• २०८१ बैशाख ७ शुक्रबार

वर्षाको भल सँगै बग्यो करोडौँ बजेट

kharibot

फाइल तस्विर । 

जाजरकोट / यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ । 

जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन् । 

छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडक वर्षाको भलले बगाउँदा अहिले यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । यो नगरपालिकाले कति सडक निर्माण गरेको छ भनी सोध्दा नगरप्रमुख लालबहादुर महतराले सडक त खनियो तर कति किलोमिटर पुग्यो थाहा छैन भने । 

उक्त नगरपालिकाले वडा ७ र ८ वडामा मात्र सडक निर्माण नभएको र अन्य सबै वडामा सडक सञ्जालले छोएको उनले जानकारी दिए । सडक निर्माण गरिएका सबै ठाउँमा अहिले यातायात सेवा बन्द भएको छ । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो । 

त्यस्तै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले आफ्नो गाउँपालिकाभित्र निर्माण गरिएको सडकको यकिन विवरण आउन नसकेको बताउनुभयो । यो गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका सबै सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन् । 

त्यस्तै जुनिचाँदे गाउँपालिकाभित्र २० किलोमिटर सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए । यो गाउँपालिकामा यातायातका साधनहरु सञ्चालन छैनन् । सडक निर्माणका काम भइरहेकोले अर्को वर्ष यातायातका साधन चल्ने अध्यक्ष केसीले बताए । 

नलगाड नगरपालिकाले १६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने १५ किलोमिटर पुरानो सडकको स्तरोन्नति गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए । यो नगरपालिका जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने भएकाले यहाँ यातायातका साधनहरु सञ्चालनमा छन् । केही नगरपालिका भित्रका आन्तरिक सडक अवरुद्ध भए पनि पुनःनिर्माण गर्दै यातायातका साधनहरु सञ्चालन गर्ने काम भएको उनले जानकारी दिए । 

सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन् । यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको नगरप्रमुख रावलले बताए । 

वडा नं ८ का वडाध्यक्ष गोविन्द शाहीले आफँै डोजर लगाएर दुई वटा सडक खनेका थिए । यो सडकले कायखेत गाउँ, बगारा र मन्मै गाउँसमेत जोखिममा परेको छ । कायखेतमा सयौँ रोपनीमा लगाएको धानबाली नष्ट हुनाका साथै पाँच घरपरिवारसमेत विस्थापित भएको नगरपालिकाले बताएको छ । 

बारेकोट गाउँपालिकाले यो वर्ष १० किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । कुशेगाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन् । वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो । 
भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन् । नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ । नयाँ सडक कति निर्माण भयो भन्ने यकिन विवरण यो नगरपालिकाले पनि दिन सकेन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै