• २०८१ बैशाख १३ बिहीबार

पुष्पलालस्मृतिमा ओली—प्रचण्ड : रक्तपातको पृष्ठभूमिबाट आएर सत्याग्रहको सत्तोसराप 

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४०औँ स्मृतिसभामा आयोजित कार्यक्रममा दुई अध्यक्षले सत्याग्रह बस्ने र शान्तिपूर्ण विरोध गर्ने प्रतिपक्षी राजनीतिको चर्को आलोचना गरे । कसैको मरण भएको दिन अरु कसैलाई गाली गर्दा त्यो पुष्पलालको मृतआत्माप्रति कत्तिको श्रद्धाञ्जली भयो होला ?  

झन् सत्याग्रहमा २४ दिनसम्म भोक हडतालमा बसेरै माग पूरा गर्न लागिपरेका डा. केसीको आलोचना र प्रतिपक्षमाथि अध्यक्षद्वयले लगाएको ‘कांग्रेसले डा. केसीको लाससँग राजनीति गर्न खोजेको’ आरोपले पुष्पलालको आत्मालाई शान्ति मिल्यो कि गह्रौँ उच्छ्वास ? १० वर्षसम्म खुकुरी, खुँडा र बन्दुकको नालको राजनीति गरेर नेपाली नेपालीबीच काटमार गरेर यँहासम्म आएका प्रचण्डले पुष्पस्मृतिमा कांग्रेसमाथि लगाएको आरोप निकै हास्यास्पद देखियो । अचम्म त के भने डा.केसी र काँग्रेसलाई गाली गर्न समय खर्चिएका दुवै नेताले सरकारका असफलता, दुर्गा पर्साई र कानुनमन्त्री प्रकरण बारे शब्द  उच्चारण गरेनन् ।

दुवै नेताको पृष्ठभूमि रगतसँग सम्बन्धित रहेको अवस्थामा उनीहरुले सत्याग्रह, शान्तिपूर्ण रुपमा गरिने विद्रोहलाई रुचाउने कुरै भएन । ओलीले पुष्पस्मृतिमा डा.केसीको आन्दोलनमा उत्रिएका विविधा जनताको आत्मसम्मानमा ठेस पुग्ने गरी आन्दोलनकारी कस्ता ? कोही गेरु वस्त्रधारी, कोही ठाडो टीकाधारी, कोही रुद्राक्ष माला त कोही तुलसीको माला लगाएका व्यक्तिहरु भएको भनी उदाएको मजाक नेपाली जनताको आस्थाविरुद्ध प्रधानमन्त्रीले गरेको खिल्लीका रुपमा बुझ्न बाध्य पार्छ । 

विविधताको अपमान

हो, डा. केसी ओलीजस्तो राजनीतिबाट आएका होइनन्, उनी प्रचण्डले जसरी हतियारसँग खेलेर उदाएका नि होइनन्, उनको व्यक्तिगत रुपमा कोही समर्थक होलान्, नहोलान् तर उनले नेपाल समाज र जनताको पक्षमा उठाएको एजेण्डा र मागका कारण ओलीले मजाक गरेका नेपालीहरु कोही गेरु वस्त्रधारी, कोही ठाडो टीका लगाउने, कोही रुद्राक्ष माला पहिरिने त कोही तुलसीको माला लगाएका सबै जाति र धर्मका असल व्यक्तिहरु हुन् । उनीहरुले डा.केसीलाई मन पराएर आन्दोलनमा गएका हुन्, उनीहरु प्रचण्ड र ओलीका छाडा धुपौरे होइनन् भन्ने बुझ्नु उपयुक्त हुन्छ, जसले खुकुरी नचाएर माग पूरा गर् भन्न आउँछन् । अर्को अर्थमा भन्ने हो भने ओलीले सोमबार पृष्पलालको स्मृतिमा दिएको अभिव्यक्ति नेपाली जनताका विविधताकै अपमान हो । नेपालमा विभिन्न जातजातिका मानिसहरु बस्छन् भने उनीहरुले ठाडो टीका लगाएकै भरमा, रुद्राक्ष वा तुलसी माला पहिरिएकै भरमा देशको प्रधानमन्त्रीबाट मजाकको विषय बन्नु पर्ने हुदै होइन । 

आफ्नै कारण देशमा गणतन्त्र आएको भन्ने ओली र प्रचण्डले कांग्रेसले जताइदिएको सहमतिलाई बिर्सेर मपाइँत्व देखाए त्यो पनि आफ्नो संस्थापक नेताको स्मृतिसभामा । जगजाहेर छ कांग्रेसले कम्युनिष्ट एजेण्डालाई स्वीकारिदिएको अवस्थामा देशमा गणतन्त्र आएको हो नभए प्रचण्ड र उनको जनयुद्ध श्रीलंकाको तामिल लिट्टेको हरहालतमा पुग्ने निश्चित थियो । दुई नेताले कांग्रेसलाई सत्तोसराप मात्रै गरेनन्, एजेण्डाविहीन भएर डा. केसीको पक्ष लिएर उचालेको र उनलाई मार्न चाहेको आरोप लगाए । डा.केसी आफ्नै माग राखेर अनशनमा बसेका व्यक्ति हुन् भन्ने स्पष्ट छ । उनी आन्दोलनमा बसेको यो १५औँ पटक हो र उनले स्पष्टसँग आफूले खोजेका यी यी कुरा हुनुपर्छ भनेका छन् । उनको माग देउवा सरकारले पूरा गरिसकेको अवस्थामा ओलीले बाठो हुन खोज्दा डा.केसी अनशनमा बसेको थाहा हुँदा हुँदै कांग्रेसले एजेण्डा नपाएर केसीलाई अनशनमा राखेको बुझ्ने ओली—प्रचण्डको नियत त ठीक छ ? भन्ने प्रश्न गर्ने बेला भएको छ । 

डा. केसीको अनशन लम्बिँदै जाँदा उनको माग सम्बोधनभन्दा पनि डा. केसीसामु नै शर्त राख्ने ओलीले र डा. केसीलाई उचालेको आरोप लाउने प्रचण्डले कति चाँडै आफ्नो पृष्ठभूमि राजनीतिक अभ्यास बिर्सिएका ? प्रचण्डलाई त अझै देउवा सरकारमा सामेल हुँदै ओलीसँग लगनगाँठो कसेपछि आफ्ना मन्त्रीहरुलाई विना विभागीय बनाएर राखिएको तुष पनि रहेछ, उनले पुष्पस्मृतिमा सम्झिए र कहिले भनूँला जसरी उभिएर गर्दन हल्लाउँदै कांग्रेसको सत्तोसराप गरे तर उनका मन्त्रीहरुलाई जा, राजीनामा दे भनेर भनिएको अवस्थामा समेत देउवा सरकारसामु घुँडा टेकेर राज्यलाई सम्पत्तिको भार बोकाएर त्यसको दुरुपयोग गरेको जगजाहेर कुरा हो । 

ओलीले कांग्रेसले अहिले उठाएको अधिनायकवादविरुद्ध बोल्ने क्रममा आफू विगतमा पटक पटक थुनिएको आरोप लगाए तर उनले अहिले गणतन्त्र छ भन्ने बिर्सिए भने पहिले पञ्चायत थियो भन्ने पनि सम्झिएनन् । उनलाई समय अगाडि बढिरहन्छ भन्नेसम्म पनि हेक्का भएन नभए त देश, काल र परिस्थितिको महत्व उनलाई थाहा हुनुपर्ने हो । गणतन्त्रमा प्रधानमन्त्री बनेर जनताले विरोध गर्ने ठाउँमा निषेधाज्ञा जारी गर्ने ओलीले आफ्नो अधिनायकत्वको बचाउ गरेको तीतो यथार्थ हो, जसलाई हामी सहजै बुझ्न सक्छौँ । 

सोमबारको सभामा कांग्रेसविरुद्ध गरेको सत्तोसरापले दुई तिहाइ शक्तिसम्पन्न भए पनि ओली र प्रचण्ड कांग्रेससँग, अझ भन्नुपर्दा वास्तविक लोकतन्त्रसँग कति छिटै डराएको भन्ने भान भयो । नभए छिटफुट विरोधको सामना गर्न दुई तिहाइ शक्ति भएको सरकारलाई हम्मे हम्मे गर्नु पर्दैन । दुई तिहाइ जनता आफूसँग भएको दाबी गर्ने लोकतान्त्रिक सरकारले बाँकी थोरै जनताको माग सहजै पूरा गरिदिनसक्छ अथवा सुन्नसम्म आँट गर्छ । डा. केसीले वार्तामा बस्छु भन्दाभन्दै ओली सरकारले वार्ता समिति नै गठन नगरी बसेको थियो अनशनका प्रारम्भिक दिनमा । पछि उल्टो प्रचार भएपछि डा. केसीले नै आह्वान गरेका थिए तर सरकार भने दुई तिहाइको दम्भ देखाउँदै सकेसम्म डा. केसीलाई यतिकै अनशन तोडाउने नसके उनी मरुन् या बाँचून् मतलब छैन भन्ने स्थितिमा पुगेको ओली, प्रचण्ड र सरकारका मन्त्रीहरुको अभिव्यक्तिले नै पुष्टि गर्छ । 

लासको राजनीति : कांग्रेसले कि नेकपाले गर्दै छ ? 

सोमबारको स्मृतिसभामा प्रचण्डले कांग्रेसलाई डा. केसीलाई वार्तामा बस्न रोकेको र उनी मरेदेखि राजनीतिक एजेण्डा बनाउने खेलमा कांग्रेसले लासको राजनीति गर्न खोजेको ठाडै आरोप लगाए । तर अनशनको २४औँ दिनसम्म अनशनमा बस्नेसँगै शर्त राख्ने सरकार र यसपक्षका दलको व्यवहारले के संकेत गर्छ भने सरकार नै लासको राजनीति गर्न खोज्दै छ । अस्पतालमा हुलदंगा गरेर जुम्लामा प्रहरीलाई समेत आफ्ना कार्यकर्ता बनाउने ओली र प्रचण्डले लाज पचाएरै डा. केसीको सत्याग्रहको खिल्ली उडाए तर उनको सत्याग्रहमा कांग्रेसले साथ मात्रै दिएको हो, उसैले डा.केसीलाई उचालेको होइन भन्ने जनताले बुझिसकेका छन् । उनी मरे मेडिकल माफियासँग मिलेर करोडौँ कुम्ल्याउन पाउने भएकाले नै ओली–प्रचण्डले वार्तामा बोलाएजस्तो गरेका हुन् । नभए कुनै आन्दोलनकर्तासँग सरकारले शर्त राख्दै राख्दैन लोकतन्त्रमा यस्तो भएकै छैन । तर ओली प्रधानमन्त्री भएर २४ दिनदेखि भोकै बसेका निमुखा डा. केसीलाई निःशर्त वार्तामा बोलाइरहेका छन् । के यो लासको राजनीति होइन ? 

आफ्नो पृष्ठभूमि बिर्सिने अनि डा. केसीको सत्याग्रहको विरोध गर्ने ? 

अर्को अचम्मको कुरा त सोमबार दुई अध्यक्षले आफ्नो रक्तरञ्जित पृष्ठभूमिको राजनीति बिर्सिएर डा. केसीजस्तो साधु सामाजिक अभियन्ताको सत्तोसराप गरे । आफू कुन पृष्ठभूमिबाट आएको भन्ने नै बिर्सिए ओली र प्रचण्डले । सत्याग्रहीको विरोध र सत्तोसराप ? यस्तो पनि हुन्छ कहीँ ? त्यो पनि लोकतान्त्रिक प्रधानमन्त्री र तिनको दलको अध्यक्षबाट ?  कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै हुनपुगेको छ अहिले । रगतको राजनीति र सत्याग्रहको राजनीति आकाशपातालको फरक गुणयुक्त आन्दोलन वा विद्रोह हो । सत्याग्रहीले माग पूरा नभए आफैँ जीवनोत्सर्ग गर्छ तर रगतको राजनीति गर्नेले खोजी खोजी विपक्षीको शिरच्छेदन गर्छ, सके मार्छ नसके घाइतेसम्म बनाउँछ । यति ठूलो विभिन्नता बिर्सिन के सुहाउँछ ओली र प्रचण्डलाई ? ओली र प्रचण्डले बुझ्नुपर्ने तर अहिलेसम्म नबुझेको कुरा भनेको डा. केसीको सत्याग्रहमा जोडिन आउने तल्लोतहका जनताले जुम्लामा सरकारको ठाडो र जबर्जस्तीलाई रोक्न खोजेका हुन्, कांग्रेसले होइन भन्ने हो । सारा कांग्रेस उल्टिएको थियो भने जुम्लामा अर्कै परिस्थिति सृजना हुने थियो भन्ने दुई नेतालाई हेक्का हुनुपर्छ । 

ओली र प्रचण्डमात्रै होइनन्, अहिले सरकारमा बसेका मन्त्रीहरु पनि बेलगामजस्तै छन् व्यवहार र बोली हेर्दा । कुनै मन्त्री नेपाली नारीको अस्मिताविरुद्ध अभिव्यक्ति दिएर पनि सरकारी सेवासुविधा लुटिरहेका छन् । बल्लबल्ल अधिवक्ताको लाइसेन्स लिएका कानुनमन्त्रीले देशकै शिर निहुरिने गरी नेपाली नारीको अस्मितामाथि प्रहार गरे तर उनलाई प्रधानमन्त्रीको हैसियतमा ओलीले केही गर्न सकेनन् । तीव्र विरोधपछि विज्ञप्तिसम्म निकाले तर माफी मागेका छैनन् । अर्का एक मन्त्रीले त आफूविरोधी प्रश्न सोधेपछि एक पत्रकारको जागिरै खोसेर आफ्नो हैसियत देखाइसकेका छन् । सत्याग्रहीलाई अझ गलाउँछौँ भनेर शर्त राखेको कारण यो सरकार निकम्मा हो भन्दा केही अतिशयोक्ति हुँदैन । त्यसैगरी सत्याग्रहको विरोध गर्ने तर आफूले जनताको हत्या गरी प्राप्त गरेको राजनैतिक स्थानलाई सम्मान गर्ने कम्युनिष्ट नेताहरु आफ्नो धरातल बिर्सेर सत्याग्रहीलाई उल्टै ललकार्दै छन् । झन् जनताको पसिनाको तलब खाएर मन्त्री बनेर जनताकै इज्जतमाथि दाग लाग्ने अभिव्यक्ति दिने मन्त्रीहरुको स्तर त पदमा बस्ने छदै छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै