• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तान निर्वाचन : पुराना दल भ्रष्टाचारको दलदलमा, नयाँ शक्तिको उदय

kharibot

काठमाडौँ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उहाँको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग (नवाज)ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् । 

जिन्ना पाकिस्तानका संस्थापक हुनुहुन्छ । सन् १९४७ अगष्ट १४ मा भारतबाट छुट्टिएर एक अलग मुस्लिम राष्ट्रका रुपमा पाकिस्तान स्थापना हँुदा उहाँकै नेतृत्वमा पाकिस्तान बनेको हो । तर उहाँको निधन भएकोले छोटो समयमात्र पाकिस्तानको नेतृत्व गर्न पाउनुभयो । 

भारतमा बृटिश विरोधी आन्दोलन र अलग्गै स्वतन्त्र मुस्लिम राज्यको माग राखेर गरेको आन्दोलनकै समयमा उहाँले स्थापना गरेको संगठन हो मुस्लिम लिग । यसैमार्फत त्यस समयको भारतका मुस्लिम समुदायका नागरिकले बेलायती उपनिवेशबाट स्वतन्त्र भई अलग्गै मुस्लिम राज्यको माग गरेका थिए । सन् १९४७ को अगष्ट १४ का दिन उक्त आन्दोलन सफल भयो र पाकिस्तान अलग्गै राज्य पनि बन्यो । पछि यस संगठनलाई राजनीतिक दलका रुपमा स्थापना गरिएको थियो । 

त्यसयताको संगठनमा नवाज शरिफसम्म आइपुग्दा त्यही लिगको विरासतका रुपमा यो लिग रहेको बताइन्छ । यसले पाकिस्तानमा प्रजातान्त्रिक धारको नेतृत्व गरेको र पाकिस्तानका संस्थापक जिन्नाको अनुयायीका रुपमा रहेको दाबी गर्ने गर्दछ । तर त्यस्तो लोकप्रियता भने पछिल्लो समयमा ह्रास आइरहेको छ । बुधवारको पछिल्लो आमनिर्वाचनले पनि यो देखाएको छ । पछिल्लो निर्वाचनमा यो दलले ६३ स्थानमा मात्र जित हासिल गरेको छ । 

पाकिस्तान पिपुल्स पार्टी, पिपीपी अर्काे त्यस्तै इतिहास बोकेको राजनीतिक दल हो । एकजना वरिष्ठ राजनीतिज्ञ जुल्फिकर अलि भुट्टोले सन् १९६० को दशकमा सो पार्टी स्थापना गर्नुभएको थियो । पछि उहाँले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा पनि काम गर्नुभयो । उहाँको हत्या भएपछि उहाँकी छोरी एवम् पाकिस्तानका पहिलो महिला प्रधानमन्त्री बेनिजर भुट्टोले नेतृत्व गर्नुभयो । पिपीपी पाकिस्तानको इतिहास बोकेको चर्चित राजनीतिक दल हो । 

अहिलेको निर्वाचनमा यस दलले ३९ स्थानमा मात्र जित हासिल गरेको छ । यहाँको संसद्को तल्लो सदनका २७२ स्थानका लागि गरिएको निर्वाचनमा यस दलले तेस्रो स्थानमा जित हात पारेको हो । यसलाई उक्त दलका कार्यकर्ताले निर्वाचनमा धाँधलीको संज्ञा दिएका छन् र उनीहरुले अर्काे निश्पक्ष र स्वतन्त्र निर्वाचनको माग पनि गरेका छन् । 

तर यी दुई दलको इतिहास यति गरिमापूर्ण भने यतिखेर छैन । किनभने अहिलेसम्म आइपुग्दा यी दुवै दललाई भ्रष्टाचारको आरोप लागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अरोपमा १० वर्ष जेल सजायँ सुनाइएको छ । उहाँ हाल जेलमा हुनुहुन्छ । उहाँसँगै उहाँकी छोरी पनि सोही आरोपमा जेल पर्नुभएको छ । उहाँ प्रधानमन्त्री छँदा गरेको भ्रष्टाचारको आरोपमा अदालतले लामो अनुसन्धानपछि उहाँलाई दशवर्षको जेल सजाय सुनाएको हो । 

त्यस्तै अर्काे दल पिपीपी पनि भ्रष्टाचारबाट अछुतो छैन । सन् २००८ को आमनिर्वाचनको प्रचार प्रसारका क्रममा उक्त दलको अध्यक्षसमेत रहेकी बेनिजर भुट्टोको हत्या भयो । तर चुनावमा उहाँको दलले बहुमत ल्यायो । उहाँका श्रीमान् असिफ अलि जर्दारी राष्ट्रपति बन्नुभयो । उहाँमाथि पनि भ्रष्टाचारको आरोप लाग्यो । अदालतले तत्कालीन प्रधानमन्त्रीलाई राष्ट्रपति माथि कारबाहीको आदेश दियो । तर प्रधानमन्त्रीले यस्तो कारबाही गर्न सक्ने कुरा थिएन । त्यसपछि अदालतले प्रधानमन्त्रीलाई नै कारबाही ग¥यो । पछि उहाँपनि पदमुक्त हुनुभयो । राष्ट्रपतिबाट निस्किएपछि जर्दारीमाथि भ्रष्टाचारको कारबाही गर्ने भनियो । 

यसरी इतिहास बोकेका यी दुई दल भ्रटाचारको दलदलमा फसेपछि पाकिस्तानमा नयाँ राजनीतिक शक्तिको विकल्प नागरिकले खोजेका थिए । राजनीतिमा भ्रष्टाचार यहाँ नियमितता जस्तै भएको छ । हुनत शरिफले आफूलाई पाकिस्तानको सेनाले फसाएको बताउनुभएको थियो । त्यस्तै जर्दारीको त्यतिबेलाको अभिव्यक्ति पनि त्यस्तै नै थियो । पाकिस्तानमा सेनाको प्रभावलाई कम आँक्न सकिँदैन । त्यसैले यी नेताको आरोपलाई होइन भन्न पनि सकिँदैन । तर अहिलेका लागि भने यहाँको प्रजातान्त्रिक धारका दुई ठूला र पुराना दलको नेतृत्वलाई यहाँका नागरिकले भ्रष्टाचारको आरोपमा फालेका हुन् भन्ने आम विश्लेषकको विचार छ । 

त्यसो त यो पछिल्लो आमनिर्वाचनमा भ्रष्टाचार एक संयोग र सुनियोजित नै बन्न पुगेको छ । किनभने यस पटकको निर्वाचनमा पहिलो दल बन्न सफल पाकिस्तान तेहरिक एसान, पिटीआइले शरिफका विरुद्धमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो । त्यसै मुद्दाबाट शरिफ जेल जानुभएको छ भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ । त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् । 

पाकिस्तान वास्तवमा अघिल्ला दशकमा सेना र आतंकवादको छायाँमा पर्ने गरेको थियो । अहिले आएर भने अवस्था फेरिएको छ । अहिले यहाँको राजनीति भ्रष्टाचारका कारणले अर्काेरुपमा देखिएको छ । त्यसका कारण पनि यहाँको राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । बुधबारको निर्वाचनले यो अवस्था स्पष्टरुपमा नै देखाएको छ । अनि यहाँको शक्तिशाली सेनाले पनि यस्तै वैकल्पिक शक्तिलाई आड दिएको पाइएको छ । सेनाले खुलेरै यो वास्तविकता नबोले पनि इमरान खानको दललाई उसको समर्थन रहेको देखिएको छ । 

बुधबारको निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल पिटीआइले सबैभन्दा धेरै स्थान ११४ मा जित हासिल गरेको छ । मुस्लिम लिगले ६३ र अर्काे पिपीपीले जम्मा ३९ स्थानमा विजय हासिल गरेको छ । यसरी हेर्दा पाकिस्तानी नागरिकले पनि भ्रष्टाचारको दलदलबाट माथि उठेर यहाँ एक नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको दलले यहाँका परम्परागत र पुरानो विरासत भएका दललाई विस्थापित गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ । 

हुनत यस निर्वाचनमा धाँधली भएको विपक्षी दलले बताएका छन् । मुस्लिम लिग र पिपीपीले सेनाले निर्वाचनमा धाँधली गरेको भन्दै अर्काे निर्वाचनको माग गरेका छन् । तर आफैँले सरकार गठन गर्नसक्ने सुविधाजनक बहुमत नपाए पनि पाकिस्तानमा क्रिकेटका पूर्व कप्तान खानले भने अर्काे दलसँग मिलेर सरकार बनाउने तयारी गर्नुभएको छ । सरकार बनाउन आवश्यक १३७ स्थान चाहिनेमा थप सासद उहाँले अर्काे कुनै दलबाट प्राप्त गर्नुहुने छ । उहाँलाई यहाँको प्रधानमन्त्रीका रुपमा चर्चा शुरु गरिएको छ । 

चुनाव जितेमा भ्रष्टाचारको अन्त्यगर्ने, आतंकवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा छन् उहाँका । त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उहाँले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्ने बारेमा यतिखेर पाकिस्तानमा चर्चा पनि शुरु भएका छन् । पाकिस्तानमा भएका यी चर्चाले उहाँलाई क्रिकेटको एक कप्तान कसरी सत्ताकै बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ । 

(राससका लागि एकराज पाठकको रिपोर्ट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै