• २०८१ बैशाख ६ बिहीबार

तनहुँको महेश आश्रमले काठमाडौंमा तीन दिने विद्वत् सम्मेलन गर्ने 

kharibot

काठमाडौं । तनहुँको देवघाटमा रहेको महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलले भोलिदेखि तीन दिने विद्वत् सम्मेलन गर्ने भएको छ । ९, १० र ११ गते काठमाडौंको पशुपतिस्थित शंकराचार्य मठमा हुने त्रिदिवसीय विद्वत् सम्मेलन आश्रमको रजत जयन्ती तथा प्रथम गुरुस्मृति महोत्सव २०७५ अन्तर्गत हुनलागेको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजीका अनुसार सम्मेलनमा नेपाल एवं भारतका विशिष्ट विद्वानहरूबीच संस्कृत शिक्षाका साथै पौरस्त्य दर्शनका बारेमा शास्त्रार्थ हुनेछ । उक्त कार्यक्रममा देश विदेशका विशिष्ट विद्वान्हरूको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । 

उक्त कार्यक्रममा संस्कृत क्षेत्रका विशिष्ट विद्वानहरूद्वारा कार्यपत्र प्रस्तुतिका साथै टीप्पणी एवं शास्त्रार्थ हुनेछ । प्रथम दिवसीय कार्यक्रमअन्तर्गत वरिष्ठ शैक्षिक अभियन्ता डा. निर्मलमणि अधिकारीको ‘समाजको सर्वपक्षीय समुन्नतिका लागि संस्कृत शिक्षा’ विषयक कार्यपत्र प्रस्तुत हुने छ । यसमा संस्कृतिविद् डा जगमान गुरुङले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी कार्यक्रमको दोस्रो दिन अर्थात् साउन १० गते दुईवटा कार्यपत्र प्रस्तुत हुनेछन् । वरिष्ठ शिक्षाविद् विद्यानाथ कोइरालाको ‘गुरुकुलीय शिक्षको प्रभावकारिताका लागि अवलम्बनीय शैक्षिक नीति’ विषयक कार्यपत्रमा वरिष्ठ इतिहासविद् प्रा. दिनेशराज पन्तले टिप्पणी गर्ने बताइएको छ ।

यसै दिनको अर्को सत्रमा वरिष्ठ समालोचक प्रा. राजेन्द्र सुवदीले ‘नेपालमा संस्कृत विद्याको गौरवाधानमा स्वामीज्यूको अवदान’ शीर्षकको कार्यपत्र प्रस्तुति रहनेछ । जसमा वरिष्ठ भाषाविद् प्रा डा. वासुदेव त्रिपाठीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । महोत्सवको अन्तिम दिन गुरुपूजन एवं समापन समारोहको आयोजन हुने भएको छ ।

महेश संन्यास आश्रमका संस्थापक श्री १००८ स्वामी रामानन्द गिरीको प्रथम गुरुस्मृति र आश्रमको रजत जयन्तीको सन्दर्भमा उक्त कार्यक्रमे आयोजना गर्न लागिएको हो । कार्यक्रममा प्राडा कमलाकान्त त्रिपाठी, प्राडा देवराज अधिकारी, प्राडा ऋषिराम पोखरेल, डा. गुरुप्रसाद सुवेदी, संस्कृतिविद् तथा शताब्दीपुरुष सत्यमोहन जोशी, प्राडा दीर्घराज घिमिरे, प्राडा श्रीधर लोहनी, प्रा शिवगोपाल रिसाललगायतका व्यक्तिहरुको उपस्थिति रहने जानकारी दिइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै