• २०८१ बैशाख १३ बिहीबार

[कविता] लौ !

kharibot

छेउमै बसिरहेकी थिएँ
अनेकौ प्रश्न सोचिरहेकी थिएँ 
अचानक एउटा 
वाणी निस्कियो
ओई केटी यता सुन त
केटासँग सङ्गत नगर !!

आमा बोलिरहनु भयो
मानौकि सारङ्गी रेटे
जस्तै गरी --------
मनै त हो खुल्दुली चलिरह्यो
दिमागमा आगो दन्किरह्यो
केटासँग सङ्गत किन नगर्ने?
उसोभए आखिर केटा को हुन्
एकोहोरो प्रश्नको जवाफ
खोजिरहेँ सोचिरहेँ !!

यो समाजले सधैँ 
एकोहोरो यही भनिदिन्छ
केटासँग सङ्गत नगर !
बा-आमा पनि एकोहोरो
त्यही बोली बोलिरहनुहुन्छ
जसरी पिजडाको सुँगाले
बोली रटे झैँ !!

सङ्गत नगर बुझिस् ! 
किन नगर्ने सङ्गत ?
सङ्गत किन नगरौँ
उसोभए घरका 
बा, दाजुभाइ आदि सबै 
चैँ के महिला हुन् त ?
त्यसैले किन नगर्ने
सङ्गत ?

केटासँग सङ्गत नगर !
सङ्गतै नगरौँ ,
उसोभए पहिला आमाले
पनि बासँग सङ्गत किन
गर्या छोडिदिए भैगो !
दाजुभाइ यी सबै नाता
सम्बन्धलाई महिला भनेर
प्रमाणित गरे भैगो !

सृष्टि चलाउन नर-नारी 
दुबै चाहिने 
अनि सङ्गत गर्न किन नपाइँने?
प्रश्नको जवाफ दिनुस्।
यस धर्तीमा रहेका
सबै केटा अर्थात पुरूष
भनेर गनिएका चिनिएका
मानिएका सबै नाता भाइबन्धु,
श्रीमान, छोरा जति
सबैलाई नारी बनाएर 
आउनुस तब भन्नुस्
केटासँग सङ्गत नगर  !!

आमा ढल्नुभयो गल्नुभयो
चितामा जलेर खरानी हुनु भयो 
हावामा विलीन हुनुभयो 
तर आजसम्म जवाफ आएन
जवाफको पर्खाइमा 
मेरा केस सेतै भइ पाकिसके
दाँत झरिसके, मुहार चिरा परिसके
डुब्न लागेको घाम भैसके 
तर पनि !
जवाफ आएन ,
केटासँग सङ्गत नगर।।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै