मीको सरसल्लाह तथा सहायता लिने, सम्भव भएमा आफ्नो अवस्था मित्र तथा परिवारलाई बताउने आदि । 

यदि कुनै घटनासँग व्यक्तिगत सम्बन्ध भए के गर्नुहुन्छ ? 

कुनै पनि घटनाको सकारात्मक र नकारात्मक प्रभाव हुन्छ । व्यक्तिगत जीवनसँग त्यसको सम्बन्ध भए कि त्यसबाट तपाईं टाढा भाग्ने अथवा त्यसलाई महत्त्वपूर्ण मानेर आफ्नो व्यक्तिगत अवधारणालाई मिसाएर घटनाको कभर गर्ने सम्भावना रहन्छ । तथापि, पत्रकारको हैसियतले त्यसबाट प्रभावित नभई घटनाको सत्यतथ्य उजागर गर्नु तपाईंको कर्तव्य हो । तथापि तपाईंले उजागर गरेको घटनाले कहाँ कसरी प्रभाव पार्न सक्छ, त्यसको भने विचार गर्नै पर्छ । यदि तपाईं घटनाप्रति उदारता नदेखाई, लिप्त नभई प्रत्यक्षदर्शी बनेर घटनाको उजागर गर्नुहुन्छ भने तपाईंले आफ्नो पेशालाई न्याय गर्दै हुनुहुन्छ र तपाईं पनि सन्तुलित हुनुहुन्छ । 

मानसिक आघातका लक्षण 

मानसिक आघातको असर घाउचोट लागेजस्तै हुन्छ । मानसिक आघात अथवा साइकोलोजिकल ट्रमाको लक्षणलाई सामान्यतया तीन श्रेणीमा विभाजन गरिएको छ । 

१. कुनै कुराले झस्किरहनु 

तपाईं कुनै कुरा जस्तै दुःखदायी दृश्य, सम्झना अथवा डरलाग्दो सपना आदिलाई दिमागबाट निकाल्न सक्नुहुन्न र यसबाट झस्किरहनुहुन्छ भने तपाईंलाई मानसिक रूपमा आघात परेको हुन सक्छ ।

२. कुनै कुरा टाल्ने कोसिस गर्नु 

तपाईं कुनै स्थान विशेषमा जान हच्किनुहुन्छ अथवा तपाईंलाई त्यहाँ केही नराम्रो हुन सक्छ भनेर जान डर लाग्छ अनि तपाईं संवेदनाहीन बन्नुहुन्छ, अरुको दुःखले तपाईंलाई कुनै प्रभाव पार्दैन भने यो मानसिक आघातको लक्षण हुन सक्छ ।  

३. अत्यधिक तनाव 

तपाईंको मुटु छिटोछिटो धड्किन थाल्छ, तपाईं विना कारण असिनपसिन हुनुहुन्छ र कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न सक्नुहुन्न भने यो पनि ट्रमाको लक्षण हुन सक्छ । 
यदि तपाईं कुनै बन्दुकधारीबाट बच्न भाग्नुहुन्छ भने माथि उल्लिखित सबै कुरा हुन सम्भव छ । तर, यदि तपाईं राति निद्रामा अचानक उठ्नुहुन्छ, मुटु जोडले धड्किन्छ, तपाईं असिनपसिन हुनुहुन्छ, तपाईंलाई निकै डर लाग्छ भने तपाईंलाई कुनै घटनाले सताइरहेको छ र यो मानसिक आघातको सङ्केत हो यो । 
मानसिक आघातबाट बच्न यसरी आफ्नो ध्यान राख्नुहोस् : 

    निद्रा पूरा गर्नुहोस् । 
    नियमित र सन्तुलित आहारविहार गर्नुहोस् 
    लागूपदार्थबाट टाढा रहनुहोस् 
    नियमित व्यायाम गर्नुहोस् 
    ताजा हावामा रहनुहोस् 
    आफ्नो अनुभवबारे कुराकानी गर्नुहोस् 

आफ्नो अनुभवबारे कुरा गर्नाले दिमाग र शरीरलाई आराम मिल्छ र मानसिक आघातबाट प्रभावित हुने सम्भावना कम हुन्छ । त्यस्तै, घटनास्थलमा जाँदा आवश्यक तयारी गर्नु जरुरी छ । पत्रकारहरू जोखिमयुक्त स्थानमा पनि जानुपर्ने भएकाले त्यस्तो स्थानमा जानुपूर्व शारीरिक प्रशिक्षण र मनोचिकित्सकको सरसल्लाह लिनु आवश्यक छ । 
सहयोग लिन कहिल्यै नहिच्किचाउनुहोस् :

सबैभन्दा पहिला तपाईंको पेशाबारे बुझ्ने तपाईंका सहकर्मी नै हुन्छन्, उनीहरूसँग कुनै पनि समस्या भएमा सरसल्लाह लिनुहोस् । त्यस्तै, आफ्नो अत्यन्त नजिकका साथी वा परिवारका सदस्य जसलाई तपाईंले विश्वास गर्नुहुन्छ र जसले तपाईंलाई राम्ररी बुझ्छ भन्ने मान्नुहुन्छ, ऊसँग आफ्नो मनका सबै कुरा बाँड्नुहोस् । त्यस्तै, तपाईं कुनै महामानव नभएर एक साधारण मानिस हुनुहुन्छ भन्ने सोचेर जोकोहीसँग पनि सहायता लिन लाज नमान्नुहोस् । मानसिक आघातबाट बच्न मनोचिकित्सकको परामर्श महत्त्वपूर्ण हुन सक्छ ।  

तर, यी काम भने कहिल्यै नगर्नुहोस् :

    आफूले भोगेका भोगाइ र सम्झनाबारे बताउन लजाउने, 
    डरलाग्दो सपनालाई मनमा नै लुकाइराख्ने, 
    मनको पीडाबाट बच्न लागूपदार्थको सहारा लिने, 
    चुपचाप एकान्तमा बस्ने । 

बाढी, पहिरो, भूकम्प आदि प्राकृतिक प्रकोप, त्यस्तै सडक दुर्घटना, दङ्गाफसाद, आन्दोलन आदि घटना प्रायः घटिरहने र सर्वसाधारण पनि त्यस्तो घटनाको प्रत्यक्षदर्शी बन्ने गरेकाले माथि उल्लिखित उपाय पत्रकारलाई मात्र नभएर सर्वसाधारणलाई पनि उपयोगी छन् । 


 

सम्बन्धित समाचार

दश प्रविधि कम्पनी जसले १० वर्षमा हाम्रो जीवनशैली परिवर्तन गरे

पछिल्ला दश वर्षमा प्रवधिको क्षेत्रमा उल्लेखनीय विकास भयो । यस अवधिमा धेरै प्रविधि कम्पनी स्थापित÷विकसित भए र धेरैले विश्वलाई नयाँ दिशातर्फ मोडे । दश वर्षअगाडि हामीले प्रविधिको क्षेत्रमा तीव्र गतिमा

जन्मदिनमा केक हैन, बिरुवा रोपौँ !

सुर्खेत। पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ ।  जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो

अनुहारको समस्याबाट छुटकारा पाउन यस्ता छन् घरेलु उपाय  

काठमाडौँ । सामान्यतया पेटको गडबडीको कारणले गर्दा अनुहारको छालामा असर समस्या देखिने गर्दछ । अनुहारको छालाको समस्याले धेरै मानिसलाई सताउने गरेको छ । उपचारका लागि धेरै विधिहरु प्रयोग गरिरहेका हुन्छौ । तर

गर्मीमा तरबुजासँगै यसको बिउ पनि खानुस, यस्ता छन् फाइदा 

काठमाडौँ । अहिले गर्मीको मौसम छ । गर्मीमा विभिन्न किसिमका फलफुल जस्तै आप, केरा, स्याउ, तरबुजाजस्ता फलफुल हामीले खाइरहेका हुन्छौ । अत्यधिक गर्मीमा तरबुजा खानु फाइदा जनक मानिन्छ । तरबुजामा एक