• २०८१ बैशाख १३ बिहीबार

जाजरकोटका कैदीबन्दी सेवासुविधाबाट वञ्चित

kharibot

जाजरकोट / जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्  । 

खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताए । कैदीबन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उनको आरोप छ । खल्तीमा पैसा हुनेको उपचार हुने तर नहुनेको उपचार नै नहुने गरेको उनको भनाइ छ । 

बिरामी कैदीबन्दीले औषधोपचार गरेको बिल पेस गर्दा पनि भुक्तानी नपाएको मल्लको भनाइ छ । “दुई सातासम्म धारोमा पिउने पानी नआउँदा पनि कसैले वास्ता गर्दैनन्,” उनले भने, “रासन तथा सिदा खर्च चार÷पाँच महिना बित्दासमेत पाउन सकिएको छैन ।” 

लत्ताकपडा भत्ता वर्षमा दुईपटक पाउनुपर्नेमा एकपटक मात्र दिने गरेको र उक्त सुविधा अन्य कारागारको भन्दा निकै कम उपलब्ध हुने गरेको कैदीबन्दीको गुनासो छ । लत्ताकपडा भत्ता अन्य कारागारमा दुई हजारका दरले पाइने भएपनि जाजरकोट कारागारमा ७५० मात्र पाइने उनीहरूको गुनासो छ । कारागारका कर्मचारीले कैदी र थुनुवालाई अपहेलना गर्ने गरेको कैदी निमबहादुर सिंहले बताए । 

केही कर्मचारीले कैदीबन्दीलाई तल्लो दर्जाको नागरिक सम्झेर अश्लील शब्द प्रयोग गर्ने गरेको उनको भनाइ छ । “कारागारमा कसैलाई पनि सम्मानजनक व्यवहार भएको छैन,” उनले भने, “सेवासुविधाको अभाव तथा सम्मानपूर्वक व्यवहार नपाउँदा तनावमा बस्न बाध्य छौँ ।” कैदीबन्दीलाई तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य चर्को भएको उनको गुनासो छ । 

कैदी एक प्याकेट सुर्तीको  ७० मूल्य तिर्न बाध्य भएको सिंहले जनाए । सम्बन्धित प्रशासनलाई  १० हजार घुस दिएर मात्र चौकीदार तथा नाइके बन्न पाउने प्रचलन रहेको कैदीबन्दीको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायत उच्च तहका कर्मचारी एकपटक पनि कारागारमा नआएको उनीहरू बताउँछन् । जिल्ला प्रशासनलगायत निकायले कैदी बन्दीको समस्याप्रति बेवास्ता गरेको कैदीबन्दीको गुनासो छ । उनीहरूका अनुसार कैदीबन्दीले जायज माग गर्दा पनि सरुवा गरिदिने, कैद सजाय थपिदिने, धम्की आउनेलगायतका समस्या छन् । 

कैदी तथा थुनुवाले अनावश्यक निहुँ खोजेर कारागार प्रशासनलाई समस्यामा पार्ने गरेको जेलर तेजविक्रम शाहले बताए । २० जना अटाउने क्षमताको जाजरकोट कारागारमा ५७ जना कैदी तथा थुनुवा कोचाकोच गरेर बस्न बाध्य छन् । कारागारमा कैदीबन्दीका लागि दुई मात्र कोठा छन् । एउटै कोठामा ३० जना कैदी लाइन लागेर सुत्न बाध्य छन् । 

कारागारको निर्माणाधीन भवन सम्पन्न नहुँदा कैदीबन्दीलाई समस्या भएको जेलर शाहले बताए  । कारागार प्रशासनका अनुसार अहिले ४८ कैदी र एक महिलासहित नौजना थुनुवा छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै