• २०८१ बैशाख ८ शनिबार

परराष्ट्रमन्त्री ज्ञवाली युरोप भ्रमणमा, यस्तो छ तालिका

kharibot

काठमाडौँ । पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा सोमबार राति लिस्बनतर्फ प्रस्थान गरेका छन् । 

उनले आफ्ना पोर्चुगी समकक्षीसँग बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिवसीय लिस्बन बसाइपछि उनले बेल्जियम र लग्जेम्बर्गको भ्रमण गर्ने छन् । बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डिडाएर रेयान्डर्ससँग उनले साउन १० गते ब्रसेल्समा नेपाल–बेल्जियम सम्बन्धका विविध विषयमा विचारविमर्श गर्ने छन् । 

सोही दिन उनले ब्रसेल्सस्थित नेपाली दूतावास र एशियाली अध्ययनका निम्ति युरोपेली प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपालका प्रमुख राष्ट्रिय एजेण्डा : राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयमा प्रवचन दिने छन् । 

साउन १२ गते उनले विभिन्न युरोपेली मुलुकमा रहेका नेपाली राजदूतहरुको ब्रसेलमा आयोजना हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने छन् भने १३ गते लग्जेम्बर्गमा गैरआवासीय नेपाली संगठनको ११औँ युरोपेली क्षेत्रीय बैठकको उद्घाटन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले साउन १४ गते लग्जेम्बर्गका मानवीय मामिला तथा विकास सहायता मन्त्री रोमिन सेन्डेरसँग भेटवार्ता गरेर साउन १६ गते स्वदेश फर्किने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै