• २०८१ बैशाख ७ शुक्रबार

आणविक निरस्त्रीकरणमा प्रतिबद्धता पूरा गर्न उत्तर कोरियासँग आग्रह

kharibot

सिओल। दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । 

सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च (एआरएफ) का विदेश मन्त्रीहरुको सम्मेलन पश्चात सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सबै सम्बद्ध पक्षले निरन्तर कार्य गर्नु पर्दछ ।” 

“विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आफ्नो आणविक निःशस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न एवं थप आणविक र क्षेप्यास्त्र परीक्षणका कार्य नगर्न आग्रह गरेका छन्,” विज्ञप्तिमा थप भनिएको छ । वक्तव्यमा मन्त्रीहरुले अप्रिल र मे महिनामा दुई कोरियाको सीमावर्ती पानमुनजोङमा उत्तर र दक्षिण कोरियाका नेताहरुको शिखर बैठक तथा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाली नेता कीम जोङ उनबीच भएको शिखर बैठकको स्वागत गरेका छन् । 

ती शिखर सम्मेलनमा उत्तर कोरियाली नेता कीमले कोरियाली द्वीपमा पूर्ण आणविक निरस्त्रीकरणप्रति प्रतिबद्धता जनाउनुभएको थियो । यसलाई घटनालाई सकारात्मक सन्देशका रुपमा लिइएको थियो, तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा स्पष्ट थिएन । 

मानवीय सरोकार समेतका कतिपय विषयमा उत्तर कोरियालाई मद्दत गर्न केही राष्ट्रका विदेश मन्त्रीहरुले तत्परता पनि देखाउनुभएको विज्ञप्तिमा उल्लेख छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै