विद्यालय बनाउने अभियानमा युनाइटेड वर्ल्ड स्कुल्स 

खरीबोट

काठमाडौं । गरे के हुन्न र ! भन्ने गरिन्छ । वर्तमान शिक्षा प्रणाली अझै राम्रो छैन त्यसमा पनि सामुदायिक विद्यालयको कुरै नगरौँ । सामुदायिक स्कुलको शिक्षा दिनानुदिन खस्किँदो छ । त्यसमा पनि दूरदराजका सामुदायिक विद्यालयको अवस्था हेर्ने हो भने कठैबरी लै लै भन्ने गर्छन् सबैले ।

तर त्यही दूरदराज र कन्दरामा यति बेला सामुदायिक स्कुलको शैक्षिकस्तर उन्नतिको लागि युवाहरु भने जोस र जांगर लागिपरेका छन् । अझ भनौँ शिक्षाको नयाँ मोडल स्थापना गर्न युवाहरु लागिपरेका छन् ।

विशेषतः संस्थाले दूरदराजका सामुदायिक स्कुलको निर्माण, शैक्षिक सहयोग र फेलोसिपको नाममा विद्यालय र शिक्षा परिवर्तन गर्न सक्छन् । संस्थाका शिक्षा निर्देशक अभिनास झा विकट गाउँका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु आफैँ ‘मोटिभेटेड’  नभएको कारण र अभिभावक समेतलाई राम्रो शिक्षा के हो र किन चाहिन्छ भन्ने कुरा थाहा नभएको कारण अन्योल भएको बताउँछन् । डा«इभर, खलासी र खाडी पैसा कमाउन जान पढेको भन्ने बच्चाहरुलाई ड्राइभर र खलासी मात्र नभएर डाक्टर, पाइलट र इन्जिनियर समेत बन्न सकिन्छ र ड्राइभर नै बने पनि शिक्षित हुनुपर्छ भन्ने ज्ञान दिन आफू लागिपरेको उनले बताए  । ‘त्यसैले त समुदायलाई राम्रो शिक्षा जरुरी छ भन्ने चेतना दिँदै मुख्य गरी रिड, राइट, काउन्ट र ड्रिम गरेर चार भागमा विभाजन गरेर छुट्याइएको छ, जुन वर्तमान समयमा अति आवश्यक छ’, झाले भने ।  

आफ्नै बाल्यकाललाई फर्केर हेर्दा ती दुःख, कष्ट र आफूले पढ्नकै लागि डेढ घण्टाको लामो बाटो हिँडेर स्कुल पढ्दाको त्यो समय फर्केर हेर्दा साँच्चै कठिन उनले सम्झिरहेका छन् । त्यसैले त सबै सार्वजनिक विद्यालयको स्तर उन्नतिमा नवजवानहरु खटिइरेहको उनले बताए ।

उनले भने, ‘सुन्दा सबैलाई अचम्म लाग्न सक्छ २५ लाख खर्च गरेपछि ३५ दिनमा नै ७ कोठे भवन निर्माण गर्न सकिन्छ ।’ यदि तपाईंले विश्वास नै गर्नुभएको छैन भने पनि यो साँचो र सत्य कुरा हो । यो सम्भव पनि भइरहेको छ संखुवासभा र गुल्मीका ती बस्तीहरुमा । जसको नेतृत्वमा खटिरहेका छन् संखुवासभाका सूर्य कार्की र उनका साथीहरु मञ्जितराज पाण्डे, अभिनास झा, खेमराज खड्का, सुरेन्द्र बुढाथोकी र रत्नमाया कार्की  । तीन वर्षको छात्रवृत्तिमा भेनेजुयलाबाट युनाइटेड वर्ल्ड कलेजबाट कुषि व्यवस्थापन अध्ययन गरे  ।

भेनेजुयलाबाट अध्ययन गरेर नेपाल फर्केका सूर्यसँग अमेरिकाबाट फर्केका उनका साथीहरुले देशमै शिक्षा क्षेत्रमा केही गर्ने अवधारणा राखे । त्यसपछि कृषि र शिक्षालाई संयोजन गरेर फ्रि स्कुल सञ्चालनमा ल्याए । जसमा फ्रि स्कुलमा अभिभावकले महिनाको दुई पटक कृषिफार्ममा काम गर्ने र बच्चाबच्चीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने अवधारणाअनुसार अगाडि बढ्दै गए ।

त्यसपछि जब सूर्य जब अर्थतन्त्र अध्ययनको लागि अमेरिका गए, त्यसपछि भने युनाइटेड वर्ल्ड स्कुल्स नेपाल नामक संस्था स्थापना गरे । 

अर्थतन्त्र र कृषिको संयोजन  भएमा मात्र शिक्षाको विकास सम्भव हुन्छ भन्ने धारणको साथ अघि बढ्दै गए र त्यसैको उपज बन्यो युनाइटेड वर्ल्ड स्कुलको स्थापना  । 

सरकारले दिइरहेको शिक्षा पुरातनवादी छ, जसले गर्दा गुणस्तरीय शिक्षा दिन सफल हुन नसकेको अवस्था रहेको छ । सोही कारण पनि गुणस्तरीय शिक्षा दिने सरकारको लक्ष्यलाई साथ दिनकै लागि युनाइटेड वर्ल्ड स्कुलको जन्म भएको उनको भनाइ छ ।

युनाइटेड वर्ल्ड स्कुल्स नेपाल नामक संस्थामार्फत युवाहरु सामुदायिक स्कुलको स्तर उन्नतिमा लागिपरेका छन्  ।

युनाइटेड वर्ल्ड स्कुल्सले  आफ्नो स्थापनाकालदेखि नै सरकार, समुदाय र स्थानीयको सहकार्यमा २०१६ बाट नै सामुदायिक विद्यालयको निर्माणलगायत सम्पूर्ण कुराको व्यवस्थापन गर्दै आएको छ  । जसमा सरकार र स्थानीयको सीमित लगानी रहेको छ भने बाँकी संस्थाले नै जिम्मेवारी वहन गर्दै आएको छ  ।

संस्थाले हालसम्म संखुवासभामा २९ र गुल्मीमा पाँचवटा विद्यालय निर्माण गरिसकेको छ । ‘शिक्षा सबै कुरा हो, शिक्षाले सपना देख्न र फरक बन्न सिकाउँछ त्यसैले त हामी शिक्षाकै विकास गर्न लागिपरेका छौँ’, उनीहरुले भने । 
      
संस्थाका सहसंस्थापक सूर्य कार्कीले खरीबोटसँग कुरा गर्दै संस्था स्थापनाको मुख्य कारण भनेकै ग्रामीण भेगका गरिब र निमुखाहरुले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्य रहेको बताए । ‘स्कुल स्थापना गर्नेबित्तिकै गुणस्तरीय शिक्षा प्रदान गर्छ भन्ने हैन, सामुदायिक स्कुलको शिक्षाको माध्यमबाट सुधार भए एउटा मोडलको रुपमा स्थापना हुन्छ र हरेक जनताले निःशुल्क रुपमा गुणस्तरीय शिक्षा पाउँछन् भन्ने नै हो’, उनले भने ।  

हाल गुल्मी र संखुवासभामा कार्यरत रहेको र २४औँ विद्यालय बन्दै र २१ विद्यालय सञ्चालनमा आएको कार्कीले बताए । उनका अनुसार स्थानीय सरकार, समुदाय र सरकारको साझेदारीमा काम हुँदै आएको छ  ।

जहाँ समुदायले लगानीको रुपमा जग्गा, काम र काठ सहयोग गर्नुपर्छ, त्यसलाई ३० प्रतिशत लगानी मानिएको छ  । स्थानीय सरकारको लागि भइरहेको शिक्षक वा नयाँ शिक्षक उपलब्ध गराउने र माग गरेअनुरुप शिक्षक उपलब्ध गराउनु हो  । जहाँ सबै विद्यालयहरुलाई अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइन्छ र हालसम्म संस्थाले ३ कक्षासम्म अंग्रेजी माध्यममा शिक्षा प्रदान गरिरहेको छ ।

सरकारले हरेक वर्ष शिक्षामा लाखौँ खर्च गरेको भए पनि शिक्षामा कुनै सुधार नआउनुमा मनिटरिङ (अनुगमन)को अभाव भएको उनको धारणा छ । त्यस्तै, स्थानीयको क्षमता भएका र जांगर भएका शिक्षकलाई फेलोको रुपमा दुई वर्ष काम गर्न दिने र आवश्यक तालिम समेत संस्थाले उपलब्ध गराउने काम गर्दै आएको छ  । 

वर्तमान समय र खस्किँदो शिक्षा प्रणालीलाई व्यवस्थित गर्न आधुनिक तरिकाबाट अध्यापन गराउनुपर्ने उनको भनाइ छ । अपुग शिक्षक संस्थाले थप्ने र तालिम सबै शिक्षकलाई दिएको र मनिटरिङ समेत गरिरहेको छ र समयमा स्कुल आउने र जाने वातावरण निर्माण भएको उनले बताए  ।

समयअनुसार अंग्रेजी आवश्यक भएको कारण नेपाली सँगसँगै अंगे्रजीलाई  संस्थाले प्राथमिकता दिएको बताएको छ  । विश्वभरी प्रयोग हुने भाषा भएकाले प्राथमिकतामा परेको उनीहरुले बताए  । अंग्रेजी पढाउनकै लागि  निजी स्कुल पढाउने अभिभावक र विद्यार्थी दुवैलाई सहज भएको उनीहरुको भनाइ छ  । 

त्यसैले त संस्थाले सहयोग गरेका स्कुलका विद्यार्थीहरुले आज ड्राइभर र  खलासी मात्र नभएर डाक्टर र पाइलटको सपना बुन्न लागेका छन् । संस्थाले दिएको सोचाइ नै फराकिलो बनाएको  उनीहरुको दाबी छ ।    

त्यस्तै संस्थामा  निर्माण रणनीति निर्देशक मञ्जितराज पाण्डे विद्यालयको संरचनाले पढाइमा धेरै फरक पार्ने बताउँछन् । राम्रो स्थान, वातावरण र पढ्ने व्यवस्था नभएकै कारण विद्यार्थीहरु राम्रो पढाइ गर्न नसक्ने भएकाले संस्थाले यी तीन कुरालाई महत्व दिएको बताउँछन् । 

थोरै खर्च र थोरै समयमा भवन निर्माण 

भन्दा र सुन्दा अचम्म लाग्न सक्छ । थोरै समय र  थोरै लगानीमा कसरी भवन निर्माण  गर्न सकिन्छ ? अचम्म नमान्नुस् यो नेपालमै सम्भव भइसकेको छ ।  नेपाली युवाहरुले यसलाई सम्भव तुल्याएका छन् । २५ लाख मूल्यमा ७ कोठे भवन त्यो पनि ३५ दिनमा निर्माण सम्पन्न ? सोच्नुस् त कसरी सम्पन्न भयो होला ? 

जब समुदाय र सरकारबीच समन्वय र समझदारी हुन्छ, तब हरेक काम सहज र सरल रुपमा छिटै नै गर्न सकिन्छ भन्ने उदाहरण हो यो । संस्थाले संस्था नभएर समूहको रुपमा चिनारी दिँदै आफ्नो ठाउँको लागि आफैँले काम गर्नुपर्छ, सबैको सहयोग र सहभागितामा यो कुरा जब बुझ्न सकिन्छ, तब एउटा भवन त के विशाल पहाड फोर्न सकिन्छ भन्ने जस्तो ठूलो आत्मबल खडा गरेको छ । जहाँ स्थानीयले श्रमदान गर्छन् र आवश्यक काठ समेत उपलब्ध हुन्छ र थोरै समयमा र खर्चमा भवन निर्माण हुन्छ । आफ्नो मिहिनेत गरेको चिजको माया लाग्छ र  संरक्षण समेत हुन्छ । 

जहाँ आवश्यकता र सहजताको अधारमा ५, ७, ६ देखि ११ कोठेसम्म भवन निर्माण गरिन्छ । ठाउँ हेरेर २५  लाखमा ७ कोठे भवन संस्थाले निर्माण गर्दै आएको छ ।  ठेकेदार कन्ट्राक्टिङतर्फ नलाग्ने र काम सबै आफैँले गर्ने भएकाले समय छोटो लागेको उनीहरुको भनाइ छ । आफ्नै निर्माण समिति भएको कारण काम सहज रुपमा सम्पन्न गर्न सहज भएको छ ।  अरु कुनै कामको लागि कामदार चाहिएमा सरकारले तोकेबमोजिम नै पैसा तिरेर संस्थाले काम लगाउँदै आएको छ ।  

शैक्षिक वातावरण राम्रो, स्थान राम्रो र पढाउने उचित शिक्षक भए सामुदायिक स्कुलको शिक्षा निजी स्कुलभन्दा राम्रो हुने दाबी उनीहरुले गरेका छन्  ।
    
एउटा स्कुलको शैक्षिक सुधारको लागि संस्थाले सबै काम गर्दै आएको छ । संस्थाले साझेदारीको लागि सुरुमा ५ वर्षसम्म लिने र पहिलो साझेदारी अवधिमा विद्यालय भवन निर्माण, जुन संस्थाकै शिक्षा विभागमा हस्तान्तरण हुन्छ र त्यसपछि शिक्षा विभागको प्लानअनुसार फर्निचरदेखि अपुग शिक्षक, शैक्षिक सामग्रीमा लगानी, विद्यार्थीलाई झोला, कपी, पेन्सिललगायत चाहिएको खण्डमा गरिब तथा  निमुखा विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराउँछ ।  जुन लगानी सुरुमा ५ वर्षको समयमा आफ्नो कामको मूल्याङ्कन, समुदायको लगाव र स्थानीय सरकारको मद्दत हेरेर मूल्याङ्कनको आधारमा राम्रो भएमा संस्थाले पुनः लगानी गर्छ । जहाँ स्थानीय सरकारबाट गुणस्तरीय शिक्षाको लागि शैक्षिक सामग्री र शिक्षक फण्डिङको माग हुन्छ र १०औँ वर्षमा संस्थाले आफ्नो मोडल स्थापना गरिसक्ने भएकाले संस्था निस्किन्छ । 

आगामी महिनामा १०० वटा स्कुलसँग सहकार्य गर्ने लक्ष्य रहेको संस्थाले हरेक चारवटा स्कुलमा एक कम्प्युटर ल्याब बनाउने जनाएको छ । फेरि शिक्षा राम्रो भए स्वास्थ्य राम्रो हुन्छ र यसले गर्दा समाज परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यलाई संस्थाले गम्भीर रुपमा लिएको छ । सन् २०१५ बाट संस्थाले दूरदराजमा शिक्षामा आमूल परिवर्तनका लागि काम गर्दै आएको छ । शिक्षक भन्नेबित्तिकै डराउने र शिक्षक र विद्यार्थीबीच पारिवारिक र साथित्वको अभाव रहेको उनीहरुको अनुभव छ । त्यस्तै, प्राविधिक शिक्षा गुणस्तरीय बनाउन प्रावि शिक्षा गुणस्तरीय बनाउन आग्रह गरेका छन् । प्रावि शिक्षा गुणस्तरीय नभए प्राविधिक शिक्षा गुणस्तरीय नहुने र भावी पुस्ताको नेतृत्व समेत गुणस्तरीय नहुने उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ स्वरुपमा मानव तस्कर हुदै : एसइइ दिएका बिद्यार्थी बढी जोखिममा 

काठमाडौँ । चेलीबेटी बेचबिखन नेपाली समाजमा बिगत लामो समयदेखी सामाजीक समस्याको रुपमा रहेको छ । जसलाई हाल मानव तस्करीको नामले समेत बुझ्ने गरीएको छ । यसलाई हाम्रो समाजमा सामाजिक तथा जघन्य

सफल हुदै चारपाङ्ग्रे सवारीसाधन प्रतिबन्ध : व्यस्त भए भरिया र रिक्सा चालक 

काठमाडौँ । गत माघ २ गतेदेखि भित्री सडकमा चारपांग्रे सवारीसाधनमाथि प्रतिबन्ध लगाइएको थियो । असनमा बसोवास गर्ने स्थानीय व्यापारी समेत रहेका सूर्य श्रेष्ठले ट्राफिक प्रहरीले ल्याएको यो काम एकदमै राम्रो भएको बताउदै