• २०८१ बैशाख ८ शनिबार

जिसस गोरखामा काँग्रेसको मात्रै उम्मेदवारी

kharibot

गोरखा, आगामी साउन २० गते हुने जिल्ला समन्वय समिति, गोरखाको निर्वाचनका लागि नेपाली काँग्रेसले मात्रै मनोनयन दर्ता गराएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर काँग्रेसका तर्फबाट सभापति पदका लागि अशोक गुरुङ र उपसभापति पदका लागि जानुका अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापति पदका लागि मनोनयन दर्ता गराएका गुरुङ र उपसभापति पदका लागि मनोनयन दर्ता गराएकी अधिकारीका प्रस्तावक गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त छन् भने समर्थकमा धार्चे गाउँपालिकाका उपप्रमुख फूलमाया गुरुङ रहेका छन् । गुरुङ सिरानचोक गाउँपालिका–१, केराबारी र अधिकारी शहीद लखन गाउँपालिका–८ बाट सदस्यमा विजयी भएका थिए ।

समन्वय समितिको सदस्यमा सुलीकोट गाउँपालिकाकी उजेली राना, गोरखा नगरपालिकाकी लक्ष्मी थापा मगर तथा अजिरकोटकी इन्द्रा गुरुङको उम्मेदवारी परेको छ । दलित तथा अल्पसङ्ख्यकमा सुलीकोटका तेजबहादुर बराम, खुल्लामा आरुघाटका राजु गुरुङ, चुमनुब्रीका छेवाङ ग्याल्जेन लामा र अजिरकोटका मानप्रसाद धितालको उम्मेदवारी परेको जानकारी मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले दिए ।

एघार स्थानीय तह रहेको गोरखामा वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट नौवटा तहको प्रमुख पदमा नेपाली काँग्रेस र दुईवटा तहको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको थियो ।

समन्वय समितिमा स्थानीय तहबाट विजयी प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । गोरखामा २२ मतदातामध्ये १६ काँग्रेस र ६ जना माओवादी केन्द्रका छन् । नेपाली काँग्रेसको बहुमत भएकाले अरू पार्टीले समन्वय समितिमा उम्मेदवारी दर्ता गरेका छैनन् । नेकपा (एमाले) र नयाँ शक्ति पार्टीले गोरखाका कुनै पनि स्थानीय तहमा जित हासिल गरेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै