आफन्तकै योजनामा बाराका अंकितको हत्या, यसरी भएको थियो घटना

खरीबोट

बारा। बाराको जीतपुरका व्यापारी ललनप्रसाद कलवारका ९ वर्षिय छोरा अंकीत गुप्ताको अपहरण र हत्या आफन्तकै योजनामा भएको खुलेको छ । 

इलाका प्रहरी कार्यालय सिमरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा घटनामा संलग्न चारजना अभियुक्त सार्वजनीक गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले अंकीतको अपहरण र हत्याको मुख्य योजनाकार नातामा भिनाजु पर्ने प्रदिप कुमार कलवार रहेको जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका १३ रानीघाट बस्ने घटनाका मूख्य योजनाकार कलवार सहित अंकीतको अपहरण र हत्यामा संलग्न पर्सा जिल्ला पोखरिया नगरपालिका ७ घर भइ हाल वीरगञ्ज बस्ने सिपाही भनिने रामप्रवेश साह, पर्सा गोविन्दपुर घर भई वीरगञ्ज महानगरपालिका २४ बस्ने पार्वती देबी र भारत विहार पश्चिम चम्पारण जोगापट्टी थाना बस्ने सुरज गीरीलाई प्रहरीले आइतबार सार्वजनीक गरेको हो । 

कलवारकै योजना अनुसार गत जेठ २२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारबाट अंकीतको अपहरण भएको र फिरौती रकम समेत लिएर गत साउन १ गते हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक राठौरले जानकारी दिए । 

सबै अभियुक्त वीरगञ्जबाट पक्राउ परेको दाबी पत्रकार सम्मेलनमा गरेपनि प्रहरी उच्च स्रोतका अनुसार घटनाका मुख्य योजनाकार भनिएका कलवारलाई १८ साउनमा प्रहरीले भारत विहारको पश्चिम चम्पारण स्थित जोगापट्टी डुमरीयाबाट पक्राउ गरेको हो । 

घटनामा संलग्न तीनजना पक्राउ परिसकेपछि उनी विहार छिरेका थिए । प्रहरीले गत साउन ७ गते घटनामा संलग्नमध्ये रामप्रवेशलाई पक्राउ गरेको थियो । उनकै वयानका आधारमा पार्वतीदेवी र सुरज गीरीलाई ८ गते पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राठौरले बताए । 

यसरी भएको थियो घटना

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार प्रदिपको रामप्रवेसंग पहिलेदेखीकै चिनजान थियो । पेशाले सवारीचालक रहेका रामप्रवेशलाई प्रदिपले बच्चाको अपहरण गरि फिरौती असुल्ने योजना सुनाए । 

आर्थिक प्रलोभनमा परे पछि रामप्रवेशले प्रदिपको योजना अनुसार जीतपुर बजारमा आएर बच्चाको गतिविधि निगरानी गर्ने कार्यमा प्रदिपलाई सहयोग गरे । केहि समयदेखी बच्चाको गतिविधि नियालीरहेका उनीहरुले जेठ २२ गते साँझ अंकीतलाई जीतपुर बजारबाट अपहरण गरी मोटरसाइकलमा राखेर लगेको प्रहरीको भनाई छ । 

नातामा भिनाजु पर्ने प्रदिपले बोलाएपछि अंकीत मोटरसाइकलमा बसेको र उनीहरुले जीतपुर पछाडीबाट पर्सा जिल्लाको बाटो हुँदै वीरगञ्ज पुर्याएका थिए । ‘भिनाजुलेनै लगेकाले बच्चा लैजान उनिहरुलाई सहज भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने ।

बच्चाको अपहरणपछि पार्वती देबी र सुरज गीरिले बच्चा लुकाउने र फिरौती बुझ्ने कार्यमा भूमिका खेलेको प्रहरीले जानकारी दियो । अपहरणकारी रामप्रवेशकी भाउजु पार्वतीदेवीले बच्चाको रेखदेख गर्ने र वालकको परिवारसँग फिरौती बुझ्ने कार्यमा सहयोग गरेको प्रहरीको भनाई छ । 

पारिवारिक श्रोतलाई उद्दृत गर्दै बारा प्रहरीले जनाए अनुसार उनिहरुले दुई पटक गरेर कुल ६४ लाख भारतिय रुपैयाँ फिरौती लिएका थिए । भारतमा फिरौती बुझेका उनिहरुले सुरजमार्फत पटक पटक परिवारलाई धम्काउने र फिरौती माग्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

अपहरणको मुख्य योजनाकार प्रदिपलाई बच्चाले राम्ररी चिन्ने भएकाले उनिहरुले फिरौती बुझेपछि वालकको हत्या गरेको प्रहरीको भनाई छ । ‘भिनाजुनै भएकाले अप्ठ्यारोमा पर्न सक्ने भन्दै प्रदिपकै योजनामा बालकको हत्या भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने । बारा प्रहरीले अपहरणमा प्रयोग भएको विआर २२ जे ४७५७ नम्बरको भारतिय मोटरसाइकल, ८ एमएमको २ थान गोली र ७ लाख १५ हजार रुपैयाँ रामप्रवेशको घरबाट बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआइबी र २ नम्बर प्रदेश प्रहरी कार्यालय र भारतिय प्रहरीको  संयुक्त पहलमा घटनाको अनुसन्धान गरि चारजनालाई पक्राउ गरिएको र घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

अझै हुन बाँकी छ शवको पहिचान

जीतपुरबाट अपहरीत अंकीतको हत्याका अभियुक्तहरु सार्वजनीक भइसकेपनि अंकीतको शवको पहिचान भने झौ पुष्टि हुन बाँकी छ । गत साउन १ गते वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुर स्थित गण्डक नहरमा एक वालकको वेवारीसे शव भेटिएपछि प्रहरीले सो शवलाई डिएनए परिक्षणका लागि पठाएको छ । 

बालकका परिवार र प्रहरी समेतले सो शवको प्रकृति र बालकले घाँटीमा लगाएको मालाका आधारमा शव अंकीतकै भएको बताएका छन् तर सोहि शव अंकीतको रहेको आधिकारीक पुष्टि हुन भने बाँकी छ ।‘अपहरित वालकको हत्या गरेको र शव गाडेको अभियुक्तहरुले समेत स्विकार गरेका छन् यद्दपी शवको डिएनए रिपोर्ट भने आइसकेको छैन’ प्रहरी प्रवक्ता राठौरले भने ।

सम्बन्धित समाचार

पचास किलो गाँजा तथा ३५ सय लिटर अबैध मदिरा नष्ट

बारा। ईलाका प्रहरी कार्यालय सिमरा बाराले पचास किलो गाँजा र तीन हजार पाँच सय लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति र स्थानमा नियमित चेक–जाँच

स्कुल बस चलाउने नाबालक पक्राउ 

बारा। बाराको पथलैया स्थित २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सड्कमा गम्भीर लापर्वाही गर्ने स्कुल बससहिँत त्यसका चालकलाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सिमरा स्थित माउण्ट एभरेष्ट ईंङ्गलिस

नेकपा बैठक : जननिर्वाचित प्रतिनिधिले पार्टीमा कार्यकारी पद नपाउने, केन्द्रीय कार्यालय धुम्बाराहीमा 

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको सचिवालय

छोरीको हत्या गरेको अभियोगमा प्रधानाध्यापकसहित ४ जना पक्राउ 

बारा। बारा प्रहरीले आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रधानाध्यापक ब्रजकिशोर मिश्रसहित ४ जना पक्राउ गरेको छ। गत असार १२ गतेको घटना पछि चौतर्फ़ि दबाबमा परेपछि प्रहरीले घटना भएको करिब डेढ महिना