• २०८१ बैशाख ८ शनिबार

उपमहानगरले नीजि विद्यालयलाई दिएको जग्गामा बाटोको नाममा चलखेल

kharibot

बायाँ निजी विद्यालय र दायाँ सरकारी क्याम्पसको बीचबाट खोलिएको नयाँ बाटो । फोटो : श्याम गुप्ता/बारा

बारा । बारा जिल्ला स्थित जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका लागि विज्ञप्ती नैं जारी गरेर जग्गा संरक्षणको अभियान सञ्चालन गरेको जनाएको छ ।

तर , त्यसको ठिक विपरीत उपमहानगरपालिकाको १५ नम्बर वडामा एक नीजि विद्यालयलाई २० फिटको बाटो उपमहानगरपालिका कै जग्गाबाट उपलव्ध गराईएको  छ । 

जीतपुरसिमरा उपमहानगरपालिकाको कुँनै औपचारिक निर्णय बिना नंैवडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने र नगर प्रमुख डा.कृष्ण पौडेलले राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदनलाई उपमहानगरको स्वामित्वमा रहेको जग्गाबाट बाटो उपलव्ध गराएका हुँन् ।  

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ हात्तीसार बजारमा रहेको वडा कार्यालयको पूर्व पट्टीबाट मेनरोड हुँदै राष्ट्रिय विभुती वोर्डिङ स्कुल सम्म पुग्नका लागि २० फिट चौंडाइँको करिब एक सय मिटर लामो बाटो उपलव्ध गराईएको छ । 

त्यसका लागि वडा कार्यालयले कसैसँग अनुमती लिएको छैन । वडा अध्यक्ष रामप्रसाद लामिछानेले आँफूहरुले बाटो खोलिदिएको बताउँदै नीजि विद्यालयलाई नभई डुमरवाना बहुमुखी क्याम्पसका लागि बाटो निर्माण गरिएको बताए । तर , उपमहानगरपालिका कै सार्वजनिक जग्गामा रहेको क्याम्पसको मुख्य प्रवेशद्वार उत्तर तर्फ फर्किएको छ । अहिले खोलिएको बाटो क्याम्पसको पूर्व पट्टि पर्छ । 

उपमहानगरपालिकाले उपलव्ध गराएको बजेटबाट कम्पाउण्ड वाल निर्माण गरिरहेको क्याम्पसको नाममा नीजि विद्यालयलाई दिईएको बाटोको विषयमा विरोध नआओस् भन्नका लागि सो बाटो तर्फ गेट निर्माण गर्न लागिएपछि क्याम्पसमा विवाद सिर्जना भएको छ । 

क्याम्पसको बाटो हेरफेर

साविक डुमरवाना गाउँ विकास समिति हुँदा सर्वदलिय निर्णयबाट ८ कठ्ठा जग्गा डुमरवाना बहुमुखी क्याम्पसलाई उपलव्ध गराईएकोमा अहिले क्याम्पसले उपमहानगरपालिकाको स्विकृतीमा करिब ११ कठ्ठा जग्गामा कम्पाउण्ड लगाउँँदैछ । क्याम्पसको कम्पाउण्डिङका लागि उपमहानगरपालिकालेनै १० लाख रुपैयाँ बजेट उपलव्ध गराएको छ । 

नीजि विद्यालयलाई दिईएको बाटोको विषयमा विरोध नआओस् भन्नका लागि क्याम्पसको मुख्य प्रवेशद्वार परिवर्तन गर्ने तयारी गरिएको छ । डुमरवाना बहुमुखी क्याम्पस उत्तर तर्फ फर्किएको छ र क्याम्पस प्रमुखले उत्तर तर्फनै मुख्य गेट बनाउँनु पर्ने अडान लिएका छन् तर , जनप्रतिनिधिहरुको दबाबमा नयाँ खोलिएको बाटो तर्फ मुख्य गेट निर्माण गर्न लागिएको छ । 

क्याम्पसले कम्पाउण्ड वाल निर्माण गरेपछि उक्त वोर्डिङ स्कुलले नीजि जग्गा खरिद गरेर बाटो खोल्नु पर्ने अवस्था आएपछि वडा कार्यालय र उपमहानगरपालिकासँगको मिलोमतोमा क्याम्पसको प्रवेशद्वार समेत परिवर्तन गर्ने प्रयास गरिएको हो । 

नीजि विद्यालयलाई फाईदा पु¥याउँन उत्तर तर्फ मोहडा फर्किएको क्याम्पसको मुलगेट पुर्व तर्फ बनाउँन लागिए पछि अहिले डुमरवाना बहुमुखी क्याम्पसका प्राध्यापकहरु बिच मतभेद चुलिएको छ । क्याम्पसका प्राध्यापकको समेत निजी विद्यालयमा लगानी रहेको छ । क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीले उत्तर तर्फबाट हाल प्रयोग गरिएको बाटोलाई नैं प्रयोग गर्नुपर्ने र मुलगेट उत्तर तर्फ राख्नु पर्ने अडान लिईरहेका छन् । 

सार्वजनिक जग्गामा विद्यालयको बाटो

साविक डुमरवाना गाउँ विकास समितिले रेखदेख गर्दै आएको उक्त जग्गा अहिले पनि बन मन्त्रालयको स्वामित्वमा रहेको छ । फिल्डबुकमा हातीसारको नाममा रहेको दुई विगाहा १९ कठ्ठा १० धुर जग्गा मध्य साविक गाउँ विकास समितिको निर्णय अनुसार एक कठ्ठा दश धुर साना किसान कृषि सहकारीले प्रयोग गरेको छ , भने एक कठ्ठा जग्गा डुमरवाना दुग्ध उत्पादक सहकारीले प्रयोग गरिरहेको छ । 

सार्वजनिक जग्गाबाट विद्यालयलाई बाटो उपलव्ध गराउन आर्थिक चलखेल समेत भएको स्रोतको दाबी छ । विद्यालय पुग्नका लागि बनाईएको बाटोको पुर्व तर्फ व्यक्तिको नीजि जग्गा रहेको छ । वडा कार्यालयले उक्त जग्गा धनी र विद्यालयको आर्थिक प्रभावमा परेर नियम विपरित बाटो खोलिदिएको स्रोतले बतायो । 

के छ स्थानिय सरकार संचालन ऐनमा ?

स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद १३ को दफा १७ (१) ले सरकारी तथा सामुदायिक सम्पत्ति वा एैलानी र पर्ती जग्गा समेतको रेखदेख, मर्मतसंभार र अन्य प्रवन्ध गर्ने अधिकार स्थानिय तहलाई दिइएको छ ।  

ऐनले सार्वजनिक तथा सामुदायिक सम्पत्ति वा एैलानी जग्गा बेचबिखन वा अन्य अरु कुनै ब्यहोराले हक हस्तान्तरण गर्न र लिजमा दिन पनि नपाउने ब्यवस्था गरेपनि नगरपालीकाले ऐन बिपरित निजि बिद्यालयलाई बाटो प्रयोजनमा दिएको हो ।

यस अघि नगरपालिकाले जितपुरसिमरा २ को सार्वजनिक जग्गामा बन्न लागेको क्लब घरको निर्माणकार्यलाई कानुनी हिसाबले नमिल्ने भन्दै बिज्ञप्ती नंै जारी गरेर रोकिसकेको छ ।

के भन्छन् मेयरले ?

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले अहिले अन्य काममा व्यस्त भएकाले उक्त बाटोको विषयमा वडा अध्यक्षसंग राय बुझेर मात्र केहि बोल्ने प्रतिकृया दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै