• २०८१ बैशाख ४ मंगलबार

काँग्रेसले भनेको सर्वसत्तावादको कुरा विस्तारै पुष्टि हुँदै छ - प्रकाशमान सिंह 

kharibot

धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन् ।

कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले कांग्रेसले भन्दै आएको सर्वसत्तावादको कुरा विस्तारै पुष्टि हुँदै गएको बताए । ‘हामीले चुनावमा भनेको अधिनायकवाद अहिले आएर पुष्टि हुँदै गएको छ’, उनले भने, ‘जनताले परिवर्तन र देशमा विकास होला भनेर विश्वास लिएका थिए । तर, अहिलेको कम्युनिस्ट सरकार आफ्नो अधिनायकवादी र सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको अभास हामीले पाएका छौँ ।’

सरकारले जनतालाई परिवर्तन र विकासको अनुभूति दिन नसकेको आरोप उनले लगाए । सरकारका क्रियाकलापले जनतामा निराशा भएको बताए । सरकारका गलत क्रियाकलापको नेपाली कांग्रेसले सडक र सदनमा सशक्त रुपमा जनताका कुरा राख्ने बताए । उनले भने, ‘कांग्रेसले प्रतिपक्षको भूमिका खेल्छ । सरकारलाई मनपरी गर्न दिँदैन ।’

सरकारले सर्वसत्तावाद र अधिनायकवादीलाई पुष्टि हुने गरेर विमानस्थलबाट प्राध्यापक पक्राउ गरेको उनले बताए । ‘सरकारले कहिले विमानस्थलबाट प्राध्यापक पक्राउ गर्छ, कहिले अस्पतालमा उपचार गर्दै गरेको डाक्टरलाई जवरजस्ती उठाएर लैजान्छ’, सिंहले भने, ‘आफ्ना नेताहरूको लगानी हुने गरेर बद्नियतपूर्ण शैलीमा शिक्षा नीति ल्याउन विधेयक संसदमा पेश गर्न खोज्छ ।’

कांग्रेस नेता सिंहले डा.गोविन्द केसीको आन्दोलनप्रति समर्थन गर्दै शिक्षा र स्वास्थ्यको गुणस्तरमा आफूहरूले कहिल्यै सम्झौता नगर्ने बताए । ‘जनताले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवाका साथै पढ्न पाउनुपर्छ’, उनले भने, ‘आफ्ना व्यक्ति र नेतालाई मात्रै फाइदा र जनतालाई बेफाइदा हुने गरेर ल्याइएको शिक्षा विधेयकमा कांग्रेस सहमत हुन सक्दैन ।’

डा.गोविन्द केसीको अनशनमा प्रहरी हस्तक्षेप भएकोमा नेता सिंहले विरोध गरे । ‘डा.केसीलाई जवरजस्ती रुपमा लाठी चार्ज र फायरिङ गरेर उठाइएको छ’, उनले भने, ‘डा.केसीको जीवन रक्षा गर्नुपर्छ । उहाँका माग पूरा गर्नुपर्छ ।’

कांग्रेस नेता सिंह एकसाताका लागि पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन सुदूरपश्चिमका आधादर्जन जिल्लाहरूको भ्रमणमा शुक्रबार बिहान धनगढी आइपुगेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै