• २०८१ बैशाख ५ बुधबार

 म्याग्दीमा झोलुंगे पुलबाट पच्चिस सय घरधुरी लाभान्वित

kharibot

फाइल तस्विर । 

 म्याग्दी / दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । 

पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ । 

रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्पाम प्रविधिमा नेपालकै लामो (३६५.८ मिटर) झोलुंगे पुल निर्माण गरेको छ भने अन्य १० वटा झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएका हुन् ।  दुई करोड ७९ लाख ९० हजार १०० को लागतमा बनेको सो पुल २०७५ वैशाखदेखि सञ्चालनमा आएको थियो । यसबाट बेग र बादुक गाउँका बासिन्दालाई आवतजावत गर्न डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्नुका साथै पर्यटकको चहलपहल बढेको वडाध्यक्ष बिलबहादुर फगामीले बताए । 

अन्य १० वटा पुल जिल्ला प्राविधिक कार्यालय, झोलुंगे पुल सहयोग कार्यक्रम (टिबीएसयु), स्वाप, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको सहकार्यमा निर्माण भएका हुन् । तीन करोड चार लाख ३९ हजार ४६४ लगानीमा निर्माण भएका १० वटा झोलुंगे पुलबाट दुई हजार ५०३ घरधुरीका १४ हजार ५४६ जनसंख्या लाभान्वित भएका मिलन म्याग्दीका प्राविधिक विष्णु पन्तले जानकारी दिए  । 

धौलागिरि गाउँपालिका–४, जेल्तुङमा १०२ मिटर, धनमानेमा ५९ मिटर र छहरी खोलामा ३२ मिटर लामो ट्रस पुल निर्माण भएको छ । मालिका गाउँपालिकाको टाक्सेमा ६४, नुनथलामा ४५.७५, दोविल्नामा ६४, दाङखोलामा ६७ मिटर लामा झोलुंगे पुल निर्माण भएका छन् । यसैगरी, मंगला गाउँपालिका–५, अर्मनको आरुखोलामा ६९ मिटर, रघुगंगा गाउँपालिका–८ कुइनेमंगलको घ्याँसीखर्कमा ६३ मिटर र अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको मर्नामा ३२ मिटर लामो ट्रस पुल निर्माण भएको टिबिएसयुका प्राबिधिक अधिकृत श्रीधर भण्डारीले बताए । 

पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका सिम्कोशकी ज्योति थापाले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै