• २०८१ बैशाख ८ शनिबार

एसियाली खेलकूदमा नेपालको सहभागिता

kharibot

काठमाडौँ / एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । 

इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ । 

दक्षिण कोरियाको इचोन सहरमा भएको १७ औँ संस्करणको एसियाली खेलकूदमा नेपालबाट २५ खेलले प्रतिनिधित्व गरेको थियो । 

एसियाली राष्ट्रबीच सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ स्थापित भएको एसियाली खेलकूद प्रतियोगिता सन् १९५१ बाट शुरुआत भयो । त्यतिबेला भारतको नयाँ दिल्लीमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको थियो । नेपालले प्रतियोगिताको शुरुआतदेखि नै सहभागिता जनाउँदै आइरहेको छ । तर सन् १९५४ र १९६२ को दुई संस्करणको खेलमा भने नेपालले भाग लिएको थिएन । 

नयाँ चारखेलसहित प्रतियोगितामा भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ्, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २८ खेलले नेपालको प्रतिनिधित्व गर्नेछ । 

प्रतियोगितामा पुरुष खेलाडी १२५ र महिला खेलाडी ५६ गरी १८१ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन् । अफिसियल भने कति जाने भन्ने टुंगो लागिसकेको छैन । नेपालकातर्फबाट एसियाली खेलकूदमा जम्मा २९५ जनाको जम्बो टोली इण्डोनेसिया जाने अनुमान गरिएको छ । 

भूकम्पका कारण क्षत विक्षत भएका भौतिक पूर्वधारहरुको समयमा निर्माण हुन नसक्दा खेलाडीले पर्याप्त तालीम लिन केही असहजता भयो । राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विकले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको निर्माण कार्य सम्पन्न नहुँदा तालीमका लागि केही असहजता भएको बताए । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा यसपटक नयाँ खेललाई प्राथमिकतामा राखिएकोे जानकारी गराउँदै उनले भने , “काठमाडौँमा नभए तापनि देशका विभिन्न ठाउँमा खेलाडीलाई पर्याप्त तालीम दिएका छौँ ।” 

उनले प्रतियोगिताको तयारीका लागि केही बजेट अपुग भएकै कारणले खेलाडीलाई समयमै तालीम दिन नसकेको बताए । 

सरकारले एसियाली खेलकूद प्रतियोगिताका लागि रु पाँच करोड बजेट छुट्याइएको छ । विभिन्न ४५ वटा एसियाका उत्कृष्ट राष्ट्रका खेलाडीबीच हुने उक्त प्रतियोगितामा पदक जित्नु नेपाली खेलाडीका लागि जहिले पनि फलामको च्युरा बन्दै आएको इतिहास छ । 

सहभागिताको ६७ वर्ष बितिसक्दा पनि नेपालले एसियाली खेलकूदमा अहिलेसम्म स्वर्णपदक जित्न सकेको छैन । गत संस्करणको खेलमा नेपालले एउटा मात्र पदक जितेको थियो । त्यतिबेला राखेप मान्यता प्राप्त कराते महासंघले छनोट गरेको खेलाडीको सट्टामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महसंघको छनोटमा परेकी विमला तामाङले महिला कराते एकल कातामा कास्य पदक हात पारेकी थिइन । नेपालको उक्त प्रतियोगितामा जितेको सोही एक पदक मात्र हो । त्यतिबेला कास्य पदक जित्ने देश पनि नेपाल मात्र थियो । 

नेपालले अहिलेसम्म जम्मा तीन खेल तेक्वान्दो, कराते र बक्सिङले मात्र पदक जितेको इतिहास छ । एसियाली खेलकूदमा सबैभन्दा ठूलो पदक तेक्वान्दोका सविता राजभण्डारीले जितेकी थिइन । उनले सन् १९९८ को थाइल्याण्डको बैंककमा भएको एसियाली खेलकूदमा रजत पदक जितेकी  हुन् हो । त्यो नै नेपालको हालसम्म एक मात्र रजत पदक हो । 

एसियन गेम्समा नेपालले अहिलेसम्म २३ वटा पदक जितेको छ । जसमा रजत भने एक मात्र छ । विगतमा जस्तै यसपटक पनि तेक्वान्दो, जुडो, बक्सिङ, उसु भारोत्तलन मार्सलआर्टसका खेलमा बढी पदकको आशा गरिएको राखेपअन्तर्गत तालीम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर राणाभाटले बताए  । 

यसपटकको तयारी व्यापक छ, खेलाडीले पदक भित्र्याउने कुरामा हामी विश्वस्त छौँ प्रशिक्षण विभाग प्रमुख राणाभाट भन्नुहुन्छ । उनका अनुसार यसपटक समावेश गरिएको नयाँ खेल प्याराग्लाइडिङले पनि पदक जित्ने सम्भावना प्रवल रहेको छ । 

तालीम तथा प्रशिक्षण विभागका प्रमुख राणाभाटले प्रतियोगिताका लागि रु सात करोड १३ लाख बजेट आवश्यकता भए तापनि सरकारले छुट्याएको रकम कम भएको गुनासो गरे । 

राखेप सदस्य–सचिव केशवकुमार विष्टले विगतमा भन्दा यसपटकको एसियन खेलमा नसोचेको नतिजा ल्याउनेमा आफू विश्वस्त भएको बताउँदै भन्छन , “विगतका संस्करणको खेलमा भन्दा यसपटक नेपालमा धेरै पदक भित्रनेछ, त्यसको सुनिश्चित म गर्छु ।” 

यता करातेका प्रशिक्षक दीपक श्रेष्ठले भने अहिलेको प्रशिक्षणलाई हेर्दा विगतको वर्ष जस्तै फरक नहुने बताए । उनले प्रतियोगिता शुरु हुन एक महिना पनि बाँकी नहुँदासम्म आफ्नो टोलीलाई वैदेशिक प्रशिक्षणमा नलगेको गुनासो गरे । 

उनले भने , “यही तरिका हो भने खेलाडीले स्वर्णपदक त परै जाओस् एउटा पदकसमेत हात पार्दैनन्, जससम्म खेलाडीलाई ‘इन्टनेशनल एक्स्पोर्जर’ गरिँदैन तबसम्म खेलाडी मानसिक र प्राविधिकरुपमा सबल हुँदैनन् ।” 

महिला टेबलटेनिसतर्फ छनोट भएकी रविना मर्हजनले आफ्नोतर्फबाट पदक हासिल गर्न सक्दो प्रयास गर्ने बताए । 

उनले वैदेशिक प्रशिक्षणका लागि आइताबर भारतको नयाँ दिल्ली जाने तयारी भइरहेको जानकारी गराउँदै नेपालभन्दा अन्य एसियाली देशहरु हरेक संरचनाले बलियो भएकाले टेबलटेनिसमा पदक ल्याउने सम्भावना कम रहेको बताए । 

गत वैशाख २ गतेदेखि शुरु भएको बन्द प्रशिक्षणमा नेपाली खेलाडी स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेका छन् । नेपालको विराटनगर, महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौँ, पोखरालगायतका ठाउँमा नियमित प्रशिक्षणमा छन् भने विदेशमा दक्षिण कोरिया, थाइल्याण्ड र चीनमा खेलाडी गइसकेका छन् । त्यस्तै जापान र भारतमा जाने तयारीमा छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै