• २०८१ बैशाख १३ बिहीबार

नेपाली महिला अब बेलायती सेनामा भर्ती हुन पाउने

kharibot

काठमाडौं ।  नेपाली महिला अब बेलायती सेनामा भर्ती हुन पाउने भएका छन् । 

बेलायती समाचार संस्थाहरुले जनाए अनुसार सन् २०२० भित्र नेपाली महिलालाई बेलायती सेनामा भर्ती गरिइने भएको छ । 

ब्रिगेड अफ् गुर्खाजका लेफ्टिनेन्ट जनरल निक पोपका अनुसार बेलायती सरकारले सन् २०१६ मा महिलाले पनि लडाईँमा सहभागी हुन पाउने निर्णय गरेपछि बेलायती सेनामा नेपाली महिलाको भर्ती प्रक्रिया अगाडि बढेको हो । 

भर्ती प्रक्रिया आउँदो वर्ष पोखरामा सुरु हुने भएको छ । छनौट भएका उम्मेदवारले त्यसपछि बेलायतको नर्थ योर्कशायरमा १० हप्ताको तालिम लिनेछन् ।

बेलायतका रक्षा सचिव गेभिन विलियम्सनले नेपाली नेपालीका बारेमा भनेका छन्,  ‘गोर्खालीहरु युद्धकलामा विश्वकै सबैभन्दा बढी पोख्त फोर्स हो । रानी एलिजाबेथ द्वितीयाको सेवा गरेको गौरवशाली इतिहास उनीहरुसँग रहेको छ । यस्तो अवस्थामा नेपाली महिलालाई पनि बेलायती सेनामा आवद्ध गर्नु निकै नै उपयुक्त हुन्छ’ । 

सन् १८१५ बाट नै नेपालीहरु बेलायती सेनामा आवद्ध भएका हुन् । सन् १९४७ मा जब भारत स्वतन्त्र भयो, नेपाल, बेलायत र भारतबीच एउटा सहमति भयो, भारतीय सेनामा रहेका चार वटा गोर्खा रेजिमेन्टलाई बेलायती सेनामा समावेश गर्ने । त्यही नै ब्रिगेड अफ् गुर्खाज बनेको हो । 

अहिले बेलायती सेनामा झण्डै तीन हजार नेपाली रहेका छन् । धेरैजसो नेपाली स्थल सेनामै भए पनि केही इन्जिनियर, लजिस्टिक्सलगायतका सेवामा पनि छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै