• २०८१ बैशाख ७ शुक्रबार

डा.गोविन्द केसी गगन थापाका कार्यकर्ता हुन् - नेकपा नेता बडाल 

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म उपचार गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर समर्थकहरुले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको भन्दै कडा आपत्ति जनाएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टर केसीलाई मानव ढाल बनाउने काम भैरहेको छ, उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीहरुले भन्नुभएको छ, यो गलत र अलोकतान्त्रिक हो, उहाँलाई मानव ढाल नबनाऔं।’

साक्षात्कारमा बोल्दै उनले डाक्टर केसीको जीवनमाथि खेलबाड गर्ने काम नगर्नपनि आग्रह गरे । उनले भने,‘यस्तो अत्याचार नगरौं, संसदले कुन विद्येयक र कस्तो विद्येयक पास गर्ने वा नगर्ने भन्ने अनशनलाई जिम्मा दिने कुरा नगरौं, संसदमा पर्याप्त छलफल हुन्छ, विद्येयकमा चित्त नबुझे विद्येयकउपर छलफल हुन्छ, संशोधन हाल्न पनि सकिन्छ, संसदीय समितिहरुमा पनि पर्याप्त छलफल हुन्छ।’

उनले ऐन सडकबाट पारित गर्नेजस्तो कुरा गर्न नहुने धारणा राखे । उनले भने,‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं।’ सरकार डाक्टर केसीको जीवन रक्षा गर्ने पक्षमा रहेकोले केसीले अनशन काठमाडौंमा नबसी जुम्लामा किन बसे ? भनेरपनि उनले प्रश्न तेर्साए । उनले भने,‘लोकतान्त्रिक व्यवस्थालाई अफापसिद्ध तुल्याउनको लागि डाक्टर केसीलाई जुम्लामा अनशन बस्न पठाईएको हो।’

डाक्टर केसीको अनशन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा केसीको माग किन पूरा गरेनन भनेर बडालले प्रश्न गरे । उनले भने,‘अहिले केसीको पक्षमा चर्को कुरा गर्ने गगन थापा आफू स्वास्थ्यमन्त्री हुँदा किन उहाँका मागहरु पूरा गर्नुभएन् ?।’ मेडिकल क्षेत्र सफा हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको सुनाउँदै उनले डाक्टर धर्मकान्त बाँस्कोटाजस्तो सम्मानित र ईमानदार डाक्टरलाई त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन समेत डाक्टर केसी अनशन बसेको आरोप लगाए । उनले भने,‘डाक्टर बाँस्कोटामात्रै होईन, भगवान कोइरालालाइ पनि त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन उहाँ अनशन बस्नुभयो।’

नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला भोट माँगेकोले डाक्टर केसी कांग्रेसको कार्यकर्ता भएको आरोप लगाए । उनले भने,‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माँग्नुभयो ?, त्यही गुन तिर्नको लागि गगन थापाले अहिले अनशनरत डाक्टर केसीको पक्षमा बोलिरहेका छन्।’

६० लाख मानिस काठमाडौंमा बस्ने भएकोले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्नै हुँदैन भन्नु काठमाडौंका जनताविरुद्ध अपराध गरेको उनको गुनासो छ । उनले भने,‘संविधानको भावना विपरितको अभिव्यक्ति हो, कोही अनशन बसेर सडकबाट काठमाडौंमा मेडिकल कलेज खोल्न पाईँदैन भन्नु दयनीय दृष्टिकोणमात्रै हो।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै