• २०८१ बैशाख १२ बुधबार

जाजरकोटमा बजेटको अभावमा पहिरो हटाउन समस्या

kharibot

फाइल तस्विर । 

जाजरकोट / भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमीनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो । 

केही दिनअघि परेको झरीले जिल्लाका दर्जनभन्दा बढी सडक बन्द भइसकेका छन् । तर ती सडकमा गएको पहिरो सडक डिभिजनले नहटाएपछि भेरी नगरपालिका आफैँले पहिरो हटाउन थालेको छ । यद्यपि नगरसँग पर्याप्त बजेट नहुँदा समस्या देखिएको छ । 

छिन्चु जाजरकोट सडकको शान्तिचौतारास्थित खहरे खोलामा पटकपटक माथिबाट आएको पहिरोले बाटो अवरुद्ध हुन थालेको र सदरमुकामभित्रै दर्जनभन्दा बढी ठाउँमा सडकको तल–माथिबाट पहिरो गएपछि बाटो सञ्चालन गराउन नगरपालिकालाई निकै सकस परेको नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । 

छिन्चु–जाजरकोट सडकको खहरे खोलामा आएको पहिरोले छ घण्टा अवरुद्ध भएको सडक आइतबार बिहान नगरपालिकाले खुलाएको छ । नगरपालिकाले विपद् व्यवस्थापनमा चालू आवमा रु १३ लाख मात्र छुट्याएको थियो तर खर्च नै  २० लाखभन्दा बढी भइसकेको छ । 

धेरै पहिरो गएर बाटो अवरुद्ध हुन थालेपछि नगरपालिका आफैँले इन्धन हाल्ने गरी मासिक  दुई लाख ४० हजारमा जेसिभी (डोजर) भाडामा लिएको छ । “बर्खाका बेला ग्रामीण भेगमा नभए पनि सदरमुकाम आसपास र छिन्चु–जाजरकोट सडक सञ्चालन गराउन चाहन्छौँ तर बजेट अभावले समस्या परेको छ”, नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने , “ग्रामीण भेगका सहायक सडकमा गएको पहिरो हटाउने जिम्मा नगरको भएको तर ठूला सडकको पहिरो हटाउने जिम्मा सडक डिभिजनको भए पनि सबै काम नगरले नै गर्नुपरेको छ ।” 

छिन्चु जाजरकोट सडकमा पहिरो गए सफा गर्न रुकुमको चौरजहारीमा रहेको सडक डिभिजनलाई बारम्बार आग्रह गर्दा पनि नटेरेको नगरप्रमुख घर्तीको भनाइ छ । नगरभित्रका सडकमा गएको ठूलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । 

शनिबार राति खलङ्गाको शान्तिचौतारास्थित ट्राफिक प्रहरी कार्यालय नजिक माथिबाट आएको पहिरोले एक ट्र्याक्टर पुरेको छ । चालक भागेर ज्यान जोगाएका थिए । उक्त पहिरो पनि नगरपालिकाको भाडामा लिएको जेसिभीले सञ्चालन गराएको छ । 

त्यस्तै शुक्रबार राति आएको पहिरोले नलगाड–८ मा २८ रोपनी खेतमा लगाएको धानबाली पुरिदिएको छ । पहिरोले छेप्का कैन, कालीमाटी लहाँ, खलंगा पाँचकाटिया, दशेरा सुयाडा, भुर स्याउली, जगतिपुर छिपे्रनालगायत दर्जन बढी सडक अवरुद्ध भएका छन् । तर, ती सकड खुलाउन सम्बन्धित निकायले पहल गरेका छैनन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै